बिर्तामोड । साहित्य चौतारी झापाले नेपाली सांगीतिक क्षेत्रका विशिष्ट तीनप्रतिभालाई सम्मान गरेको छ । नारायण गोपालको ३२ औँ स्मृति दिवसको अवसर पारेर शनिवार चौतारीले गायक तथा संगीतकार कर्म योञ्जन, संगीतकार जीवन अधिकारी तथा विष्णु अधिकारीलाई सम्मान गरेको हो ।
सयौँ कर्णप्रिय गीतका संगीतकार योञ्जन होटल हिकोला हेरिटेजमा आयोजित विशेष समारोहकाबीच कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गीतकार शिवशंकर थापा, साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठ र उर्मिला विमली, झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने लगायतले सम्मान गरेका छन् ।
लामो समयदेखि साहित्य, संगीत र कलाको क्षेत्रमा अनरवत सक्रिय प्रतिभा जीवन अधिकारी र विष्णु अधिकारीलाई दीर्घ साधना सेवा सम्मान प्रदान गरिएको साहित्य चौतारीका संरक्षक श्रेष्ठले बताए ।
‘नेपालको सांगीतिक आकाशमा उहाँहरुले गर्नु भएको योगदान हाम्रा लागि सधैँ उर्जा बनिरहने छ’, कार्यक्रममा संरक्षक श्रेष्ठले भने, ‘हामीले जसरी सम्मान गरेका छौँ, यसले साहित्य चौतारी आफैँमा सम्मानित भएको महसुस भएको छ ।’
मेलोडी किङका रुपमा चिनिएका कर्म योञ्जन धर्मपत्नी सहित साहित्य चौतारीको आतिथ्य स्वीकार गर्दै सम्मान ग्रहणका लागि झापा आएका हुन् । उनले नेपाली भाषा, साहित्य र कलाको विकासमा साहित्य चौतारीले चालेको कदमलाई सकारात्मक अभियानका रुपमा विश्लेषण गरेको बताएका छन् ।
‘विद्यालय तहदेखि नयाँ प्रतिभा जन्माउने, उनीहरुलाई मासिक नियमित कार्यक्रम गरेर आफ्नो प्रतिभा देखाउन ठाउँ दिने काममा साहित्य चौतारीको अग्रसरता पाएँ, खुशी लागेको छ’, योञ्जनले भने ।
कार्यक्रममा उनलाई अभिनन्दन पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको साहित्य चौतारीका अध्यक्ष हस्त परियारले बताए । कार्यक्रममा गायक विष्णु अधिकारीले नारायण गोपालले गाएका १५ भन्दाबढी गीत प्रस्तुत गरेका छन् ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले नारायण गोपाललाई सम्झिने र उनको गायन प्रतिभालाई अनुकरण गरेर लैजाने विष्णु अधिकारी जस्ता प्रतिभाशाली व्यक्तित्वको सधैँ खाँचो रहेको औँल्याए ।
कार्यक्रममा कनकाई नगरका प्रमुख राजेन्द्रकुमार पोखरेल, सम्मानित व्यक्तित्व जीवनअधिकारी लगायतले बोलेका थिए । साहित्य चौतारी झापाकी सचिव खगेन्द्रा खुशीले सञ्चालन गरेको कार्यक्रममा संगीत उपाध्यक्ष दीपक रायमाझीले नारायण गोपालको व्यक्तित्व र सांगीतिक यात्राबारे प्रकाश पारेका थिए ।
नारायण गोपाल साँझअघि आयोजित मासिक सांगीतिक काव्यसभामा संगीत साधककर्म योञ्जन प्रमुख अतिथि थिए । कार्यक्रममा साहित्य चौतारीका कलाविधाका पूर्व उपाध्यक्ष मूर्तिकार हिम्मत नेम्वाङले कार्यक्रम स्थलमा चित्र बनाएर उपहार स्वरुप साहित्य चौतारीलाई हस्तान्तरण गरेका थिए ।
मासिक साङ्गीतिक काव्य सभामा नृत्यतर्फ सुरज बराइली प्रथम भएका छन् । साहित्यतर्फ प्रीति बस्नेत प्रथमभएकी छन् । गायनतर्फ अनुकुल निरौला उत्कृष्ट भएको मासिक काव्यसभाकी संयोजक सुनिता तामाङले बताइन् ।