धरान । धरान जेसीज वर्ष २०२० का नवनिर्वाचित पदाधिकारीले धरान उपमहानगरका प्रमुख–उपप्रमुखसँग सोमबार शिष्टाचार भेट गरेका छन् ।
त्यसक्रममा धरान उपमहानगरका मेयर तिलक राईलाई सम्मान–पत्रले सम्मानित गरिएको छ । गत मङ्सिर १४ गतेको उपनिर्वाचनमा निर्वाचित बनेका मेयरलाई बधाई ज्ञापन गर्दै सम्मान–पत्र वितरण गरियो । जेसीज वर्ष २०२० का अध्यक्ष दीपेन्द्र निरौलाले सम्मान–पत्र हस्तान्तरण गरे । जेसीजले २०२० का लागि तयार पारेको वार्षिक कार्यक्रमको सूचीपत्रसमेत मेयरलाई हस्तान्तरण गरेकाे छ ।
जेसीजले सामाजिक तथा नेतृत्व विकासका कार्यक्रमहरू गर्दै आएकाले त्यस्ता कार्यक्रमहरूका लागि नगरपालिकासँग सहकार्य गरेर अगाडि बढ्ने अध्यक्ष निरौलाले बताए । त्यस्तै जेसीजले हरेक वर्ष गर्दै आएको मिस एसईईका विजेतालाई नगरले सद्भावना दूतका रूपमा काम गराउन सके फलदायी हुने उनले बताए । धरान उपमहानगरका मेयर तिलक राईले युवाहरूको नेतृत्व विकासलगायतमा जेसीजले गर्दै आएको कामको प्रशंसा गर्दै सूचीपत्रका विषयमा विषयगत छलफल गरेर अगाडि बढ्न आफू तयार रहेको बताए ।
उनले भने, ‘सूचीपत्रको विषयमा बसेर छलफल गरौँला, छलफल गर्दा नयाँ विषय पनि आउन सक्छ । तपाईँहरूसँग हामी काम गर्न तयार छौं ।’ उनले आफ्ना लागि अढाई वर्ष कम भइरहेको भनेर साेचिरहेकाे अवस्थामा जेसीजका अध्यक्षले १ वर्षको कार्यसूची ल्याएको देख्दा आफूले अढाई वर्षमा त धेरै कुरा गर्न सक्ने रहेछु भनेर हिम्मत पलाएको बताए ।
नगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले जेसीजले विधिको शासनलाई आत्मसात गरेकाे पाउँदा त्यसबाट राजनीतिककर्मीहरूले पनि सिकेमा राष्ट्रका लागि हित हुने बताइन् । शिष्टाचार भेटमा वर्ष २०२० का कार्यकारिणी समितिसहित धरान जेसीजका पूर्वअध्यक्षहरू पनि सहभागी बनेका थिए । निरौलाको अध्यक्षतामा बनेको समिति निर्वाचित भएपछि पहिलो कार्यक्रम अन्तर्गत नै शिष्टाचार भेट गरेको हो ।