उर्लाबारी/ उर्लाबारी नगरपालिकाले सोमबार प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय निकाय सार्वजनिक सुनुवाई कार्यविधि २०६७ अनुसार नगरपालिकाले चार महिनामा गरेको प्रगति एवं सामाजिक सेवाको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
नगरपालिकाका कार्यकारी अधिकृत सुरेन्द्र थापा मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरबासी तथा सरोकारवालाले नगरको विकास, सरसफाइ तथा फोहोर र डम्पिङ साइटको व्यवस्थापन, सडकबत्ती जडान, सफारीको भाडा व्यवस्थापन, बरगाछीमा व्यवस्थित बस स्टेण्ड लगायतका कार्यहरुमा नगरले उत्साहजनक कार्य नगरेको भन्दै गुनासो व्यक्त गरेका थिए ।
स्थानीय बौद्ध गुम्बामा सञ्चालित सुनुवाई कार्यक्रममा नगरबासीको गुनासोलाई सम्बोधन गर्ने क्रममा कार्यकारी अधिकृत थापा मगरले नगरको चौतर्फी विकासका लागि आगामी दिनमा अझ बढी सक्रिय एवं प्रभावकारी रुपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाए ।कार्यक्रममा राजनीतिक दलका स्थानीय प्रतिनिधि, सङ्घसंस्था, वडा नागरिक मञ्चका प्रतिनिधिहरुको सहभागिता थियो ।