बाबियाचौर (म्याग्दी)/परिचयपत्रमा स्पष्ट उल्लेख नहुँदा सरकारले घोषणा गरेको स्वास्थ्य उपचार र यातायातमा छुट सुविधा उपभोग गर्न ज्येष्ठ नागरिकलाई समस्या भएको छ । महिला तथा बालबालिका कार्यालयले परिचयपत्र वितरण गर्न थालेपछि उत्साहित भएका म्याग्दीका ज्येष्ठ नागरिकहरु सुविधा पाउन नसक्दा निराश भएका छन् । सरकारले परिचयपत्रका आधारमा यातायात र स्वास्थ्य सेवामा छुट दिने घोषणा गरेको थियो । कार्यालयले हालसम्म म्याग्दीका १२३ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिसकेको छ । साठी वर्ष पूरा उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रत्येक महिनाको २ गते महिला तथा बालबालिका कार्यालयबाट परिचत्रपत्र दिने गरिएको छ । ज्येष्ठ नागरिक समाजका अध्यक्ष नैनकुमार श्रेष्ठले सुरुमा ५० प्रतिशत छुट भनेर लेखिएको परिचयपत्र वितरण भए पनि पछिल्लो समय छुटमात्र लेखेको परिचयपत्र वितरण भएकामा गुनासो गरे ।  परिचयपत्रमा कति छुट पाउने भन्ने विषयमा स्पष्ट उल्लेख नहुँदा ज्येष्ठ नागरिकलाई सुविधा उपभोग गर्न समस्या भएको अध्यक्ष श्रेष्ठले बताए । महिला विकास अधिकृत निर्मला शर्माले मन्त्रालयले छुटमात्र लेखेको छाप लगाएर परिचयपत्र वितरण गर्न मौखिक निर्देशन दिएकाले सोहीअनुसार गरिएको प्रतिक्रिया दिए । घारलाई साक्षर गाविस घोषणा म्याग्दीको घारलाई शनिबार साक्षर गाविस घोषणा गरिएको छ । गाउँ शिक्षा समितिले घारमा आयोजना गरेको एक कार्यक्रममा सो घोषणा गरिएको हो । शिक्षा मन्त्रालयले लक्ष्यित जनसङ्ख्याको ९५ प्रतिशतले अङ्क, अक्षर, लेखपढ गर्न सक्ने भएमा साक्षर घोषणा गर्न सकिने व्यवस्था गरेको छ । गाविसमा रहेका ६० वर्षभन्दा कम उमेरका दुई हजार ८०० जनाको ९६.२६ प्रतिशत साक्षर भएपछि घोषणा गरिएको गाविस सचिव बाबुराम शर्माले जानकारी दिए ।  यसअघि म्याग्दीको बरञ्जा, मराङ, पात्लेखेत र कुहुलाई साक्षर गाविस घोषणा गरिएको थियो । रासस