काठमाडौं/ प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आजबाट अनिवार्य अवकाश पाएसँगै निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी डीआईजी नवराज सिलवाललाई दिने तयारी गरिएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सिलवालले आज देखि निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्ने छन् । प्रहरी नियमावली २०७१ अनुसार सिलवालाई निमित्तको जिम्मेवारी दिन लागिएको स्रोतको दावी छ । महानिरिक्षक आर्याल भने आजबाट विदा हुँदैछन् ।

अर्यालसँगै १० जना एआईजी र तीन डीआईजी पनि आजै बिदा हुँदैछन् । निमित्त महानिरिक्षकको जिम्मेवारी प्रहरी अस्पतालका एआईजी दिनेशचन्द्र पोखरेललाई दिने तयारी रहेपनि प्रहरी नियमावलीमा प्राविधिकतर्फका लागि नेतृत्व दिने व्यवस्था नभएको भन्दै सिलवाललाई दिने तयारी गरिएको बुझिएको छ । स्रोतका अनुसार प्राविधिकलाई निमित्त दिइने परम्परा नरहेका कारण वरिष्ठ डीआईजी नै निमित्त प्रमुख हुने छन् । वरियताक्रम अनुसार सिलवाल १ नम्बरमा रहेकाले उनले निमित्तको जिम्मवारी सम्हाल्न लागको बताइएको छ ।

आइतबारको मन्त्री परिषद्को बैठकले प्रहरी महानिरीक्षकमा डीआईजी जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरेपनि सर्वोच्च अदालतले सो निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । मन्त्री परिषद्को निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले चन्दको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । अदालतको आदेशपछि अर्यालले प्रहरी नियमावली अनुसार नै सिलवाललाई निमित्तको जिम्मेवारी दिने बताइएको छ ।

प्रहरी नियमावली २०७३, ४६ को कायममुकायम, कार्यवाहक र निमित्त सम्बन्धी व्यवस्थाको नियम ७ अनुसार सिलवालले निमित्त प्रहरी महानिरीक्षकको पद सम्हाल्ने छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको दवावमा तेस्रो तम्बरमा रहेका चन्दलाई महानिरीक्षकमा नियुक्त गरिएको थियो । बरिष्ठता मिचेर राजनीतिक दवावमा चन्दलाई महानिरिक्षक नियुक्त गरेको भन्दै सिलवालले आइतबार सार्वोच्चमा रिट दायर गरेका थिए । उनको रिटमा आज सुनुवाई हुनेछ । सोमबार प्रहरी प्रधान कार्यालयले महानिरीक्षक अर्याल र एघार एआईजीहरू तथा तीन डिआइजीहरूको सामूहिक बिदाइ गर्ने कार्यक्रम राखेको छ ।