विराटनगर / पत्रकारहरुले अदालतमा हुने गतिविधि तथा त्यससँग सम्बन्धित विषयहरुलाई समाचार बनाउँदा अहिले पनि त्रास मान्ने गरेका छन् । जिल्ला अदालत मोरङले मङ्गलबार विराटनगरमा अदालतका गतिविधिबारे जनहितका लागि आयोजना गरेको अदालत र सञ्चारकर्मीबीचको अन्तरक्रियामा सहभागी पत्रकारहरुले अदालतको समाचार लेख्दा मानहानीको त्रास हुने गरेको बताए ।
नागरिक दैनिकका तत्कालीन पत्रकार खिलनाथ ढकालले अदालतको विषयमा समाचार लेख्दा वकिलका सङ्गठनहरुले संयुक्त निर्णय गर्दै समाचारको विषयमा अदालतको अपहेलना गरेको भन्दै मुद्दा हालेका थिए । उक्त मुद्दामा विपक्षीको पक्षमा बहस पैरवी गर्न मोरङमा वकिल नै नहुँदा ढकालले काठमाडौंबाट बोलाउनु परेको घटनालाई सम्झँदै मोरङका पत्रकारले यस्तो त्रास व्यक्त गरेका हुन् । त्यसपछि अदालतका गतिविधिलाई विराटनगरका पत्रकारहरुले समाचारको रुपमा ल्याउन कम गरेका थिए ।
कार्यक्रममा आफ्नाे कार्यपत्र प्रस्तुत गर्दै मोरङका अग्रज पत्रकार यज्ञ शर्माले पत्रकारहरुमा अझै पनि अदालतको विषयमा कति समाचार लेख्न हुने र कति नहुने भन्ने विषयमा अन्यौल कायम रहेकोले आपसी समन्वय वृद्धि गर्न आवश्यक रहेको बताए ।
उनले पत्रकारहरुमा अझै पनि अदालती कार्यशैली र सीमाबारे अन्यौल रहेको, कानून व्यवसायीले सिण्डीकेट लगाएर अपहेलना नभएपनि भएजसरी संयुक्तरुपमा मुद्दा हाल्ने गरेको बताए । ‘यसअघि मोरङमा भएको घटनाले गर्दा पनि हामीले अदालतको विषयमा समाचार लेख्दा त्रास व्यहोर्नु परेको छ’, उनले भने, ‘अदालत र पत्रकारबीचको सम्बन्ध तथा अस्पष्टताको हल गर्न आवश्यक तालिम तथा अन्तत्र्रिmया आवश्यक छ ।’ कार्यक्रममा बोल्दै पत्रकारहरु सुमन तिम्सिना, मोहन मानन्धर लगायतले अभैm पनि अदालत पुरानै शैलीमा चलेको कारण समाचार लेख्दा डराउनु पर्ने अवस्था रहेको बताए ।
कार्यक्रममा पत्रकारको जवाफ दिँदै मोरङ जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलले मानवअधिकार र व्यक्तिगत अधिकारको विषयलाई हेरेर समाचार लेख्नुपर्ने बताए । उनले अदालतको विषयमा समाचार लेख्दा संयम अपनाउनु पर्ने भन्दै अदालत सशक्त नभएसम्म प्रजातन्त्र पनि बलियो नहुने जिकिर गरे ।
यस्तै जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश विनोदमोहन आचार्यले अहिलेको समयमा पनि पत्रकारहरु अदालतको अपहेलनाबारे डराउनु आवश्यक नभएको बताए । नेपालको अदालतले पत्रकारको विषयमा परेका अपहेलनाको मुद्दालाई सबैभन्दा कम सजाय दिइएको बताउँदै उत्तेजना फैलाउने खालका समाचार आएमात्रै अदालत गम्भीर हुने उनको भनाइ थियो ।