धरान/ होङ्सी सिमेन्टलगायतमा आबद्ध रहेको भन्दै स्याङ्जाको पुतलीबजार नगरपालिकाका भेषराज पोखरेलले विभिन्न व्यक्तिलाई ठगी गरिरहेको पाइएको छ ।
होङ्सी सिमेन्टको पूर्वाञ्चल डिलर भन्दै सिन्धुली भिमानका एक हार्डवेयर व्यापारीलाई एक लाख रुपैयाँ पोखरेलले ठगी गरेको आरोपमा काठमाडौं टेकुस्थित महानगरीय अपराध महाशाखामा उजुरी परेको छ । होङ्सीको फ्याक्ट्री दररेटभन्दा ४१ रुपैयाँ सस्तो दिने भन्दै भिमानका व्यापारी विष्णु न्यौपानेलाई पोखरेलले एक लाख रुपैयाँ ठगेका हुन् । उनलाई जेठ ६ गते ठगी गरेका थिए । व्यापारी न्यौपानेले इलाका प्रहरी कार्यालय भिमानमा जेठ १० गते उजुरी दिएका थिए भने टेकुमा यही आइतबार उजुरी दिएका छन् ।
होङ्सीको फ्याक्ट्री दररेट प्रतिबोरा ७ सय ४५ रुपैयाँ पर्न आउने होङ्सीका प्रदेश १ का इञ्चार्ज देवराज सिग्देल बताउँछन् । ‘कसरी कम्पनीको भन्दा ४१ रुपैयाँ सस्तो दिनसक्छ, यो नहुने कुरा हो । कसरी विश्वास गरेर पैसा दिए ?’ –उनले फोनसम्पर्कमा भने । इञ्चार्ज सिग्देलले होङ्सीमा पोखरेलको कुनै आबद्धता नभएको पुष्टिसमेत गरे ।
अहिले पोखरेलले चलाउँदै आएको ९८०४३५६०६२ नम्बरको मोबाइल स्वीचअफ छ । ब्लाष्टकर्मीले पनि उनलाई फोन सम्पर्क गर्ने प्रयास गर्दा फोन स्वीचअफ भएको पाइयो । ब्लाष्टले सिन्धुली भिमानका विष्णु न्यौपानेलाई पनि फोन सम्पर्क गरेर बुझ्दा उनले आफू ठगिएको स्वीकार गरे । होङ्सीको शाखा व्यवस्थापक हुँ भन्दै ५० बोरा सिमेन्ट पठाउने शर्तमा १ लाख रुपैयाँ एड्भान्स दिएको उनले बताए । न्यौपानेका अनुसार आफूले धरान–६ मा सञ्चालित आरआर मेटल वर्कसपको नाममा धरानको एनआइसी एसिया बैङ्कको शाखामा रकम पठाएको बताए ।
वर्कसप पोखरेलको नाममा दर्ता रहेको अर्का सञ्चालक चन्द्र तामाङले बताए । तामाङले उसका कारण आफू बारम्बार पीडित हुनु परिरहेको बताए । ‘यो विषयमा मलाई धेरैतिरबाट सोधियो, ऊ त्यस्तो हो भन्ने शुरुमा थाहा भएन । सामान्य चिनजानको आधारमा खोलियो । मेरै साढे ३ लाख रुपैयाँ वर्कसपमा परेको छ’ उनले भने, ‘तर वर्कसप भने उसैको नाममा दर्ता छ ।’ उनले आफूसँग पोखरा जाने भन्दै डेढ महिनाअगाडि नै हिँडेको मान्छे आफूसँग सम्पर्क नभएको बताए । तामाङ र पोखरेल नाताले ससुरा ज्वाइँ हुन् ।
वर्कसपलगायत घर निर्माणका लागि पोखरेलले झुमा राईद्वारा सञ्चालित न्यू देविका हार्डवेयरबाट पनि २ लाख बराबरको सामग्री लिएका छन् । रकम भुक्तानीका लागि बारम्बार प्रयास गर्दा बाउन्स चेक थमाइदिएको सञ्चालिका राईले बताइन् । ‘५० हजार रुपैयाँ पुगेपछि मात्रै दिन्छु भनेको थियो’ उनले भनिन्, ‘पछि चेक थमाएको थियो, पैसा लिन जाँदा तीनपटक चेक बाउन्स पाइयो ।’ होङ्सीले आफ्नो कम्पनीको बदनाम गरेको भन्दै विज्ञप्ति प्रकाशित गर्ने तयारी गरेको इञ्चार्ज सिग्देलले बताए ।
पोखरेलले धरानका अन्य थुप्रै व्यापारीहरूलाई पनि ठगी गरेको बुझिन आएको छ । त्यसो त उनी वैदेशिक रोजगारी अन्तर्गत बहराइनमा पनि केही वर्ष काम गरेका थिए । सो समयमा पनि उनले विभिन्न कम्पनीको भिसा दिलाइदिने भन्दै २५ जनाभन्दा बढी युवालाई ठगी गरेको पीडित बद्री भट्टराईले बताए । ‘विभिन्न कम्पनीको भिसा दिन्छु भनेर हामीलाई ठगी ग¥यो । विगत ६ महिनादेखि हामी उसलाई फलो गरिरहेका छौं’ –उनले फोन सम्पर्कमा भने ।
उनका अनुसार युवाहरूबाट करिब ३० लाख रुपैयाँ ठगी गरेको हुनसक्छ । आकर्षक तलबको प्रलोभन देखाउँदै त्यसबेला ठगी गरेको पीडित भट्टराईले बताए । पीडित भट्टराई इटहरी निवासी हुन् । ठगीको उजुरी प्रहरीमा दिए पनि प्रहरीले चासो नदिएको उनको भनाइ छ ।
अपराध अनुसन्धान महाशाखामा ठगीको उजुरी परेपछि पक्राउका लागि मातहतका कार्यालयमा पत्राचार भएको थियो । धरानस्थित इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले महाशाखाबाट कुनै पत्र प्राप्त नभएको बताए । तर, बाउन्स चेकमा तीन वटाभन्दा बढी उजुरी आएको बताए । ‘चेक बाउन्समा धेरै जनाबाट उजुरी आएको छ । खोजी कार्य जारी छ । यहाँमात्रै होइन, पोखरासम्मबाट उजुरी आएको छ’ –उनले फोन सम्पर्कमा भने । प्रहरीले हाल निगरानीमा राखेको उनले बताए ।