धनकुटा/ तेह्रथुम जिल्लाबाट निर्यात हुने मसलाबाली मध्ये सबैभन्दा बढी वैदेशिक मुद्रा भित्राय याउने अलैंची खेतीप्रति पछिल्ला वर्षहरूमा यहाँका किसानहरूको आकर्षण घट्दो छ ।
यहाँका कतिपय किसानले त बगान विस्तार गर्नसमेत छाडेका छन् भने उत्पादित अलैंचीको भाउ नपाउँदा निराश पनि छन् । एकताका अलैंचीको मूल्य बढेसँगै अलैंची खेतीमा भविष्य देखेर फेदाप गाउँपालिका वडा नं. १ कमल तामाङ निकै खुशी थिए ।
उनले उत्पादन गर्दै आएको मकै, कोदो, जौं, गँहु, फापर, तोरी र आलुबारीलाई मासेर अलैंची लगाए । तर अलैंची बगानमा फैलँदो सङ्क्रमण, रोग र बजारमा अलैंचीको मूल्यमा आएको उत्तारचढावका कारण खस्कँदै गएको भाउबाट निराश भए पनि उनले अलैंची खेती लगाउन भने छाडेका छैन्न ।
अलैंचीको भाउ खस्किएसँगै घर–व्यवहार चलाउन, परिवार पाल्न र छोराछोरी पढाउन भने केही समस्या भएको तामाङ बताउँछन् ।
०७० सालमा प्रतिमन १ लाख ३० हजारसम्म बिक्री भएको अलैंचीको मूल्य अहिले प्रतिमन ३० हजार रुपैयाँमा झरेको छ । विभिन्न रोग र किराको प्रकोपले उत्पादनमा ह्रास आए पनि यसको मूल्य पाउने आशामा बसेका तामाङ अलैंचीको मूल्य वर्षेनी ओरालो लाग्दा झनै समस्यामा परेको बताउँछन् ।
सरकारले अलैंचीको बजार प्रवद्र्धन गर्न नसक्दा किसानले यस्तो समस्या भोग्नु परेको उनको भनाइ छ । उनको परिवारले अलैंची खेती गर्न थालेको वर्षौं भएको छ । स्वर्गीय बुबा छत्रबहादुरले ०३८ सालमा ओयाक्जुङबाट अलैंचीको बिरुवा ल्याएर शुरुमा बारीको कान्लामा रोपेर विरुवा सारेका थिए ।
बुबाको पालासम्म ५ मनसम्म अलैंची फलाएका तामाङले पछिल्लो समयमा आएर २२ मनसम्म फलाए । यो वर्ष पनि १६ मन अलैंची उत्पादन गरे । अलैंचीको मूल्य भनेजस्तो नहुँदा तामाङलाई अहिले दुःख लागेको छ । अलैंची बेचिहाल्नु भन्दा पनि पछि मूल्य बढ्छ कि भन्ने दाउमा रहेको तामाङ बताउँछन् ।
बुबा छत्रबहादुरले ७ रोपनी बारीमा लगाएको अलैंची खेती हिजोआज आएर छोरा कमलको पालामा आइपुग्दा ४० रोपनी क्षेत्रफल बारीमा छ । अहिले २० रोपनी बारीमा अलैंची नियमित फल्छ भने बाँकी २० रोपनीमा बिरुवा लगाएका छन् ।
अलैंचीको मूल्य जेजति आए पनि गाउँघरका किसानलाई आर्थिक उपार्जनमा भने ठूलो सहयोग पुर्याएको उनको अनुभव छ । ‘खाद्यबाली नहुने जग्गामा फल्ने, थोरै श्रमले राम्रो आम्दानी हुने, एकपटक लगाएपछि वर्षौंसम्म ढुक्क हुन्छ र हरेक वर्ष आम्दनी पनि दिइरहन्छ,’ तामाङले भने, ‘त्यतिमात्र होइन समाजमा आर्थिक सुधारसँगै अलैंचीले मान्छेहरूलाई समाजमा स्थापित गरेको छ, सरकारी तथा निजी वित्तीय संस्था तथा बैङ्कहरूले अलैंची बगान हेरेर ऋण दिने गरेका छन् । बगान भएपछि रुख–बिरुवा जोगाउन पनि सजिलो भएको छ ।’
