धरान/ त्यो जागिरले उनी सन्तुष्ट बन्न सकिनन्, जब सुनसरीका दक्षिणी भेगका महिलाहरूको दुरावस्था देखिन् । पतिका अगाडि महिलाहरू शीर ठाडो पार्दैनथे, चुलाचौका, बालबच्चा स्याहारसुसारमै दिन बिताउँथे ।

यो देखेपछि धरान–१५ की डम्बरकुमारी श्रेष्ठ (५०) को मनै कुँडियो । महिलालाई आत्मनिर्भर नबनाई यो असमानताको खाडल पुरिँदैन भन्ने मनमा लाग्यो । घरेलु तथा साना कार्यालयको जागिर परित्याग गरिन् । १२ वर्षदेखि खाँदै आएको जागिर २०५८ मा छाडिन् । र, शुरु गरिन् डिप्लोमा हेण्डिक्राप्ट तालिम सेन्टर । २०५६ सालदेखि धरान–७ मा शुरु गरेको त्यो तालिमले महिलालाई आत्मनिर्भर बनाउन भूमिका खेलेको छ । ‘महिलालाई केही चाहिँ गर्नुपर्छ, सीप सिकाएँ भने उनीहरू दक्ष हुन्छन्, आत्मनिर्भर बन्छन् भनेर शुरु गरेँ’–उनी भन्छिन् । जब उनले यो तालिम सेन्टर चलाउन थालिन् तब उनले राष्ट्रियस्तरमा पहिचान बनाइन् । २०५९ सालमा राष्ट्रिय सम्मान प्राप्त गरिन् ।

अहिले तालिम सेन्टरबाट १ सय ७३ जना शिक्षक देशभर परिचालित छन् । सुनसरीमा मात्रै ३२ जना शिक्षक कार्यरत छन् । जसले हेण्डिक्राफ्टका विभिन्न तालिम दिन्छन् । झण्डै १० हजारभन्दा बढी महिलाले तालिम पाइसकेका छन् । ५ सयभन्दा बढीले त व्यवसाय नै सञ्चालन गरेर बसेका छन् । ‘जागिर खाइरहेको हुन्थेँ भने म एक्लैका लागि हुन्थ्यो, जागिर छाडेर अहिले महिलालाई आत्मनिर्भर बनाउन सकेको छु’–उनी गर्वका साथ भन्छिन् । कुनै बेला डम्बरकुमारी श्रेष्ठको जीवनका दौडाइहरू अन्त्यन्तै कष्टकर थिए । झापाको महाभारा गाविसमा जन्मिएकी उनले बैगनधुराबाट एसएलसी उत्तीर्ण गरिन् । तर, त्यही कालखण्डमा उनको दाहिने खुट्टा सुक्ने समस्या शुरु भयो । पोलियो रोगले सुक्न थालेको उनको खुट्टाले भरै दिएन । सानैमा बुबाआमा गुमाएर टुहुरी बनेकी श्रेष्ठलाई खुट्टाले पनि साथ नदिएपछि अर्को भार थपियो ।

तर, हिम्मत हारिनन् । त्यही हिम्मत अहिले जीवन चलाउने गोरेटो बनेको छ । फरक क्षमताकी उनले समाजलाई फरक प्रतिभाहरू उत्पादन गरिदिन सकेकी छन् । आधा आकाश ढाकेका महिलालाई आफ्नै खुट्टामा उभिने बनाएकी छन् । भलै कुनै समय समाजमा उभिन उनलाई कसैको सहारा चाहिन्थ्यो । अहिले उनी अरूको सहारा बनेकी छन् । २०४२ सालमा घरेलु कार्यालयले नै दिएको टेक्सटायलसम्बन्धी तीन महिने तालिमले उनलाई आत्मनिर्भर बन्ने बाटो खुलाइदिएको थियो । गरिबको सम्पत्ति नै सीप हो भन्ने बुझेकी उनले धरान आएपछि थुप्रै हण्डर र ठक्करको अनुभूति गरेकी थिइन् । त्यही हण्डरले जीवनलाई नयाँ गोरेटो कोर्ने अवसर जुराइदियो । उनी भन्छिन्, ‘अहिले सन्तुष्ट छु, दिदीबहिनीले गरेको देख्दा । पैसाभन्दा ठूलो चाहिँ समाज रहेछ ।’

