मिति नाघेको खाद्यपूरक सामग्रीमा नयाँ मिति लगाएर बिक्री गरेको आरोपमा राजस्व विभागले न्युट्रास्युटिकल एसोसिएसन मोरङका अध्यक्ष विपिन झालाई पक्राउ गरेको छ । उनले नयाँ मिति हालेर खाद्यपूरक सामग्री बिक्री गर्नु दण्डनीय थियो नै मिति नाघेको सामग्री बेच्नु स्वास्थ्यका हिसाबले पनि प्रतिकूल थियो । यो घटनामा उनी धेरै पछि पक्राउ परेका छन् । घटनाको सुरूवात गत वर्षको पुस २८ गतेदेखि नै भएको थियो । उनले मोरङको विराटनगगर महानगरपालिका–६ स्थित बीएफएम पूर्व भूमिमार्गमा रहेको तीनतले घरबाट त्यस्तो कारोबार गरेका थिए । त्यहीँबाट प्रहरी र राजस्व विभागले छापा मारेर भारी परिमाणमा खाद्यपूरक सामग्री बरामद गरेको पनि थियो । त्यो बेला उनका चालक मात्रै पक्राउ परेका थिए । उनी भने बिरामी भएको नाटक गरी भारततिर भागेका थिए । घटना सामसुम भएको ठानी नेपाल आएका उनलाई प्रहरीले पक्राउ गरी राजस्व कार्यालय इटहरीमा बुझाएको छ । यो घटना हेर्दा सामान्य लागे पनि उनले गरेको कुकर्म चाहिँ असामान्य छ । भारतबाट सस्तो मूल्यमा खरिद गरी यहाँ महँगो मूल्यमा बिक्री गरिनु नै उनको पहिलो गल्ती हो । दोस्रो गल्ती भनेको आमजनताको स्वास्थ्यमा खेलवाड हो । मिति नाघेका सामग्री बिक्री गरिँदा त्यसको प्रत्यक्ष असर उपभोक्ताहरुलाई पर्छ भन्ने हेक्का नराखी अकूत सम्पत्ति कमाउने अभिलासा आफैमा दुर्भाग्यपूर्ण छ ।
न्युट्रास्युटिकलको अध्यक्ष भई आफूलाई फाइदा हुने गरी काम गरेको देखिन्छ । यसले आम उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरिएको छ । उपभोक्ताको हितमा ध्यान नदिनु भनेको उपभोक्ताको अधिकार कुण्ठित गर्नु हो । नेपालको संविधानमा उपभोक्ताको हक भन्ने व्यवस्था नै छ । यो व्यवस्थाले हरेक उपभोक्ताले आफूले पाउने अधिकारलाई प्रयोग गर्न पाउँछन् भन्ने हो । तर, यहाँ अध्यक्ष झाले आफ्नो फाइदाका लागि आमउपभोक्ताको अधिकारमाथि खेलवाड गर्ने कार्य संविधानविपरीत छ । उनी कारबाहीको भागीदार थिए र छन् नै । उनी यो पेशामा एक दशकभन्दा अगाडिदेखि सक्रिय छन् । यसरी उनले आफ्नो हितका लागि आम नागरिकमाथि कति खेलवाड गरे होलान् । यो सोचनीय विषय हो । यसमा चाहिँ गम्भीर भई छानबिन र सोहीअनुसारको प्रतिवेदन निर्माण गरिनुको विकल्प छैन । उनको एकमात्रै उद्देश्य नै कमाउनेतर्फ केन्द्रित छ । आम नागरिकको स्वास्थ्यप्रति उनलाई कुनै चिन्ता र चासो छैन । यसले पनि उनी कति गैरजिम्मेवार छन् भन्ने प्रष्ट पार्दछ । खासमा खाद्यपूरक सामग्री खानैपर्ने बाध्यतात्मक स्थिति होइन । यसका सट्टामा अनेक खालका फलफूल तथा तरकारीहरु खाएर पनि शरीरमा आवश्यक तत्वहरु पूर्ति हुन सक्छ । आफ्नो फाइदाका लागि डाक्टरहरुले पनि खाद्यपूरक सामग्री खरिद गर्न बाध्य पार्नु अनुचित कार्य हो । यसतर्फ पनि अनुसन्धानको सुई अगाडि बढ्नु पर्छ ।
खाद्यपूरक सामग्रीको खरिदबिक्री विशेषगरी अस्पतालहरुमा हुने गरेको छ । यसका लागि डाक्टरहरुलाई पनि प्रलोभनमा पारेर औषधि व्यवसायी तथा एसोसिएसनहरुले काम गर्ने गरेको तथ्य सार्वजनिक हुँदै आएको छ । यसतर्फ पनि अनुसन्धान अगाडि बढाउने हो भने गरिब तथा रोगीहरुले राहत पाउनेछन् । डाक्टरहरुले औषधि जस्तै खरिद गर्न बाध्यात्मक बनाउने जुन हर्कत हुँदै आएको छ, यसको अन्त्य आवश्यक छ । त्यसका सट्टामा के खाँदा उपयुक्त हुन्छ भन्ने विषयमा सचेत तथा जागरूक बनाउनु पर्छ । डाक्टरहरुले पनि आफ्नो जिम्मेवारीलाई ठीक ढङ्गले पूरा गर्नुपर्छ । यसो हुन सक्यो भने मात्रै यस्ता घनचक्करबाट बच्न सकिन्छ । आफ्ना फाइदाका लागि काम गर्ने व्यापारी तथा व्यवसायीहरुलाई हतोत्साहित गर्ने कार्य पनि डाक्टरहरुको हो । डाक्टरहरुले प्रेस्क्रिप्सन नगर्ने हो भने कुनै पनि बिरामीले यस्ता सामग्रीहरुको खरिद गर्दैनन् । यसले उनीहरु आर्थिक क्षतिबाट बच्न सक्छन् । नचाहिँदो व्ययभारबाट बच्न सक्छन् । यसतर्फ नागरिकहरु पनि सचेत हुनु जरूरी छ । डाक्टरहरुले लेखिदिएको हरेक औषधि तथा खाद्यपूरक आवश्यक नै हुन्छ भन्ने ग्यारेन्टी हुँदैन । यसतर्फ आम नागरिक सचेत हुने हो भने यस्ता सामग्रीको नचाहिँदो प्रयोग घट्ने निश्चित छ ।