धरान । मोरङका उद्योगी व्यवसायीले भारतको कटिहार रेल्वे विभागका विभागीय रेल्वे प्रबन्धकसँग भेट गरी रेल्वे सहजीकरणका लागि सुझावहरू पेश गरेका छन् ।

मोरङ व्यापार सङ्घबाट प्रतिनिधित्व गर्दै उद्योगी व्यवसायीले भारतको सीमा क्षेत्र जोगबनी आएका रेल्वे प्रबन्धक एसके चौधरीलाई भेट गरी रेल्वे सहजीकरण गर्न सुझाव पेश गरेका हुन् ।

नेपालको सीमा क्षेत्रबाट विराटनगरसम्म रेल सेवा सञ्चालन हुने तयारीमा छ । सङ्घका अध्यक्ष नवीन रिजालको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष अनुपम राठी, कार्यकारी सदस्य अमित सारडा र मनिष मारुसहितको टोलीले रेल्वे सम्बन्धमा विभिन्न विषयहरू समेटेर सुझाव मङ्गलबार प्रस्तुत गरेको हो ।

सङ्घका अध्यक्ष रिजालले नेपालको दोस्रो ठूलो प्रवेश विन्दु विराटनगरमा जोगवनी–विराटनगर नाकामा स्वागत गरिएको हो । सङ्घले कटिहार–जोगवनी ब्रोड गेज रेल्वे रूपान्तरण, जोगवनी रेल्वे यार्ड निर्माणसहित कटिहार, बथनाहा, जोगवनी र विराटनगरका आईसीपीलगायतका रेल्वे पूर्वाधारहरू निर्माणका लागि ध्यानाकर्षण गराइयो ।

भारतीय रेल्वेलाई थप सुविधायुक्त बनाउन आग्रह गर्दै जीर्ण अवस्थामा रहेको जोगवनी रेल्वे स्टेसनको सामग्री भण्डारण क्षेत्रको जीर्णोद्धार गरिनुपर्ने, कोलकाता बन्दरगाहदेखि जोगवनी रेल्वे स्टेसन र पछि आईसीपी, जोगवनीसम्मका लागि कन्टेनराइज्ड कार्गोलाई नियमित रूपमा सञ्चालन गरिनुपर्ने लगायतका माग छन् ।