२०६८ को जनगणनाअनुसार कुल जनसङ्ख्याको १ दशमलव ९४ प्रतिशत विशेष क्षमताको व्यक्तिहरू रहेका छन् । उक्त जनगणनाअनुसार ५ लाख १३ हजार ३ सय २१ जना शारीरिक, मानसिकलगायतका विशेष क्षमताका व्यक्तिहरू रहेका छन् । जसमा शारीरिक रूपमा विशेष क्षमताको प्रतिशत ३६ दशमलव ३ प्रतिशत रहेको छ । शारीरिक रूपमा विशेष क्षमता भएकाहरूले राज्यका लागि केही न केही भूमिका निर्भर गरिरहेका छन् । त्यसैमध्येकी सुनसरी इटहरीकी तृप्ता मगर पनि एक हुन् । फरक क्षमताकी उनी समाजमा उदाहरणीय बन्न सफल छिन् । तर, विगत सम्झिँदा उनको आँखाबाट बरर आँसु झर्छन् । जन्मेको दुई वर्षमै पोलियो भयो । दुवै खुट्टा चलेनन् । खुट्टाले भर नदिए पनि अगाडि बढ्ने रहर खुम्चिएन । इटहरी–१ की मगर अहिले आफूजस्तै पीडितहरूको सहारा बनिरहेकी छन् । व्यक्तिगत खुशीभन्दा समूहगत खुशीका लागि उनी अहिले निरन्तर सङ्घर्ष गरिरहेकी छन् । ५५ वर्षीया मगरको जन्मघर ओखलढुङ्गा भए पनि लाहुरबाट फर्किएका बुबाले साविकको हाँसपोसा गाविसको १ नम्बर वडामा बसाइँ सारे ।

समाजमा केही गर्न सक्दैनन् भन्नेका लागि उनको लोभलाग्दो प्रगति हेरेर डाह गर्नेहरू धेरै छन् अहिले । सानैदेखि केही गर्छु भन्ने आत्मबल पालेकी उनी अन्ततः सफल बनेरै छाडिन् । आफूजस्ता पनि समाजमा आत्मसम्मानका साथ बाँच्ने बनाउन उनले २०५५ सालमा नेपाल चेलीबेटी अपाङ्ग महिला सङ्घ स्थापना गरिन् । उनी भन्छिन्, ‘१६ वर्षभन्दा कम उमेरका बालबालिका, अपाङ्ग भएमा उनीहरूको जीवन सहज बनाउन संस्था स्थापना गरेकी हुँ ।’ अपाङ्गता भएकाहरूको लागि हिजोको समाज निर्दयी थियो, अहिले समाजले हेर्ने मानसिकतामा परिवर्तन हुँदै गएको छ । त्यो निर्दयी समाजलाई सम्झिँदा अहिले उनको गला अवरुद्ध हुन्छ । ‘पहिले–पहिले समाजमा अपाङ्ग मानिसलाई हेर्ने दृष्टिकोण कुण्ठित थियो, अहिले प्रायः धेरैजसो मानिसले बुझ्न थालेका छन्,’–उनी भन्छिन् । समाजमा शिक्षा नै चेतनाको त्यो दीप्ती हो जसले मानिसको जड सोचलाई परिवर्तन गरिदिने ठान्छिन् उनी ।

आत्मविश्वासले जीवनको ५५ वसन्तमा हिँडिरहेकी उनी अहिले अपाङ्गता महिलाका लागि सीपमूलक कार्यक्रम सञ्चालन गरिरहेकी छन् । त्यही सीपले अरूलाई आत्मनिर्भर बनाइरहेको छ । त्यो देखेपछि बल्ल उनको छाती गर्वले फुल्छ । आफूजस्ता पात्रहरूले गरेको प्रगतिमा उनी खुशी हुन पुग्छिन् । थाहा छैन, जीवन कुन दिशा र मोडमा गएर टुङ्गिने हो । तर, अहिलेका लागि उनी अरूको प्रेरणा बनेकी छन् । उनीजस्ता पात्रका लागि त छँदैछिन् । समाजका लागि पनि प्रेरक छिन् । नश्वर शरीरको के कुरा भो र, उनले आफ्नो जीवनको दर्शनलाई अगाडि बढाइरहेकी छन् ।

