[caption id="attachment_12107" align="alignnone" width="840"]Market-Monitoring-Palpa फाइल फाेटाे[/caption]

बिर्तामोड / चाडवाड नजिकिएसँगै बजारमा अखाद्य बस्तुहरुको बिक्री भइरहेको पाइएको छ । अनुगमन टोलीले झापाका विभिन्न पसलबाट म्याद नाघेको खाद्य सामग्री भेटेपछि बरामद गरेको छ । जिल्ला बजार अनुगमन टोलीले मङ्गलबार बिर्तामोडका विभिन्न पसलबाट अखाद्य बस्तु फेला पारेको हो । झापाका सहायक जिल्ला प्रमुख अधिकारी डमरुप्रसाद निरौलाको नेतृत्वको टोलीले बिर्तामोडका चारवटा पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा ती पसलहरुबाट म्याद नाघेका खाद्य सामग्री बरामद समेत गरिएको छ । बिर्तामोडको शिखर बजार इन्टरनेशनलबाट तेल, चिप्स् श्रीयम मसला बरामद गरेको छ । यस्तै गोरखा सुपरमार्केटबाट म्याद नाघेका अचार, तेल, फिङ्गर चिप्स बरामद गरिएको अनुगमन टोलीका सदस्य तेजेन्द्र न्यौपानेले बताए । यसैगरी सतासी बहुमुखी सहकारी संस्थाद्वारा सञ्चालित पसल र किनमेल डिपार्टमेन्ट प्रालिबाट म्याद नाघेका खाद्यबस्तु ठूलो परिमाणमा बरामद भएको छ । ती पसल सञ्चालकलाई आइन्दा अखाद्य बस्तु बिक्री नगर्न अनुगमन टोलीले सचेत गराएको छ । चारवटा पसलबाट करीब ३० हजार मूल्य बराबरको अखाद्य सामग्री बरामद गरिएको टोलीले जनाएको छ । ‘बजारमा अखाद्य बस्तुको बिक्री छ्यापछ्याप्ती भइरहेको पाइएको छ’, अनुगमन टोलीका सदस्य तथा खाद्य निरीक्षक प्रेम अर्यालले भने, ‘अब अनुगमनलाई निरन्तरता दिएर त्यस्तो बस्तु बिक्री गर्नेलाई कारवाही गर्छौं ।’ बरामद गरिएका ती सामग्री मङ्गलबारनै बिर्तामोड इलाका प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको छ । बजारमा अखाद्य बस्तुको बिक्री तथा मूल्यवृद्धि भएको जनगुनासो आएपछि सरकारले देशभर अनुगमन गर्न जिल्लास्थित समितिलाई निर्देशन दिएको थियो । प्रशासनले जिल्लामा अनुगमन भइरहेको जानकारी दिएपनि यति ठूलो परिमाणमा बजारबाट अखाद्य बस्तु बरामद गरेको यो पहिलो हो । बजार अनुगमन समितिले अनुगमन कार्यलाई तीब्र पारिने जनाएको छ । टोलीमा उद्योग अधिकृत चन्द्रप्रसाद मिश्र समेत सहभागी छन् ।