दमक/ घरका बालक हुन् या वृद्ध महिला वा पुरुष नै हुन्, सबैका हातमा एक एकवटा काम हुन्छ । कसैको हातमा बाँसको सिटा छन् । कसैको हातमा प्लाष्टिकको डोरी, कसैको हातमा टायरका टुक्रा छन् । सबै आ–आफ्नै धुनमा काम गरिरहेका हुन्छन् । सबैले मुढा बनाउने विभिन्न खण्डअन्र्तगत कुनै न कुनै जिम्मेवारी लिएर काम गरि रहेका हुन्छन् ।
घाम पानीमा निस्कनु पर्दैन । घरभित्र बसेर गर्न सकिन्छ । राति नसुतिञ्जेल ओछ्यानमा नै बसेर काम गर्दा पनि हुन्छ । अनि बिहान उज्यालो भुइँमा झर्नासाथ काम शुरु भइहाल्छ । प्रत्येक घरका मानिस फुर्सदिला छैनन् ।
झापाको मेची नगरपालिका–१२ नयाँ बस्ती र अर्जुनधारा नगरपालिका १० को कालीझोडाका पूरै गाँउका सर्वसाधारण मुढा बनाउने काममा व्यवसायिक रूपमा लागेका छन् । प्रत्येक घरमा मुढा बनिरहेको पाइन्छ । ‘बालबालिका समेत खेल्ने समयमा मुढा बनेर पैसा कमाउने लतमा परिसकेका छन्, यहाँ ठूला मानिससँग भन्दा बालबालिकासँग धेरै पैसा हुन्छ ।’ स्थानीय गीता राजवंशी भन्छिन् ।
नयाँ बस्तीका एक सय चालिस र कालीझोडाका एक सय भन्दाबढी घरमा मुढा बनाउने गरिन्छ । यो गाउँका लगभग १२ मानिस मुढा बन्ने काममा व्यस्त छन् ।
यहाँ उत्पादन भएको मुढाले देशकै माग धान्ने गरेको छ । यहाँ दैनिक हजारौंको सङ्ख्यामा मुढा उत्पादन हुने गरेको छ । यहाँका सर्वसाधारण मानिस पूर्ण रूपमा मुढा बनाउने काममा व्यवसायिक रूपमा लागेका छन् । त्यतिमात्र होइन यहाँ हरेक कामको यसरी ज्याला निर्धारण गरिएको छ ।
मुढा विभिन्न खण्डमा निर्माण गरिन्छ । कसैले मुढा बनाउने बाँसको सिटामात्र बनाउँछन् । यसले गर्दा उनीहरूलाई काम र दामका लागि कसैको भर पर्नु परेको छैन । सिङ्गो गाउँ नै मुढा बनाउने पेशामा लागेको छ । यही मुढा बेचेरको आम्दानीले सबैको निर्वाह चलेको छ । अहिले यो गाउँलाई मुढा गाउँ भनेर समेत चिन्न थालिएको छ ।
उत्पादन गरिएका मुढा देशका मुख्य शहर हेटौंडा, चितवन, काठमाडौं, पोखरा, बुटवल लगायतका क्षेत्रमा बिक्रीका लागि लाने गरेका छन् । मुढा उत्पादकहरूले प्रति मुढा ५० देखि एक सय रुपैँयासम्म नाफा हुने व्यवसायी महेन्द्र राजवंशी बताउँछन् ।
यहाँ तयार गरिएको मुढा गुणस्तर र आकार हेरेर २ सय ५० रुपैयाँदेखि ५ सय रुपैयाँ प्रतिगोटासम्ममा थोक मूल्यमा बिक्री हुने गरेको छ । मुढाको माग अत्यधिक रहेकाले अझै पूरा गर्न नसकिएको व्यवसायीहरूको भनाइ छ ।
प्लाष्टिकको धागो, साइकलका फालिएका टायर, गाउँघरमै पाइने बाँसबाट उनीहरूले मुढा बनाउने गरेका हुन् ।
यसरी उत्पादन भएको मुढा देशका रहेक ठाउँमा जाने भएकाले माग अनुसारको पूर्ति गर्न नसकिएको मुढा उद्यमीहरू बताउँछन् ।