लहान/ ज्यान मार्ने उद्योग, सङ्गठित अपराधलगायतका विभिन्न मुद्दामा फरार एक व्यक्तिलाई गए राति सिरहा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहाको कर्जन्हा नगरपालिका-४ स्थित बन्दीपुरबाट विभिन्न मुद्दामा फरार रहेका धनुषाको सिंग्याही मडान-३ घर भएका ५७ वर्षीय रामेश्वर महतोलाई पक्राउ गरेको हो ।

पक्राउ परेका महतो ज्यान मार्ने उद्योग, सङ्गठित अपराध, विष्फोटक पदार्थ तथा डकैतीमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए । महतोलाई आज सिरहा जिल्ला अदालतमा बुझाइने प्रहरी नायव उपरीक्षक खरेलले बताए ।

यस्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी गस्ती टोलीले गोलबजार नगरपालिका-६ स्थित भित्री सडकखण्डबाट अवैधरूपमा साइकलमा राखी ओसारपसार भइरहेको अवस्थामा नौ क्युबिक फिट सखुवा जातको काठ तथा काठ ओसारपसारमा प्रयोग भएको चार थान साइकल बरामद गरेको छ ।