विजयपुर/घटना १– गत बिहीबार छुरा प्रहारबाट धरान–१३ का रोजन ताम्राकारको हत्या भयो । घटनामा संलग्नहरुसँग धरानको इलाका प्रहरी कार्यालयमा बयान लिने क्रममा थाहा भयो, मृतक ताम्राकारले ‘भाइ’ सम्बोधन गरेकै कारण उनलाई छुरा हानिएको रहेछ । धरानका डीएसपी ढकेन्द्र खतिवडाले भने, ‘मृतक ताम्राकारले ओइ भाइ भनेपछि विवाद बढेर छुरा हानेको पाइयो ।’
घटना २– दुई महिनाअघि धरान–२७ स्थित विष्णुपादुकामा एउटा झगडा भएको भयो । स्थानीय सागर राईले स्कुलको मैदानमा फुटबल खेलिरहेका युवालाई ‘भाइ, म पनि गेम खेल्छु है’ भन्नासाथ ‘हामीलाई भाइ देखिस् ?’ भन्दै कुटपिट गरे । यो विषय इलाका प्रहरी कार्यालयसम्म आइपुगेको थियो ।
घटना ३– यही कात्तिक १३ गते साँझ धरान–१४ स्थित बुढासुब्बा मन्दिर छेउमा स्थानीय एक युवकले चलाएको स्कुटी पत्रकार सञ्जीव वाग्लेको मोटरसाइकलमा ठोक्कियो । दुर्घटना सामान्य भए पनि दुवै पक्ष स्थानीय प्रहरी बिटमा छलफल गर्न बसे । स्कुटी चालक युवकलाई पत्रकार वाग्लेले ‘भाइ’ भन्ने सम्बोधन गर्नासाथ तिनले ‘मलाई भाइ देखिस् ?’ भन्दै झम्टिहाले । ती युवकलाई उनका साथीहरुले सम्हालेका थिए ।
नेपाली शब्दकोशअनुसार ‘भाइ’ को अर्थ ‘एउटै पुस्तामा आफुभन्दा कान्छो पुरुष व्यक्ति’ भनी उल्लेख गरिएको छ । तर पछिल्लो समय धरानमा यो सम्बोधनका कारण झगडा मात्र भएको छैन, एकजनाको ज्यान नै गएको छ ।
सामान्यतया नेपाली समाजमा आफुभन्दा जेठो जस्तो लागे ‘दाइ’ र कान्छो लागे ‘भाइ’ सम्बोधन गर्ने चलन छ । दाजु र भाइलाई सम्मानित र भावनात्मक नाताका रुपमा नेपाली समाजमा लिइन्छ तर यसै शब्दका कारण किन युवा आक्रोशित हुन्छन् त ? धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राडा निदेश सापकोटा यो कुनै मनोविज्ञानको समस्या नभई बुझाइको कमजोरी भएको बताउँछन् ।
‘आफु सानो हुँ भन्न नरुचाउने युवालाई भाई शब्दले हेपिएको महसुस हुन्छ । त्यस कारण यस्ता घटनाहरु हुन्छन्’, प्राडा सापकोटा थप्छन्, ‘हाम्रो समाजको अनुशासन र संस्कार अहिलेका युवाले नबुभ्mनु अर्को समस्या हो ।’ यस्ता सामान्य विषयमा हात नै हालाहाल हुने र ज्यान नै जाने अवस्था आउनु निकै गम्भीर विषय भएको उनको बुझाइ छ । धरानका डीएसपी खतिवडा यस्तो समस्या समाजका लागि घातक हुने बताउँछन् ।
यस्ता घटनाहरुले सबैको अस्तित्व स्वीकार गर्नुपर्छ भन्ने मान्यता समाजबाट हराउँदै गएको देखाउने उनी बताउँछन् । ‘सचेत वर्गले बेलैमा यसतर्पm ध्यान नदिने हो भने समाजलाई ठूलो क्षति हुन सक्छ ।’ डीएसपी खतिवडाले भने । व्यक्तिमा हुने अहम्का कारण यस्ता समस्याहरु सिर्जना हुने गरेको खतिवडा बताउँछन् ।