east-mapधरान / केही सार्वजनिक अपराधलाई छाडेर अध्ययन गर्ने हो भने पूर्वमा लागूऔषध नै प्रहरीको लागि ‘मूख्य चूनौति’ को रुपमा रहेको पाइएको छ । खुल्ला सीमानाको फाइदा उठाउँदै लागूऔषध कारोबार र ओसारपसारका मुद्दा नै बढी हुने गरेको पाइएको हो । अपराधीहरुले सीमाना जोडिएका जिल्लाहरुबाटै लागूऔषध कारोबार गर्ने आर्थिक वर्ष २०७२/०७३ को तथ्याङ्कमा देखिन्छ । लागूऔषधको हकमा खुल्ला सीमाना नै प्रहरीको प्रमुख चूनौति हो भन्नलाई तथ्याङ्क नै काफी छ । त्यसो त बेलाबेला प्रहरीका उच्चपदस्थ अधिकृतहरुले लागूऔषधसँगै अन्य अपराधहरुलाई नियन्त्रण गर्न नसक्नुको पछाडीको मूख्य जड खुल्ला सीमाना रहेको बताउँदै आइरहेका छन् । र, यो समस्या प्रहरीको लागि जटिल रहेको प्रहरी अधिकृतहरु नै स्वीकार्दै आइरहेका छन् । आव ०७२÷०७३ मा पाँचसय ६ वटा लागूऔषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ परेको देखिन्छ । यो तथ्याङ्क केही सार्वजनिक अपराधपछिको हो । केही सार्वजनिक अपराधमा एकहजार ७ सय ७८ वटा मुद्दा दर्ता भएका छन् । प्रहरीको लागि केही सार्वजनिक अपराध जति चुनौति छ त्यो भन्दा बढी चूनौति लागूऔषध ओसारपसार र नियन्त्रणमा छ । ‘लागूऔषधको समस्या नै खुल्ला सीमाना हो ।’ सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेल भन्छन् । खुल्ला सीमाना रहेका झापा, मोरङ, सुनसरी, सप्तरी, र सिराहाका विभिन्न नाकाहरुबाट लागूऔषध भित्रिने गरेको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले निकालेको तथ्याङ्कमा देख्न सकिन्छ । तथ्याङ्क भन्छ, ‘आव ०७२/७३ मा झापाबाट एकसय १४, मोरङबाट एकसय २५, सुनसरीबाट एकसय ७६, सप्तरीबाट १७, सिराहाबाट ५२ वटा मुद्दा दर्ता भएका छन् ।’ जवकी अन्य जिल्लाबाट नगन्य मात्रामा कारोबारी तथा प्रयोगकर्ता पक्राउ गरेको देखिन्छ । आँकडा अनुसार इलामबाट ४, धनकुटामा एक, भोजपुरमा २, उदयपुर २४ छन् । अन्य जिल्लाको अवस्था सून्य छ । त्यसो त, नेपाल प्रहरीले लागूऔषध नियन्त्रणको लागि छुट्टै रणनीति बनाउने गरेको छ । क्षेत्रीय प्रहरी कार्यालय विराटनगरलेसमेत स्थानीय स्तरमा थप रणनीतिक योजनाहरु बनाउने गरेका छन् । क्षेत्रीयले अनुसन्धान समूह नै छ । जसले लागूऔषधदेखि विभिन्न अपराधहरुमा सक्रिय हुने गरेको छ । लागूऔषधको हकमा कारोबारी घट्नुको सट्टा बढिरहेको तथ्याङ्कले नै पुष्टी गरेको छ । ‘सुनसरीमा मात्रै ६४ किलोमिटर सीमाना खुल्ला छ । वर्खाको बेला केही असहज भए पनि हिउँदका बेला जुनसुकै क्षेत्रबाट कारोबारी प्रवेश गर्न सक्छन् ।’ एसपी पोखरेल भन्छन् । चालु आर्थिक वर्षको तीन महिनामा एकसय ४० वटा लागूऔषध कारोबारी पक्राउ गरिसकेको तथ्याङ्क छ । नेपाल प्रहरीको लागि खुल्ला सीमाना नै अपराधको लागि जटिल बन्ने गरेको छ । एसपी पोखरेल थप्छन्, ‘यता गरेको कतिपय अपराधहरुको सेल्टर भारत हुने गरेको छ । कतिपयका नेपाल र भारतका नागरिकता छन् । त्यसले पनि बस्नलाई सहज गरेको छ ।’ छोटो समयमा राम्रो फाइदा कमाउने भएकाले पनि कारोबारीहरु अपराधको सञ्जाल फैलाइरहेका छन् । अन्य जिल्लाको तुलनामा सुनसरीमा लागूऔषध कारोबारीसमेत बढी छन् । सुनसरी पहाडी जिल्लाको हवको रुपमासमेत रहने गरेको प्रहरी अधिकृतहरु नै बताउँछन् । नाकामा चेकजाँच कडाई गर्दा कहिलेकाही नाकामै भित्रिने क्रममा पक्राउ हुने गरेको छन् । सबैभन्दा धेरै कारोबारी र प्रयोगकर्ताहरुसमेत सुनसरीमै रहने गरेको तथ्याङ्क लागूऔषधको क्षेत्रमा कार्यरत संस्थाहरुले निकाल्ने गरेका छन् । यसले पनि लागूऔषध प्रहरीको लागि जटिल अपराधको कोटीमा पर्ने गरेको छ । भयावह बन्दै आत्महत्या अपराधकै सूचीमा पर्ने आत्महत्या प्रहरीको तथ्याङ्कमा हरेकवर्ष बढ्दो देखिन्छ । आत्महत्या भयावह बन्दै गएको तथ्याङ्कले पुष्टी गरेको छ । आव ०७२÷०७३ मा एकहजार एकसय १ जनाले हामफालेर, वीष सेवन गरेर, औजार प्रयोग गरेर, झुण्डिएर र आगो लगाएर आत्महत्या गरेको देखिन्छ । आत्महत्याको दर बढ्नुको पछाडीका विभिन्न कारणहरु रहेको मनोचिकित्सकहरु बताउँछन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मानसिक रोग विभागका डा. मधुर बस्नेतले आत्महत्यको एउटै कारण नभए पनि अनुसन्धानहरुले ९० देखि ९५ प्रतिशत आत्महत्या मानसिक रोगका कारणले हुने गरेको देखाएको बताए । चालु आर्थिक वर्षको तीन महिना मै २ सय ८१ जनाले आत्महत्या गरेको देखिन्छ । पूर्वमा सबैभन्दा बढी आत्महत्या गर्ने दर झापामा देखिन्छ । झापामा २३९ जनाले आत्महत्या गरेको देखिन्छ भने मोरङमा १८३ जनाले आत्महत्या गरेको देखिन्छ । सुनसरीमा १३३ जनाले आत्महत्या गरेको देखिन्छ । यसअघिसम्म इलाममा आत्महत्या दर सबैभन्दा बढी थियो । तर, अहिले त्यो दर घटेर चौथो जिल्लामा परको छ । आव ०७२/०७३ मा एकसय एकजनाले मात्रै आत्महत्या गरेको देखिन्छ । त्यसो त आत्महत्याको अन्य कारणहरुसमेत रहेको डा. बस्नेत बताउँछन् । उनका अनुसार समाजमा आउने विग्रह, गृहयुद्ध, सामाजिक सुरक्षामा खलबल, समाजमा आतंक भएको समय, त्रासदी पूर्ण वातावरण भइराख्ने, परिवारको विग्रहलगायतका कारणहरु छन् । यसपटक भूकम्पप्रभावितहरु क्षेत्र आत्महत्याको दर बढेको देखाएको थियो ।