मोरङ / एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेची–महाकाली अभियानले देशमा नयाँ ऊर्जा सञ्चार भई संविधान कार्यान्वयन र स्थानीय निकाय निर्वाचनका लागि जनदवाब सिर्जना गरेर समृद्धि र राष्ट्रियताको एमालेको मूल मर्म उजागर गरेको उल्लेख गरेका छन् ।
अभियानको क्रममा आइतबार कोशीहरैंचाको विराटचोकमा आयोजित जनसभामा बोल्ने क्रममा उनले एमालेको प्रभावकारिता झनै बढेको बताएको शनिश्चरे संवाददाताले जनाए । उनले भने, ‘जातीय सद्भावको सन्देश छर्दै देशलाई नयाँ हिसाबले अगाडि डो¥याउन एमालेको प्रभावकारी कुरालाई जनतासम्म राम्ररी बुझाउन हामी मेचीदेखि महाकालीसम्म निस्किएका हौँ ।’
सो अवसरमा एमाले नेता एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले पनि विधिको शासन स्थापित गर्नु र देशलाई विकासको गतिमा लैजानु अभियानको मर्म रहेको बताए । यस्तै महासचिव ईश्वर पोखरेलले नयाँ संविधानले संसद्बाट संविधान संशोधनको अनुमति नदिएको बताए । मोरङको पथरीमा आयोजित कोणसभामा बोल्दै उनले संविधान संशोधन गर्नु परेमा त्यसको आप्mनै प्रक्रिया र प्रावधान भएको प्रष्ट्याए ।
शनिबार काँकडभिट्टाबाट शुरु भएको अभियान दमक आइपुगेको थियो । आइतबार बिहान दमकबाट बस, साना गाडी र मोटरसाइकलमा अगाडि बढेको हजारौँको ¥याली जिल्लाको उर्लाबारीमा समेत कोणसभामा परिणत भएको थियो । उर्लाबारीको सभामा बोल्दै एमाले सचिव प्रदीप ज्ञवालीले संविधानलाई तलमाथि नपारी कार्यान्वयन, स्थानीय तहको निर्वाचन तोकिएको मितिमा सम्पन्न, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न तथा देशलाई समृद्धिको अभियानमा लैजान जनदवाबका लागि अभियान थालिएको प्रष्ट्याएको उर्लाबारी संवाददाताले जनाए ।
त्यसपछि कोशीहरैंचास्थित विराटचोकमा जनसभा भएको थियो । सो सभामा उपाध्यक्ष बामदेव गौतम, महासचिव पोखरेल, सचिव ज्ञवाली तथा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, केशव बडाल, नेम्बाङ, मुकुन्द न्यौपानेसहितको नेतृत्व सहभागी थियो । जिल्लाका विभिन्न ठाउँबाट एमालेमा प्रवेश गरेकाहरूलाई अध्यक्ष ओलीले टीका लगाएर स्वागत गरेका थिए ।
एमालेको अभियान इटहरीमा
एमालेको मेची–महाकाली अभियान आइतबार इटहरी आइपुगेको छ । इटहरीमा पनि जनसभा आयोजना गरिएको थियो । सभालाई वरिष्ठ नेता माधवकुमार नेपाल र सुवास नेम्बाङले सम्बोधन गरेका थिए । सभापछि अध्यक्ष केपी ओली विराटनगर गएका छन् भने झलनाथ खनाल धरानमा वास बस्ने एमालेका सुनसरी अध्यक्ष द्वारिकलाल चौधरीले बताए । अन्य नेताहरू भने इटहरीमै रहने पनि अध्यक्ष चौधरीले जनाए । सोमबार बिहान इटहरीबाट अभियान अघि बढ्ने छ । झुम्कामा कोणसभा गरी इनरुवामा सभा र त्यसपछि लौकहीमा पनि कोणसभा गरी टोली सप्तरीमा प्रवेश गर्ने अध्यक्ष चौधरीले जनाए । पार्टी नेताहरू कार्यकर्ताका घरमा बस्ने भनेर यसअघि प्रचार गरिए पनि सुरक्षाका कारणले शीर्ष नेताहरू होटलमा बस्ने व्यवस्था गरिएको उनले बताए ।