[caption id="attachment_16078" align="alignnone" width="812"]unnamed केही दिन अघि सेक्टर वन कार्यालय धरानले सर्दु खोलाबाट मिसगिटी भरेर लाँदै गरेको अवस्थामा पक्राउ गरेको को १ त ५३७५ र को १ त ८१८७ नम्बरको दुई ट्रयाक्टर /[/caption]

धरान /राष्ट्रपति चुरे क्षेत्रमा पर्ने सेउती खोला र अधेरी खोलाबाट रातको समयमा ढुङ्गागिटी तस्करी हुने गरेको छ । स्थानीय प्रहरी प्रशासनकै संलग्नतामा तस्करी हुने गरेकाले समेत सम्बन्धित निकाय मौन रहेको स्थानीयको आरोप छ । रातको समयमा तस्करी हुने गरेको धरान–२२ स्थित अस्थायी प्रहरी चौकी देउरालीका प्रमुख असई छत्र श्रेष्ठले नै पुष्टी गरेका छन् । उनले भने, ‘राति चाही छिटफुट ट्रयाक्टर कराएको सुनिन्छ । राति चोरी हुन्छ । तर, हामी चारजना प्रहरीले कतितिर गर्ने ?’ प्रहरीको मिलेमतोमा तस्करी हुने बारे उनले सिधै नकार्दै भने, ‘हामीले भेटेजतिलाई छाडेका छैनौं । यो महिना मात्रै हामीले १८ वटा जति ट्रयाक्टर पक्राउ गरी माथिल्लो निकायमा बुझाइसकेका छौं । कसरी प्रहरीले मिलेमतो गर्न सक्छ । ट्रयाक्टरवालाहरुले नै झोसपोल गरेका होलान्?’ स्थानीयवासीलेसमेत मध्य रातमा ढुंगागिटी चोरी हुने गरेको बताएका छन्  । देउरालीका युवाहरुले तस्करी गर्ने गरेका कारणसमेत स्थानीयहरु चूँ समेत बोल्दैनन् । नाम नछाप्ने शर्तमा एक स्थानीयले भने, ‘राति आउँछन् । तल तिर लिएर जान्छन्, खै कता लान्छन् त्यो थाहा हुँदैन ।’ राष्ट्रपति चुरे संरक्षित क्षेत्रमा पर्ने कारण पनि अहिलेसम्म अधेरी खोलामा ठेक्का लाग्ने गरेको छैन् । तर, पनि युवाहरुको रातको समयमा चोरी तस्करी गर्ने गरेका छन् । प्रहरीकै मिलेमतोमा भएकै कारणसमेत पक्राउ नपरेको स्थानीयबासी बताउँछन् । दैनिक चोरी तस्करी हुने गरेका कारण पनि उक्त क्षेत्रको सयौं बिगाहा जग्गा कटान र डुवानमा पर्ने गरेको छ । खोला कटानको वर्षेनी पीडामा जग्गाधनी राजेन्द्र दर्नाल, गजेन्द्र लम्जेल, गजेन्द्र दर्नाल, कमला तामाङ, राजकुमार राई, बिक्रम खड्का लगायत पर्ने गरेका छन् । ढेड विगाहा प्लट रहेको उनीहरुको झण्डै १० कठ्ठा जग्गा कटान गरिसकेको बताएका छन् । उनीहरुको केही जग्गामा बाढीसमेत पसेको छ । देउरालीका युवाहरुको संलग्नता भएकै कारणसमेत धेरैजसो स्थानीयहरु पीडा खेपेर बस्ने गरेका छन् । केही वर्ष अघि ढुंगागिटी तस्करीकै कारण ठिंगाबारीका एक युवालाई आक्रमण गरेका थिए । आक्रमणमा परेरे उनको मृत्युसमेत भएको थियो । त्यही कारण देउरालीका युवा विरुद्ध स्थानीयवासी उत्रिदैनन् । जसका कारण पनि प्रहरीको आडमा चोरी हुने गरेको स्थानीयवासीको दाबी छ । चुरे क्षेत्रमा पर्ने उक्त वन क्षेत्र पर्ने भएकाले सेक्टर वन कार्यालयले चासो दिनु पर्ने हो तर, उसलेसमेत ध्यान नदिँदा खुलेआम तस्करी हुने गरेको हो । तर, कार्यालयका सहायक वन अधिकृत ज्ञानकुमार लामाले भने दैनिक गस्तीमा गइरहेको दाबी गरेको छ । ‘हामी दैनिक निरीक्षणमा गइ नै रहेका छौं ।’ अधिकृत लामाले भने ‘कतिपय अवस्थामा बस्ती जोगाउनको लागि भन्दै लिएर जाने गरेको पाइयो । त्यो हकमासमेत हामीले लान मिल्दैन भनेर भनिरहेका छौं ।’ एक साता अघि उक्त क्षेत्रमा को २ त १२८४ नम्बरको ट्रयाक्टर ढुंगागिटी भरिएको अवस्थामा फेला पारेको उनले बताए । तर, मान्छे कोही नभएपछि हामीले ट्रयाक्टर नम्बर टिपेर ल्याएको र उक्त ट्रयाक्टर धनी पत्ता लगाउने कार्य भइरहेको बताए । उनले पनि प्रहरीको मिलेमतोमा प्रतिट्रिप ५ सय रुपैयासम्म लिने गरेको अनौपचारिक रुपमा सुन्नमा आएको बताए । तर, यता असई श्रेष्ठले भने मिलेमतो र रकम लिने कुरा सबै वाहियात भएको बताए । उनले उल्टो वनका कर्मचारीहरु नै दैनिक त्यता तिर जाने गरेको आफूले पाएको र उक्त जानकारी माथिल्लो निकायलाई सूचना दिइसकेको बताए । उनले ट्रयाक्टरवालाहरुले नै ट्रयाक्टरवालासँग ५ सय रुपैया लिने गरेको भन्दै आफू सामू गुनासो आउने गरेको बताए । उनका अनुसार आइतबार नै मिसगिटी उठाउँदै गरेको अवस्थामा सेउती खोलाबाट को २ त ४४७ नम्बरको ट्रयाक्टर पक्राउ गरी इप्रका धरानमा जिम्मा लगाइएको छ । देउराली क्षेत्रमा मात्रै झण्डै ८ जना भन्दा बढीको ट्रयाक्टर छ । प्रहरीका अनुसार देउराली क्षेत्रमा मात्रै ४६ वटा जति ट्रयाक्टर रहेका छन् ।