छिन्ताङ/छिन्ताङ खाल्साको शहीदहरुको सम्झनामा कात्तिक २९ गते गरिने स्थानीय शहीद दिवसमा छिन्ताङ–४ का हस्तबहादुर राईलाई सधैं बोलावट हुन्छ । हरेक वर्ष उनी आउँछन् । पञ्चायती शासकको दमनमा उनकी आमा रामकुमारी राई पनि पिसिएकी थिइन् ।हस्तबहादुरकी आमा शहीद त बनिन् तर शहीदको सम्झनामा न उनको शालिक निर्माण भएको छ न त राज्यले उनको परिवारलाई खाल्साका अन्य १५ शहीदका परिवारले पाएभैंm राहत रकम नै दियो ।
तर, पनि हस्तबहादुर शहीद दिवसमा जान छाड्दैनन् । त्यहाँ पुगेर नेताहरुका कुरा सुन्छन्, राष्ट्रिय शहीद घोषणा गर्ने भनेर नेताहरु कुर्लिएको सुन्छन् र फर्किन्छन् । तर, त्यो पूरा कहिल्यै भएको छैन ।खाल्साको शहीदमा नअटाएकी रामकुमारीलाई पञ्चायती सरकारले उसैगरी मारेको थियो, जसरी अरुलाई । कम पीडा दिएको थिएन पञ्चायती सरकारले । हस्तबहादुर ९ वर्षका थिए । बल्ल आमाको मायाको महसूस गर्दै थिए । त्यही बेला उनकी आमाको निर्मम हत्या गरियो । त्यो हत्याको कल्पना उनी गर्न सक्दैनन् यतिखेर । भन्छन्, ‘९ वर्षको थिएँ । आमालाई त्यो डाँडातिर (हातले देखाउँदै) लग्यो । म दगुरी हाले । आमालाई के–के ग¥यो । बहिनीहरु पनि दुगुरे । त्यही पीडाले मर्नुभयो ।’ उनका अनुसार बुबा सुन्तला बोकेर धरान झरेका थिए । त्यही मौकामा बुबालाई खोज्न आएका पुलिसहरुले आमालाई नै उठाएर लगेका थिए ।
‘चारजना लालाबालालाई सम्हालेर राखेकी रामकुमारीलाई नै थुतेर लगेपछि डरले ती बच्चाहरु घरभित्रै लुकेका थिएँ ।’ त्यसबेलाका जानकार शहीद परिवार मध्येकै गङ्गाराम राई भन्छन्, ‘शायद ती पुलिसहरुले लगेर बलात्कार गरेको हुन सक्छ । र, यातना दिएको पनि हुनसक्छ । त्यही पीडाले दुई दिनपछि मरिन् ।’पञ्चायती तानाशाहले खाल्साका जवान पुरुष र महिला मास्ने अभियान चलाएको थियो । त्यो बेला पञ्चायती शासकले धनकुटामा प्रहरीको डप्mफा नै राखेको थियो । तत्कालीन बसन्त राई प्रहरी प्रमुख थिए । खोजी–खोजी हत्या गर्थे । कतिपयलाई हिरासतमा लिएका थिए । हिरासतमा लिएकाहरुलाई छाडिएको घोषणा गर्दै भाग्न लगाउँथे । र, पछिल्तिरबाट गोली बर्साउँथे । आँखिसल्ला र छिन्ताङका १६ जनालाई त्यसरी नै निर्ममतापूर्वक हत्या गरिएको थियो ।त्यही निर्ममतापूर्वक हत्या गरिएको मध्येकै थियो हस्तबहादुरको परिवार । तर, अहिले पनि उक्त परिवारले राज्यबाट एक कच्चो सहयोग अनुदान प्राप्त गरेको छैन, जति अन्यले प्राप्त गरे ।