२० मुरी मकै फल्ने बारीमा २ मन अलैंची फल्यो भने पनि ५० मुरी मकैको मूल्यको काम गर्ने भएकाले पनि आफ्नो ४० रोपनी सबै बारीमा अलैंचीमात्रै लगाएको उनी बताउँछन् । उमेरले ६० काटेका तामाङले हरेक वर्ष ३ क्वालिटीमा अलैैंची सुकाउने गरेको बताए ।्र
अहिले उनीसँग सुपर दाना, चालु र एसडी गरी तीन क्वालिटीको अलैंची छ । अलैंचीको पुच्छर कैंचीले काटेर राम्रोसँग सुकाएर ग्रेडिङ गरेर ओभानो भकारीमा राखिएको छ । यसरी राखेपछि ५ वर्षसम्म केही नहुने कमल तामाङको अनुभव छ ।
अहिले उनीसँग अघिल्लो वर्षको पनि ५ मन अलैंची छ । तर, उनी अहिले अलैंची बेच्ने मनसायमा छैनन् । अघिल्लो वर्ष मङ्सिर–पुसमा प्रतिमन २८ देखि ३० हजार मूल्य कायम भएको अलैंचीपछि माघ–फागुनमा ४५ हजारसम्म प्रतिमन पुगेकाले अलैंची बेच्न ‘बिरालोले मुसा ढुके जस्तो ढुक्नु पर्ने’ उनले सुनाए ।
०७० सालमा २५ मनसम्म फलाउँदा प्रति मन ९५ हजार देखि १ लाख १५ हजारसम्ममा बिक्री गरेको सम्झदा अहिले सपना जस्तो लाग्ने उनी बताउँछन् । वार्षिक अलैंचीबाट हुने १० देखि १२ लाख आम्दानीले तामाङले आफ्नो ७ जनाको परिवारलाई खर्च धान्न, घरको गर्जो टार्न सहयोग पुगेको बताए ।
उनले अलैंचीको आम्दानीले आफ्ना ४ छोरा र १ छोरीलाई कक्षा ११ देखि एमएस्सीसम्म पढाउन पुगेको बताए ।
कमलजस्तै उनका छिमेकी हर्कमान मोक्तान, सलबहादुर तामाङ, महेन्द्र लुङ्वा, धर्मध्वज कुरुङवाङलगायतले पनि यो वर्ष राम्रै अलैंची फलाएका छन् । प्रायःजसो यो क्षेत्रका अधिकांश किसानको मुख्य नगदेबाली अलैंची हो ।
अलैंचीको मूल्यमा उत्तारचढाव आइरहे पनि नियमित अलैंची खेती गर्ने कृषकहरूलाई आम्दानीको स्रोतमा त्यति धेरै अन्तर परेको पाइँदैन । अलैंचीको बजारीकरणमा राज्यले थोरै प्राविधिक रूपमा सहयोग पुर्याइदिने हो भने आर्थिक रूपमा उनीहरूको भविष्य सुनिश्चित हुने देखिन्छ ।
किसानहरू सरकारले दररेट निर्धारण नगरेका कारण भारतीय व्यापारीको भरमा पर्नु परेको छ । अलैंची खेतीमा रोगव्याधीसँगै बजारकै ठूलो समस्या रहेको किसानहरू औँल्याउँछन् । आफ्नै घरमा अलैंची छोडाउँदै कमल तामाङको परिवार ।
बगानमा पहिले नै अलैंची टिप्छन् र एक–डेढ महिना गुम्स्याएर छोडाएर सुकाउँदा अलैंचीको ओजन राम्रो आउने उनीहरू बताउँछन् ।