
आइतबार राति भासिएको बिपी राजमार्ग मंगलबार बिहानबाट एकतर्फी खुल्ने भएको छ। धुलिखेल–बर्दिबास सडक आयोजना प्रमुख भरतकाजी देवजुका अनुसार सोमबार बिहानैदेखि दुई वटा लोडरले वैकल्पिक ट्रयाक मर्मत गरेपछि बाटो एकतर्फी खोल्न सम्भव भएको हो।
साेमबार बिहानैदेखि लोडर प्रयोग गरेर डेढ किलोमिटरको ट्रयाक मर्मत गरिसकेका छौँ ,उनले भने, नयाँ बाटोमा राति हिँड्दा कुनै दुर्घटना नहोस् भनेर भोलि बिहानदेखि एकतर्फी सवारी चलाउन सुरू गर्छौं।
देवजुकै नेतृत्वमा सडक विभाग र जापानी प्राविधिकको टोली सोमबार स्थलगत अनुगमनमा गएको थियो। उक्त टोलीले गत वर्षको भुइँचालोको धक्काले सडकको जग कमजोर भई अचानक भासिएको हुनसक्ने प्रारम्भिक आँकलन गरेको छ। बिपी राजमार्गमा गत वर्षको भुइँचालोले विभिन्न ११ ठाउँमा यस्तो धक्का दिएको देवजुले बताए।
उनका अनुसार जापानीज्सँग छलफल गरी भासिएको बाटोको नयाँ डिजाइन गरेर निर्माण थालिनेछ।
सडक विभाग प्रवक्ता दयाकान्त झा भने जापानी सहयोगमा मर्मतसम्भार हुँदै आएको राजमार्गको मर्मत कसरी गर्ने भन्नेबारे केही अन्यौल रहेको बताउँछन्।
‘हाम्रा इन्जिनियरहरुको टोली अध्ययन गर्न गएको छ, त्यो टोलीले क्षतिबारे रिपोर्ट दिएपछि के गर्ने भन्ने टुंगो लाग्छ,’ झाले भने, ‘अहिले यो बाटो मर्मतमा जापान सरकारले सघाउँदै आएकाले यसको खर्च कसरी गर्ने भन्ने पनि छ।’
आइतबार राति बनेपा–बर्दिबास सडक खण्डअन्तर्गत सिन्धुलीको शीतलपाटी–९ बेनीघाटमा झन्डै ४५ मिटर सडक भासिएको थियो।
भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयका पूर्वसचिव तुलसी सिटौलाले जापानीज्ले सहयोग नगरे पनि नेपाल सरकार आफैंले बाटो मर्मत गर्नुपर्ने बताए।
‘पहिला पहिला कहीँ बाटो बिग्रिए जापानीलाई अनुरोध गर्दा उनीहरू बनाइदिन्थे,’ सिटौलाले भने, ‘अहिले पनि जापानलाई अनुरोध गर्नु छुट्टै कुरा हो। तर उनीहरूलाई लामो समय लाग्ने भए विभाग आफैंले यसलाई मर्मत गर्नुपर्छ।’
२० अर्ब लगानीमा जापान सरकारले बनाएको बिपी राजमार्गमा दुई वर्षअघिदेखि सञ्चालनमा आएको हो। सडकको जग बलियोसँग नबनाइनू, भूकम्पका कारण चर्किएको र सुनकोशीले बर्षातको समयमा जग खोलिदिँदा सडक भत्केको हुन सक्ने स्थानीयबासीले आँकलन गरेका छन्।
राजमार्ग भासिएपछि सयौं सवारी साधन रोकिएका थिए। बिपी राजमार्ग, मध्यपहाडी लोकमार्ग भएर राजधानी तथा राजधानीबाट बाहिरिएका सवारी अलपत्र परेका थिए।
प्रवक्ता झाले रामेछाप, दोलखा, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा लगायत पूर्वका अन्य जिल्ला तथा तराईका जिल्लाबाट राजधानी हिँडेका सवारीसाधनले अब खुर्कोट–मन्थली–दोलखा–दोलालघाटको बाटो प्रयोग गर्न सक्ने बताए।
तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाले २०१५ सालमा यो राजमार्गको परिकल्पना गरेका थिए। उनकै योजनाअनुरुप त्यतिबेलै राजमार्ग निर्माण सुरु भएको थियो। २०१७ सालको राजनीति परिवर्तनपछि यो राजमार्ग निर्माण ओझेलमा परेको थियो। ०५२ सालमा जापान सरकारले अनुदानमा यो बाटो निर्माण थालेको थियो।