इटहरी/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इटहरीमा आयोजित सभामा नेपाली सिनेमा ‘बलिदान’को गीत गाए ।
शनिवार काकडभिट्ठाबाट शुरु भएको एमालेको मेची–महाकाली अभियान अन्तर्गत आइतबार इटहरीको विराटचोकमा आयोजित सभामा ओलीले ‘गाउँ गाउँबाट उठ’ भन्ने रामेश–रायनको गीत गाउँदा निकै ताली बटुले ।
गाउँ गाउँबाट उठ भन्ने गीतको केही हरफ हुबहु गाए पनि ओलीले बाँकी गीत भने आफै उखान टुक्का मिलाएर गाए । गीत गाएर ताली पाएपछि मात्रै ओलीले भाषण शुरु गरे । तर काठमाडौंमा मधेसीविरुद्ध चर्को भाषण गर्ने एमाले अध्यक्ष ओलीले इटहरीमा मधेसीविरुद्ध केही बोलेनन् ।
उनले आफूहरुविरुद्ध फैलाइएको भ्रम चिर्न पनि अभियान सफल हुने दाबी गरे । ओलीले आफू सरकारमा हुँदासमेत विदेशीले नमानेको दाबी पनि गरे । एमालेले राष्ट्रियताको पक्षमा कसैसँग सम्झौता नगर्ने पनि प्रतिवद्धता जनाए ।
सभालाई एमाले उपाध्यक्ष भीम रावल, दलका उपनेता सुवास नेम्वाङलगायतले पनि सम्बोधन गरेका थिए ।