जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले सधैँका वर्षभन्दा यसपटक करिब १५ दिन अगावै मनसुन सक्रिय भई आगामी असोज ४ गतेसम्म रहने जनाएको छ । सामान्यतः जुन १० देखि मनसुन सुरू हुने गरेको थियो । यस वर्ष अगाडि नै मनसुन सक्रिय हुँदा त्यसले विगत वर्षभन्दा बढी क्षति गर्न सक्ने अनुमान पनि गरिएको छ । यसका लागि सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नदीहरुको जलस्तर बढ्न सक्ने, बाढीपहिरो आउन सक्ने भएकाले पनि महाशाखाले अलर्ट गर्दै आएको छ । विगतको अभ्यासलाई हेर्दा पनि नदीहरुमा जलस्तर बढ्दा कटान तथा बाढी पसेर क्षति पु¥याएको दृष्टान्तहरु अनेकन् छन् । यसकारण पनि वर्षाको समयमा सचेत रहन आवश्यक छ । शुक्रबार रातिदेखि परेको भारी वर्षाका कारण कोशी प्रदेशका केही क्षेत्रमा क्षति पु¥याएको छ । कतिपय स्थानमा बाटोहरु अवरूद्ध हुन पुगेका छन् भने कतिपय स्थानमा कटान गरिदिएको अवस्था छ । यस्तै कतिपय स्थानमा पहिरो खसेर बाटो अवरूद्ध बनेको छ । वर्षा सुरू नहुँदै सडक सञ्जालहरु तोड्ने गरी भइरहेको क्षतिबाटै पनि सचेत हुनुपर्ने कुरालाई सङ्केत गरेको छ । कोशी लोकमार्गअन्तर्गत साँगुरीगढी गाउँपालिका–६ स्थित लेउती खोलाले बाटो कटान गरी क्षति पु¥याएको छ । यसले पनि अब हुन सक्ने गम्भीर क्षतिको आँकलन गर्न सङ्केत गरेको छ । 

बाढीपहिरोले नेपालमा बर्सेनि करोडौँ तथा अर्बौंको क्षति पु¥याउने गरेको छ । गत वर्ष असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण धेरै स्थानमा क्षति भएको थियो । थोरै समयमा धेरै वर्षा हुँदा त्यसको क्षति अनुमान गरेभन्दा बढी हुने गरेको विगत वर्षको उदाहरण हेरेरै काफी छ । यस्तै प्रकृतिको घटना केही वर्षअघि मेलम्चीमा पनि देखियो । यसकारण पनि वर्षाका कारण हुने बाढीपहिरो र नदीको जलस्तर बढ्दाको क्ष्ति अनुमान गरेभन्दा सयौँ गुणा बढी हुने गरेको छ । अर्बौको क्षति हुने गरी भएका घटनाक्रमबाट पनि हामीले पाठ सिक्न जरूरी हुँदै गएको छ । मनसुनको बेलामा कहाँ, कतिबेला के गर्ने भन्ने विषयमा पनि सचेत हुन आवश्यक छ । नदी अर्थात् खोलाको तटीय क्षेत्रमा बस्नेहरु नागरिकहरु सबैभन्दा बढी अलर्ट हुन आवश्यक छ । तटीय क्षेत्रमा बस्नेहरुले सूचना प्रणालीका विषयमा अद्यावधिक हुन जरूरी छ । हाम्रो जस्तो देशमा तत्काल सरकारको पहुँच नहुने भएकाले पनि नागरिक आफै सचेत हुनुपर्छ भन्ने सन्देश त विगतका घटनाक्रमहरुले पनि पुष्टि गरेका छन् । 

यो वर्ष मनसुन अगाडि नै सक्रिय हुँदा त्यसबाट झन् धेरै क्षति हुने सम्भावना बढ्छ । यसका लागि पनि नागरिकहरु सचेत हुन आवश्यक छ । अर्कोतिर जथाभावी रुपमा गरिने विकासहरुलाई पनि ध्यान दिन आवश्यक हुँदै गएको छ । विशेषगरी पहाडी क्षेत्रहरुमा गरिने डोजर आतङ्कलाई न्यूनीकरण गर्नुपर्ने देखिएको छ । वर्षाका बेलामा यस्ता विकास निर्माण गरिएको क्षेत्रमा पहिरो जाने समस्याको मूल कारण डोजर आतङ्क रहेको देखिन्छ । यस्ता विषयहरुमा स्थानीय तहका जनप्रतिनिधिहरुले ध्यान पु¥याउने हो भने आधा समस्या हल भएर जानेछ । अर्कोतिर सहरमा हुने अव्यवस्थित बसोबासहरुलाई न्यूनीकरण गर्न जरूरी छ । तटीय क्षेत्रहरुबाट मानिसहरुलाई स्थानान्तरण गर्ने व्यवस्था मिलाउन जरूरी छ । नेपालमा किन बढी क्षति भइरहेको छ भन्ने विषयबारे पनि सचेत हुन आवश्यक छ । हरेक नेपाली नागरिकहरुले अहिले भइरहेको क्षतिको आँकलन गरेर अगाडि बढ्ने हो भने समस्याको आधा समाधान हुन्छ । यसका लागि सबैभन्दा ठूलो कुरा सचेतना नै हो । यसप्रति सबै जागरूक भई अगाडि बढ्न आवश्यक छ ।