driving-schoolबेलबारी  /  ड्राइभिङ सेन्टरहरुले मोटो रकम लिएर लाइसेन्स किनबेच गर्ने गरेको खुलासा भएको छ । असोज १५ गते मोरङको सुन्दरी दुलारीमा यातायात व्यवस्था कार्यालयबाट ‘ट्रायल’ दिने क्रममा खोटाङ घर भई इटहरी(५ खाद्यगोदाम बस्ने ध्रुब बस्नेत पक्राउ भएपछि रकमको चलखेल बारे खुलेको हो । बस्नेत पक्राउ भए लगत्तै उनले सम्पूर्ण कार्य अण्डरग्राउण्ड ड्राइभिङ सेन्टरका सञ्चालक बाबुराम प्रधानले गर्न लगाएको बयान दिए पछि उनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधान इटहरी–१ का स्थायी बासिन्दा हुन् । प्रधानले रामप्रसाद निरौला नाम गरेका व्यक्तिको प्रवेश पत्रमा बस्नेतको फोटो टासेर ट्रायल दिन लगाएका थिए । लिखित परीक्षा भने निरौला स्वयमले दिएका थिए । ट्रायल दिने क्रममै बस्नेत रंगेहात पक्राउ परेका थिए । प्राप्त जानकारी अनुशार मोटर साईकलको चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा सहभागी भई उत्तीर्ण भएर प्रवेश पत्र लिने बेलामा बस्नेत पक्राउ परेका हुन् । बस्नेतले निरौलाको फोटो माथि आफ्नो फोटो टाँसेर परीक्षा दिएको पत्ता लागेपछि उनी पक्राउ परेका हुन् । रामप्रसाद निरौलाको प्रवेश पत्रमा टाँसिएको ध्रुव बस्नेतको फोटोमा अधिकृतको हस्ताक्षर नभएपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेका थिए । प्रयोगात्मक परीक्षामा खटिएका प्रहरीले बस्नेतलाई त्यहाँबाट पक्राउ परेका हुन् । पक्राउपछि यातायात व्यवस्था कार्यालय इटहरीको लाइसेन्स वितरण विभागले इलाका प्रहरी कार्यालय इटहरीलाई कारबाहीको लागि जानकारी गराएको थियो । इटहरीले पक्राउ गरी मोरङको घटना भएकाले इलाका प्रहरी कार्यालय बेलबारीलाई कारबाहीको लागि पठाएको थियो । प्रधानलाई असोज १६ गते पक्राउ गरी इप्रका बेलबारीले नियन्त्रणमा लिएको इप्रका बेलबारीका प्रमुख इनिस्पेक्टर मेघराज थापाले बताए । उनले अदालत बन्द भएकाले सरकारी वकिलसँगको परामर्श लिएर हिरासतमा राखिएको बताए । तर, एक स्थानीयका अनुसार पक्राउ गरिएका प्रधानलाई हिरासतमासमेत राखिएको छैन् । प्रधानलाई सरकारी कागजात किर्तेमा मुद्दा दर्ता हुने इनिस्पेक्टर थापाले बताए । प्रधान यस अघि पनि चोरी गरेको गाडीको इन्जिन अर्को गाडीमा प्रयोग गरेको अभियोगमा इटहरी प्रहरीले पक्राउ गरेको थियो । यसअघि पनि उनले मोटो रकम लिएर लाइसेन्स किनबेचसमेत गर्ने गरेको हल्ला आउने गरेको थियो । तर, पुष्टी हुन सकेको थिएन् । यसपटक भने उनका मतियार बस्नेत पक्राउ भएपछि घटनाको पुष्टी भएको छ ।