धरान/प्रधानाध्यापक बनेको खुसीमा एक शिक्षकले मादक पदार्थ सेवन गरी बजारमा बलाल गर्दै पाँचजनामाथि आक्रमण गरेका छन् । आक्रमणमा परी दुईजना गम्भिर घाइते बनेका छन् भने तीनजना सामान्य घाइते बनेका थिए ।

संखुवासभा जिल्लाको तामाफोक–७ कुन्ताङस्थित श्री विष्णु निमाविका प्रअ भक्तबहादुर भट्टराईले मुढे शनिश्चरे बजारमा मदिरासेवन गरी बबाल गरेपछि छुट्याउने क्रममा घाइते बनेका हुन् । घटना मंसिर १ गते साँझ ७ बजेपछिको हो । उनले सब्जी काट्न प्रयोग गरिने चक्कुले आनन्द सुवेदीमाथि आक्रमण गरेका थिए । उनको आक्रमणबाट सुवेदीको हात काटेको छ । उनको मुढेशनिश्चरेमै उपचार भइरहेको छ । गोपाल खड्कामाथि मुक्का प्रहार गरेका थिए भने चन्द्रकला पाण्डेको पेटमा लात्तिले हानेका थिए । त्यस्तै, भोजराज कोइराला र टेकेन्द्र अधिकारी सामान्य घाइते बनेका छन् ।
घाइते बनेका खड्का र पाण्डेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि शुक्रबार डिस्चार्ज गरिएको छ । घाइते खड्काका अनुसार भट्टराई मंसिर १ गते नै प्रअमा नियुक्त बनेका थिए । प्रअ बनेकै खुसीयालीमा मापासे सेवन गरी होहल्ला गर्दै आक्रमण गरेका थिए । उनलाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीमाथि पनि उनले गालीगलौज गरेको प्रहरी चौकी मुढे शनिश्चरेका निमित्त कार्यालय प्रमुख प्रहरी हवल्दार दीपेन्द्रकुमार यादवले बताए ।
‘प्रअलाई दुईतीनपटक सम्झाउने प्रयत्न गरिएको थियो । तर, उनले उल्टै चक्कु ल्याएर आक्रमण गरेँ ।’ प्रह यादवले फोनसम्पर्कमा भने । भट्टराईलाई गाउलेहरु र सँगै मापासे पिउनेहरुलेसमेत सम्झाउने प्रयत्न गरेका थिए । तर, आक्रमणमा उत्रिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएपछि उनी मानसिक रोगी हो कि भन्ने आशंका गरिएको प्रह यादवले बताए ।
उनलाई पनि स्थानीयको रहोबरमा मंसिर २ गते उपचारको लागि छाडिएको छ भने उनलाई प्रतिष्ठानमै उपचारको लागि ल्याइएको छ । उनलाई सातदिन भित्र प्रहरी कार्यालयमा हाजिर गराउँदै सहमतिपछि छाडेको प्रहरीले बताएको छ ।