नेपाल आगामी सन् २०२६ मा अति कम विकसित देशबाट विकासोन्मुख देशमा परिणत हुने सङ्केत देखिएको छ । यो सङ्केत नेपाल तथा नेपालवासीका लागि खुसीको कुरा हो । देश एउटा अवस्थाबाट अर्को अवस्थामा परिवर्तन हुनुलाई सुखद् नै मान्नुपर्छ । तर, विकासोन्मुख देशमा परिणत हुँदा नेपाललाई धेरै कुरामा घाटा हुने विषयलाई मन्त्रीहरुले उजागर गरिरहेका छन् । आइतबार मात्रै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले घाटा हुने कुरालाई औँल्याए । उनको भनाइ नेपालवासीलाई झस्काउने किसिमको छ । उनले मुलुक विकासोन्मुख भए अनुदान, ऋणलगायतमा नेपाललाई घाटा हुने कुरा औँल्याएका छन् । अति कम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नति भए धेरै कुरामा नेपाललाई घाटा हुने भनिनु एकपक्षीय हुनसक्छ । उनको भनाइबाट नेपाल दातृ निकायको ऋण, अनुदान भरमा देश चलेको छ भन्ने प्रष्ट भएको छ । यो पराश्रित मानसिकताभन्दा अर्को केही होइन । के आपूर्तिमन्त्रीको चाहना देशलाई एलडिसीभित्रै राखिरहने हो ? दातृनिकाय तथा सहयोगकै भरमा देशलाई चलाउने हो ? जनतालाई ऋणमाथि ऋण मात्रै बोकाउने उद्देश्य हो ? आजसम्म विश्वका धेरै मुलुकहरु एलडिसीबाट विकासोन्मुख हुँदै विकसित मुलुक बन्दा घाटा भयो त ?
यी तमाम प्रश्नको उत्तर सायद आपूर्तिमन्त्री दामोदर भण्डारीले दिन नसक्लान् । किनकि नेता तथा मन्त्रीलाई दातृ निकायकै भरमा चलाउने रहर जो छ, देशलाई समृद्ध र विकसित बनाउने ध्याउन्नमा देखिँदैनन् । त्यसैकारण पनि देशको वार्षिक ऋण दुई अर्ब थपिँदै गएको छ । यी नेता तथा मन्त्रीको काम गराई र सोचाइका कारण पनि यो देश तन्नम बनिरहेको छ ? उनीहरुको कार्यशैलीले पनि देशलाई झन्–झन् गरिबीतर्फ उन्मुख गराइरहेको छ । यसकारण पनि नेपाल र नेपालीलाई समृद्ध बनाउनका लागि देशको उत्पादन बढाउनु पर्छ । आर्थिक वृद्धिदर, कूल राष्ट्रिय आय, राष्ट्रिय आम्दानी, राष्ट्रिय उत्पादनलाई बढाउनेतर्फ चाहिँ यी नेता तथा मन्त्रीले सोचेको देखिँदैन । आत्मनिर्भर भन्दा पनि परनिर्भर हुने मानसिकताको उपज नै उनको भनाइले प्रष्टिन्छ । एलडिसीले मुलुकलाई झन् घाटा बेहोरेको अवस्था छ । पराश्रित बनाइरहेको छ ? नेपालीहरुलाई थप परनिर्भर बनाइरहेको छ । एकखालको मनोद्दिपक औषधिको काम दातृ निकायहरुले गरिरहेका छन् । यसबाट पार पाउनका लागि अब भने फरक कोणबाट व्याख्या र विश्लेषण गर्न जरूरी हुँदै छ । यी नेता तथा मन्त्रीहरुको मानसिकता कस्तो छ भन्ने भनाइहरुको प्रतिनिधित्व गरेको छ । यसकारण पनि सुविधा कटौती हुन्छ भनेर देशलाई विकासोन्मुख देशमा रुपान्तरण नगर्ने प्रवृत्ति हाबी हुने खतरा बढ्दै गएको छ ।
नेपाललाई समृद्ध बनाउनका अब जनताले फरक कोणबाट काम गर्न थाल्नुपर्छ । राजनीतिले यो देशलाई एक प्रकारले भन्ने हो भने थिलथिलो बनाइरहेको छ । खासमा राजनीतिले देशलाई हाँक्नु पर्ने हो । त्यसो हुन सकिरहेको छैन । नेपालको राजनीति नै बिचौलियाको हातमा पुगिसकेको छ । बिचौलियाले केही गर्न दिने अवस्था छैन । नेता तथा मन्त्रीहरु बुख्याचा जस्ता छन् । ‘डमी’ जस्ता छन् । उनीहरु ‘प्यारालाइसिस’ भएका छन् । यसकारणले पनि नेपाललाई समृद्ध बनाउनका लागि नेताले हैन, अब जनताले गर्ने बेला आएको छ । जनता जाग्ने बेला आएको छ । देशलाई एलडिसीभित्रै राख्नका लागि अनेक प्रपञ्च गरिने गरी अहिले नेता तथा मन्त्रीहरुले ‘एजेण्डा सेटिङ’ गर्ने काम गर्दै छन् । यसमा जनता चाहिँ सचेत हुन आवश्यक छ । देश विकासोन्मुख हुँदा घाटैघाटा छ भनेर भ्रम सिर्जना गरिँदै छ । हरेक जनतालाई त्यो मोहजालमा फसाउने नियत सिर्जना गरिएको छ । यो एजेण्डाभित्र आमजनता पर्नु हुँदैन । जनताले आफै निर्णय गर्ने बेला भएको छ । समालोचनात्मक कोणबाट हेर्ने हो भने के आपूर्तिमन्त्री दामोदर भण्डारीले भनेको कुरा सही हो त ? के उनले गरेको दाबी जस्तै देश घाटैघाटामा जान्छ ? के विश्वका विकासोन्मुख हुँदै विकसित भएका देशहरु घाटैघाटामा गएका छन् त ? यो प्रश्नको कोणबाट व्याख्या र विश्लेषण गरेर अगाडि बढ्नका लागि जनताले सचेत हुन जरूरी छ ।