भण्टावारी / घुस लिदै गरेको अवस्थामा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट असई पदम कटुवाललाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।
भोक्राहा नरसिंह गाउँपालिका प्रहरी चौकीका इन्चार्ज असई कटुवाललाई शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले ७ हजार घुस लिदै गरेको अवस्थामा रगेंहात पक्राउ गरेको हो ।
दाजुभाईमा घरायसी विवाद हुँदा विपक्षीलाई पक्राउ गर्ने नाममा कटुवालले घुस मागेपछि पीडितले अख्तियारमा खबर गरेका थिए । न्याय दिने प्रहरीले नै सेवाग्राही बाट घुस मागेपछि आक्रोशित पीडित पक्षले अख्तियारमा खबर गरी घुस रकम दिदै गर्दा असई कटुवाल पक्राउ परेका हुन् ।
सेवाग्राहीसँग घुस मागेर असई कटुवालले पीडित पक्षलाई दुख दिने काम गरेको भन्दै विशेष सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई रगेंहात नियन्त्रणमा लिएको अख्तियार दुरुयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय इटहरीले जनाएको छ । ७ हजार घुस रकम सहित पक्राउ परेका कटुवालमाथि थप आवश्यक छानबिन भईरहेको अख्तियारले जनाएको छ ।
यता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले ७ हजार घुस रकम सहित अख्तियारको टोलिले असई पदम कटुवाल लाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन् । यसबारे बारेमा सुनसरी प्रहरीले आवश्यक छानबिन गरी दोषी भेटिए कटुवाल लाई कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।