प्रजातन्त्र पुनर्बहालीपछि बनेको गिरिजाप्रसाद कोइरालाको सरकारले १५ जनालाई एक लाखका दरले अनुदान रकम दियो । तर, शहीद बनेकी रामकुमारीको परिवारमा एक रुपैयाँ पनि हात लागेन ।‘१५ जनाले पाइसके । हामीले त अनुदान पनि पाएका छैनौं । शालिक पनि बनेको छैन’, हस्तबहादुर गुनासो पोख्छन् । प्रजातन्त्रको लागि लडेको उनका परिवारले अहिले प्रजातन्त्रपछि गणतन्त्र देखिसक्यो । त्यै पनि कुनै सरकारले उनको परिवारलाई राहत दिने कष्ट उठाएको छैन ।त्यही बेला टिपनी गर्नुपर्ने थियो रे । त्यो टिपनी गर्न नसक्दा आमाको नाम छुटेको हुनसक्ने उनी बताउँछन् । २०३७ सालमा टिपनीका लागि धनकुटाबाट प्रशासकहरु आएका थिए । त्यो बेला पनि घरका मूली बुबा थिएनन् । परिवारको जेठो उनी नै थिए ।
१० वर्षका उनले टिपाउने कुरै भएन । गाउँलेले पनि डरले टिपाइदिएनन् । ‘एक वर्षपछि आएको रै’छ । डरले टिपाएनछन् । बुबा पनि त्यो बेला हुनुहुन्नथ्यो’, उनी भन्छन् ।बहुदल आएपछि टिपोट गर्दा पनि आप्mनो आमाको बेवास्ता भएको उनी बताउँछन् । सँगै मारिएकाहरु स्थानीय स्तरमै भएपनि शहीद घोषणा भएका छन् । अर्धकद मूर्ति बनेका छन् । उनीहरुको जन्म, मरणको स्थानसम्म तोकेर हरेक वर्ष माल्यार्पण हुन्छ । तर, हस्तबहादुर कार्यक्रममा जान्छन् । चुपचाप बस्छन् । अरुको तस्विरमा माल्यार्पण गर्छन्–फर्किन्छन् । आप्mनो आमाको तस्विरमा माल्यार्पण हालसम्म गर्न पाएका छैनन् ।शहीद परिवारको नाममा उनको नाम त आउँछ तर त्यहीका स्थानीयले समेत अहिलेसम्म उनको आमाको तस्विर बनाउने आँट गरेका छैनन् । खाल्साका १६ शहीदमध्ये १५ शहीदको मूर्ति ठिङ्ग उभिएको छ ।
तर, उनको आमाको मूर्ति उभिन हालसम्म लायक बनेको छैन । ‘अरुको शालिक बनिसक्यो तर मेरो आमाको हालसम्म बनेको छैन । त्यो बन्नुपर्छ भन्ने मेरो माग छ’, उनी भन्छन्, ‘कार्यक्रममा शहीद परिवार भनेरै बोलाउँछन् । तर, अहिले पनि शालिक बनाउन खोज्दैनन् ।’अधिकार र जनताको लागि आहुती दिएका परिवारमध्येका हस्तबहादुरको परिवार सदैव स्थानीयबाट समेत पीडित हुँदै आएको छ । ‘सरकारसँग त हाम्रो गुनासो कति छ कति, तर गाउँलेले पनि हामीलाई हेर्दैनन्’, उनी भन्छन् । २०३६ साल कात्तिक २५ गतेबाट शुरु भएको पञ्चायतको नरसंहार २९ गतेसम्म जारी रह्यो ।
विभिन्न स्थानमा लगेर हत्या ग¥यो । त्यसै मेसोको एउटा क्रुर घटना उनकी आमाको हत्या पनि थियो । अहिले त्यही सम्झेर उनी क्रुद्ध हुन्छन् । उनको एउटै माग छ, ‘राज्यले शहीद घोषणा गरोस् र शालिक बनियोस् ।’अन्य शहीदहरु जसले राज्यको लागि ज्यान आहुति दिए, उनीहरुलाई सम्झना गर्नको लागि कमसेकम शालिक त छ । तर, हस्तबहादुरको परिवारको त त्यो स्मरण गर्ने शालिक पनि छैन । उनकै पालामा यो शालिक बनाउन सके आउँदो पुस्ताले थाहा पाउने थियो भन्ने उनको चाहना छ । उनकै पालामा निर्माण गर्न नसके अबको पुस्ताले निर्माण गर्ला भन्ने उनलाई लागेको छैन । खाल्साका शहीद परिवारले र खाल्साबासीले त्यो सोचुन् ।