विगतमा कदमकदममा समाजले घोचपेच गरेको भुल्दै अहिले आफ्नो जीवनको दर्शनलाई बेचिरहेकी छन् । एउटै मूलमन्त्र छ, ‘आफूजस्तालाई आत्मनिर्भर बनाएर समाजमा स्थापित गराउने’ । यही एउटा सूत्रमा मुग्ध भएर लागेकै कारण अहिले समाजले उनलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन भएको छ । ‘अपाङ्गता भएका व्यक्तिले के गर्न सक्छन् र’ भन्ने वाक्य सुन्दै हुर्केकी झापा गाउँपालिका–६ शरणामतीकी यमुना खतिवडा समाजको ऐना बन्दै छिन् । शारीरिक रूपमा अशक्त भए पनि विचारमा उनी सबलाङ्ग झैं छिन् । तर, समाजको दृष्टिप्रति व्यङ्ग्य गर्ने सामथ्र्य राख्न थालेकी छन् ।

बिर्तामोड–४ स्थित तारा नमस्ते बालग्रामका नानीहरूलाई शिक्षाको ज्योति फैलाइरहेकी छन् । गाउँले उनलाई पत्याएन । तर, बाल आश्रममा उनी कम्प्युटर र अन्य शिक्षा दिइरहेकी छन् । गाउँपालिकामा धेरै पटक रोजगारीका लागि पुगिन् । तर, कसैले पत्याइदिएन । चिनजानको आधारमा बाल आश्रममा आएकी उनी आश्रमका नानीहरूलाई प्रविधि शिक्षामा पारङ्गत बनाउँदै छिन् । कन्काइ क्याम्पसमा स्नातक तहमा अध्ययरत खतिवडामा केही गर्ने हिम्मत छ । कुनै बेला सरकारी कर्मचारी भएर देशको सेवा गर्ने हिम्मत पालेकी छन् । उनी लोकसेवामार्फत् आफूलाई अब्बल सावित गर्दै जागिर खान चाहन्छिन् । ‘ममा चाहिँ केही गर्न सक्छु भन्ने छ’–उनी भन्छिन् ।

घरकी कान्छी छोरी उनले आफ्नै हिम्मतले पढिन् । त्यसमा उनलाई घरपरिवारले साथ दियो । घरदेखि ३ मिनेटको दूरीको स्कुल भए पनि शारीरिक अशक्तताका कारण उनलाई झण्डै १०–१५ मिनेट लाग्थ्यो । घरपरिवारले बोकेर पु¥याइदिन्थे । शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा आफूलाई अब्बल बनाउन लागि परिरहिन् । ‘अहिले घरपरिवार खुशी नै हुनुहुन्छ, आत्मनिर्भर भएको देख्दा उहाँहरू पनि सन्तुष्ट हुनुहुन्छ’–उनी भन्छिन् । तर, समाजले हेर्ने दृष्टिकोण अझै पूर्णरूपमा परिवर्तन नभएको देख्दा उनको मन चस्किन्छ । कहिले फेरिएला समाजको सोच ? यो अनुत्तरित प्रश्नका बावजुद पनि आफूलाई फरक रूपमा उभ्याउने प्रयासमा लागिरहेकी छन् ।

साँझबिहान आश्रममा पढाउने उनले सरकारी सेवा गर्ने चाहना राखेकी छन् । त्यो चाहनालाई साकार पार्नका लागि अहिले उनी नायव सुब्बाको तयारी गरिरहेकी छन् । विशेष क्षमता भएकाहरूलाई आरक्षण कोटा पनि छ । तर, त्यो नाममात्रैको भएको उनको भनाइ छ । ‘आरक्षण कोटा भनेर ३ प्रतिशत छुट्याएको छ, नाम मात्रैको भएको छ’–उनी भन्छिन् । यस्ता फरक क्षमताका प्रतिभालाई राज्यले पनि सम्मान गर्नेतर्फ ध्यान दिए, थप प्रगति हुन्थ्यो की ?