उदयपुर । उदयपुरको पश्चिमी पहाडी ताप्ली गाउँपालिकामा दुई दिने एकीकृत घुम्ती शिविर सञ्चालन भएको छ ।

जनतालाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय उदयपुरले तागापा रुपाटारमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेको हो । विकट पहाडी भेगका गाउँमा सञ्चालन भएको शिविरमा प्राय जिल्लाको सबै सरकारी कार्यालयको सेवा उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बताए ।

सोमबारदेखि शुरु भएको शिविरमा ३ सय ९१ जना मध्य पुरुष एक सय ४५ र महिला २ सय ३७ जनाले नयाँ नागरिकता लिएका छन् । फोटोसहितको मतदाता नामावली दर्ता ३ सय ७१ जनाले गरेकामा पुरुष एक सय ४४ र महिला २ सय २७ जना रहेको कार्कीले बताए ।

शिविरमा कृषि ३१, भेटेरीनरी २ सय ७२ घर परिवारले सेवा लिएका छन् । दुई सय ९९ जनामा पुरुष एक सय ७९ र महिला एक सय २० जनाले आँखाको उपचार सेवा लिएका छन् । ४ सय २६ जनामा महिला तीन सय ३६ र पुरुष ९० जनाले स्वास्थ्य सेवा लिएकामा ५४ जनालाई रेफर गरिएको शिविर टोलीका प्रमुख जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कुमारबहादुर खड्काले बताए ।
उक्त शिविरमा ७७ जनालाई अपाङ्गता परिचय–पत्रको सिफारिस गरिएको छ । एक सय ५३ जनाले स्त्रीरोग सेवा पाएकामा २६ जनालाई रेफर गरिएको छ । एक जनाले मात्र घरेलु उद्योग दर्ता गरेको र १६ वटा पसलमा खाद्य पदार्थ गुणस्तर अनुगमन गरिएको खड्काले बताए ।

जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रमाणत्र, कृषिले माटो परीक्षण तथा बिउवीजन वितरण, स्वास्थ्यले औषधि उपचार, घरेलु तथा साना उद्योग विकासले उद्यम प्रवद्र्धन तथा दर्ता, प्रहरीले शान्ति सुरक्षा, आँखा अस्पतालले आँखाको चेक जाँच , भेटेरीनरीले पशुको औषधोपचार र परामर्श, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजनले बजार अनुगमन, निर्वाचनले फोटोसहितको मतदाता नामावली सङ्कलन र सुन्तला जोनले कृषकलाई माटो परीक्षण र परामर्शलगायतका सेवा उपलब्ध गराएको प्रशासन कार्यालयले जनाएको छ ।

स्थानीयलाई सरकारी काम कारबाहीका लागि आवश्यक कागजात गाउँपालिका र वडा कार्यालयले उपलब्ध गराएको थियो । सरकारी कार्यालयका प्रमुखले शिविरको अनुगमन गरेका थिए ।
सङ्घीय संरचनासँगै स्थानीय तहमा सिंहदरबारको अधिकार नआएको जनताले गुनासो गर्न थालेपछि प्रशासनले शिविर सञ्चालन गरेको थियो । गाउँमा विभिन्न सरकारी सेवा सुविधा पाउँदा स्थानीय खुसी भएका छन् ।