धरान । धरान–१५ ज्ञानचक्षु मार्गबाट मोटरसाइकल चोरेर फरार रहेका एक युवालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गर्न सफल भएको छ ।
जेठ २८ गते रातको सयममा डेबिस साहको को ९ प २४७७ नम्बरको पल्सर मोटरसाइकल चोरेर फरार रहेका सुनसरी रामधुनी नगरपालिका–६ का अरबिन राईलाई प्रहरीले पक्राउ गरेको हो । राईलाई घरमै लुकिछिपी बसेको अवस्थामा बुधबार पक्राउ गरी चोरी मुद्दामा म्याद थप गरेको छ ।
प्रहरीले चोरी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ । यसअघि मोटरसाइकल चोरीमा संलग्न वराहक्षेत्र नगरपालिका–४ जमटोकीका अनिश चौधरीलाई पक्राउ गरेको थियो ।
त्यस्तै मोबाइल चोरीमा संलग्न धरान–१९ का बुद्धिराज भनिने टीकाराम राईलाई पक्राउ गरेको छ । असार १ गते रातको समयमा सोही स्थानका अविशोर राईको रेडमी कम्पनीको मोबाइल र नगद २१ हजर रुपैयाँ चोरी गरेको आरोपमा राईलाई पक्राउ गरिएको इप्रका धरानको सञ्चार शाखाले जनाएको छ । राईलाई बुधबार नियन्त्रणमा लिई चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको इप्रका धरानले जनाएको छ ।
साथै, धरानमा खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धरान–८ गैरीटोलका उमेश राईलाई पक्राउ गरेको हो । राईले खुकुरी र रडले प्रहार गरी सोही ठाउँका मनोज भनिने खिरबहादुर श्रेष्ठलाई पिडौलामा प्रहार गरी बुधबार घाइते बनाएका थिए । श्रेष्ठको परिवारले दिएको उजुरीको आधारमा पक्राउ गरिएको इप्रका धरानले जनाएको छ । प्रहरीले खुकुरी र रडसमेत बरामद गर्न सफल भएको जनाएको छ ।