बिजुली बल्दा गाउँले दंग
- मंसिर ५, २०७३
- ब्लाष्ट खबर
रामपुर (पाल्पा)/टुकीको ठाउँमा यतिबेला सबैका घर घरमा बिजुली बत्ती बलेपछि दुर्गम झडेवा केरौलीकी ८७ वर्षीया मनकुमारी बाह्रघरे दङ्ग छन् ।
बिजुलीको लाइनमा राइसकुकरमा बुहारीले खाना पकाएको देख्दा त उहाँलाई सपना जस्तै लागेको बताउनुहुन्छ । बिजुली बत्ती बल्ने कल्पना पनि नगर्नुभएका ७६ वर्षीय रामबहादुर चौहानले बिजुलीको झिलीमिली उज्यालो देख्दा आफू बसेको गाउँ सहरमा बदलिएको जस्तो लागेको अनुभव सुनाए।
विद्युत् विस्तारका लागि पाँच वर्ष अगाडि काम थालनी गरे पनि झडेवाका स्थानीयवासीले लामो समयको प्रयासपछि बिजुली बाल्न सफल भएका छन् । जिविसको रु १५ लाख, स्थानीयवासीको श्रमदान र पहलमा बिजुली बत्ती बालिएको हो ।
चारवर्ष अगाडि नै गाउँमा पोल गाडेर तार टाँगेका स्थानीयवासीलाई विद्युत् प्राधिकरणले ट्रान्सफर्मर लाइन चार्ज नगरिदिँदा लामो समय लागेको स्थानीयवासी यमबहादुर रुचालको भनाइ छ ।
जिविसले विद्युतीकरणका लागि ठेक्कामार्फत उपलब्ध गराएको सामग्रीको गुणस्तरको नापजाँच नगरीकन प्राधिकरणले लाइन नदिने भनेपछि विद्युत् प्राधिकरण र जिविसबीच द्वन्द्व चर्किएकाले बिजुली बल्न ढिलाइ भएको हो ।
झडेवा गाविसमात्र नभई ठिमुरे, कोलडाँडा, दोभानका जनता विद्युतीकरण गरेको तीनवर्षसम्म बिजुली बाल्नबाट वञ्चित भएको चौहानले बताए । बिजुली बत्ती बलेपछि घर घरमा रेडियो बजाउन, टेलिभिजन हेर्न, मोबाइल चार्ज गर्न, खाना पकाउन सजिलो भएकामा यहाँका स्थानीयवासी दङ्ग छन् ।
स्थानीयवासीको श्रमदानमा खानेपानी योजना निर्माण
जिल्लाको दुर्गम भेगमा पर्ने गल्धा गाविसको ढुङ्गानाबेसीमा स्थानीयवासीको श्रमदानमा खानेपानी योजना निर्माण भएको छ । यहाँ स्थानीयवासीको लामो समयको प्रयासपछि खानेपानी योजना निर्माण भएको हो ।
उपभोक्ता घरधुरीबाट उठाइएको रु पाँच लाख २२ हजार ५००, जापानिज संस्था साइतामा युनेस्कोको रु चार लाख ५० हजार र उपभोक्ताको श्रमदान गरी जम्मा रु १३ लाख ८६ हजार ५१०को लागतमा सो योजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष बेदप्रसाद खण्डलुकले बताए । यस योजनाबाट यहाँका १९० घरधुरी लाभान्वित भएका छन् । रासस