शनिश्चरे (मोरङ) आसन्न स्ववियु निर्वाचनको सन्दर्भमा विद्यार्थी सङ्गठनबीच आन्दोलन र प्रतिआन्दोलन शुरु भएपछि झापाको दमक बहुमुखी क्याम्पसमा सुरक्षाका लागि प्रहरी तैनाथ गरिएको छ । पूर्ण समानुपातिक प्रणालीमा स्ववियु निर्वाचन हुनुपर्ने माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) समूहका माओवादी, समाजवादी विद्यार्थी फोरम र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका विद्यार्थीहरूले फागुन १ गते दमक क्याम्पसमा लगाएको ताला अनेरास्ववियुलगायतका सङ्गठनका विद्यार्थीले फुटाएका थिए ।
स्ववियु निर्वाचन भाँड्ने उद्देश्यले गैरविद्यार्थीहरूले विभिन्न हर्कत गरेको भन्दै अनेरास्ववियु, नेवि सङ्घ, अखिल क्रान्तिकारी, वैद्यनिकट अखिल क्रान्तिकारी र नयाँ शक्तिनिकट विद्यार्थी युनियनले ताला फुटाएका हुन् । क्याम्पस प्रमुख र सञ्चालक समितिको कार्यालयमा लगाइएको ताला फुटाएर उनीहरूले यस्तो हर्कत नदोहो¥याउन चेतावनीसमेत दिएका छन् ।
बुधबार बिहान ताला फुटाइएको विरोधमा विप्लव समूहका विद्यार्थीले तत्कालै क्याम्पस प्रमुख उत्तमकुमार भट्टराईको कुर्सी बाहिर निकालेर आगो लगाएपछि विद्यार्थीबीच झडपको सम्भावना बढेकाले क्याम्पस क्षेत्रको सुरक्षाका लागि दैनिक प्रहरी खटाइएको दमक प्रहरी प्रमुख राजन लिम्बूले बताए । उनले कुर्सी जलाउने र हुलहुज्जत गर्नेको खोजी भइरहेको जनाए । सो गतिविधिमा संलग्नहरू फरार छन् ।
गैरविद्यार्थीहरूले ताला लगाउने, क्याम्पस प्रमुखको कुर्सी जलाउने र विद्यार्थीहरूलाई आतङ्कित बनाउने काम गरेकाले त्यस्तो आतङ्क रोक्न आपूmहरू अगाडि सरेको अनेरास्ववियुबाट क्याम्पसमा स्ववियु सभापतिका उम्मेदवार सन्तोष दुलालले बताए । उनले क्याम्पसमा स्ववियु निर्वाचन कसैले रोक्न नसक्ने बताउँदै विद्यार्थीको अधिकार कुण्ठित गर्ने अधिकार कसैसँग नभएको जिकीर गरेका छन् ।
नेवि सङ्घका दमक क्याम्पस इकाइ सभापति मिन्टु दुलालले क्याम्पस प्रशासनलाई स्ववियु निर्वाचनको प्रक्रिया शुरु गर्न आग्रह गर्दै क्याम्पसभित्र गैरविद्यार्थीको प्रवेशलाई रोक्न माग गरे । उता, विप्लव समूहको क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम नेपाल, सङ्घीय विद्यार्थी युनियन, नेपाल विद्यार्थी मोर्चा, लिम्बू विद्यार्थी मञ्च र किरात राई विद्यार्थी सङ्घले ६ बुँदे माग अघि सार्दै मेची क्याम्पसमा पनि बुधबार तालाबन्दी गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयमा सिनेटको सिण्डिकेट र फर्जी भर्ना खारेजी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्न, अगाडि बढाइएका सम्पूर्ण चुनावी गतिविधि बन्द गर्न भन्दै ती सङ्गठन आन्दोलनमा ओर्लिएका छन् ।