nagarविजयपुर/गैरनेपालीलाई नागरिकता दिइएको विषयमा चर्को विवाद भइरहेकै बेला सरकारले घुम्ती शिविरमार्फत नागरिकता वितरण गर्ने तयारी गरेको छ । नेपाली काङ्ग्रेसका नेता तथा गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा घुम्ती शिविरमार्फत नागरिकता वितरणको तयारी भएको हो । सुनसरी जिल्ला प्रशासन कार्यालयका एक अधिकृतले घुम्ती शिविरमार्फत नागरिकता वितरण गर्न दुई–तीन दिनभित्रै निर्देशन आउने सूचना गृह मन्त्रालयमा रहेका आफ्ना समकक्षीले दिएको जनाए ।

नेताहरुले सामाजिक सञ्जालहरुमा यसको चर्को विरोध गरेका छन् । सांसद् तथा काङ्ग्रेसका प्रभावशाली नेता धनराज गुरुङले घुम्ती टोली खटाएर विदेशीलाई नागरिकता दिई मुलुकलाई क्रिमियाकरण गर्ने बाटोमा नलैजान सरकारलाई चेतावनी दिएका छन् । उनले घुम्ती शिविरमार्फत नागरिकता वितरण गरेर सरकारले राष्ट्रिय सुरक्षालाई गम्भीर खतरामा पार्न खोजेको आरोप लगाए । आफ्ना पार्टीका गृहमन्त्रीको निर्देशन भए पनि राष्ट्रियताको सवालमा कसैसँग सम्झौता नहुने उनले ब्लाष्टलाई बताए । उनले यसविरुद्ध सदन र सामाजिक सञ्जालमार्फत अभियान चलाउने बताए ।नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पनि नागरिकता कागजको खोस्टा मात्र नभएर माटो, भावना, मनोविज्ञान, राष्ट्रियता, स्वाभिमान र इतिहाससँग जोडिएको चिज भएको बताए ।

नागरिकतालाई धेरै मोलतोल नगर्न उनले सरकारलाई आग्रह गरे । ‘स्वाभिमान बेच्न पाइन्न, यो विषयमा कसैसँग सम्झौता हुनै सक्दैन ।’ भट्टराईले भने । नयाँ शक्ति नेपालका अभियन्ता तथा केन्द्रीय परिषद् सदस्य देव लिम्बू लाबुङले पनि सरकारको यो कदमलाई कुनै पनि नेपालीले समर्थन गर्न नसक्ने बताए । ‘यो विषयमा राजनैतिक दल मात्र हैन, कुनै पनि नेपाली सहमत हुन सक्दैन । यो कदम रोकिनुपर्छ ।’ उनले ब्लाष्टसँग भने । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सचिवालय सदस्य हिमाल राईले घुम्ती शिविर सरकारको नयाँ कार्यक्रम नभएर नियमित कार्यक्रम भएको बताए । ‘मधेश आन्दोलनलाई मत्थर पार्न सरकारले ल्याएको योजना भनेर यसको विरोध गरिएको छ तर यो सरकारको नियमित कार्य हो ।’

उनले भने । सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य ध्यानबहादुर राईले पनि घुम्ती शिविरमार्फत नागरिकता वितरण गर्नुपर्ने आवश्यकता नरहेको प्रतिक्रिया दिए । ‘हरेक नेपालीले प्रक्रिया पु¥याएर नागरिकता लिइरहेकै छन्, शिविरको आवश्यकता अहिले छैन ।’ उनले भने । अहिले सरकारले ७५ वटै जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमार्फत हरेक दिन योग्य नागरिकलाई सहजै नागरिकता वितरण गरिरहेकोले शिविरमार्फत नागरिकता वितरण गरिनु ‘राष्ट्रियताविपरीत’ हुने भएको भन्दै फेसबुक र ट्वीटरमा समेत आलोचना भइरहेको छ । गृहस्रोतका अनुसार प्रमुख दलहरुबीच आगामी चैतमा स्थानीय निकाय निर्वाचन गर्ने सहमति जुटेलगत्तै गृहले घुम्ती शिविरमार्फत नागरिकता वितरणको काम अघि बढाएको हो ।

निर्वाचन आयोग स्रोतका अनुसार प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र गृहमन्त्री निधिबीच घुम्ती शिविर पठाएर नागरिकता वितरण गरेपछि मात्रै सम्बन्धित जिल्लामा मतदाता नामावली सङ्कलन गर्ने सल्लाह भएको छ ।