धरान । तपाईँलाई धरान उपमहानगरका नगर प्रमुख तिलक राईसँग ‘कोभिड–१९’ र त्यससँग सम्बन्धित राहतलगायतका विषयमा गुनासो छ ? छ, भने अब तपाईँको गुनासो सुन्ने गरी धरान उपमहानगरले सुविधा ल्याउँदै छ ।

धरान उपमहानगरपालिकासँग नगरबासीको गुनासो सुन्ने गरी नगरले सुविधा ल्याउन लागेको हो । तर, यो सुविधा भने लकडाउनको अवधिभरि मात्रै रहने छ । अन्य समयमा भने तत्कालका लागि त्यो सुविधा नरहने भएको छ । धरान उपमहानगरले दुई दिनभित्रमा नगरबासीको गुनासो सुन्ने गरी नेपाल टेलिकम र एनसेलका दुई वटा नम्बरको सुविधा दिन लागेको हो ।

धरान उपमहानगरका नगर प्रमुख तिलक राई भन्छन्, ‘कोभिड–१९ को बेला धेरै खाल्का गुनासा, राहत सामग्री, सहयोग गर्नेलगायतमा जिज्ञासा राख्ने मन हुनसक्छ । त्यसलाई पूरा गर्नका लागि दुई वटा नम्बरको सुविधा दिन लागिएको हो ।’ उनका अनुसार प्रत्येक दिन सार्वजनिक बिदासहित १ बजेदेखि १ः३० बजेसम्म यो सुविधा प्रदान गर्न लागिएको हो । आधा घण्टामा सुनिने गुनासाहरूको आधारमा वर्गीकरण गरेर गुनासोको व्यवस्थापनसमेत गरिने भएको छ ।

‘गुनासो सुन्ने मात्रै होइन, गुनासोलाई कार्यान्वयन गर्नका लागि प्रत्येक दिन गुनासो टिपिने छ । त्यसको सुनुवाइ पनि गरिनेछ’–उनले भने । धरानमा राहत वितरण तथा सङ्कलनको क्रममा धेरै खाल्का कुराहरू आएकाले पनि नगरबासीलाई सहज रूपमा नगर प्रमुखसँग प्रत्यक्ष फोनसंवाद गर्ने वातावरण मिलाउन लागिएको हो ।

‘कतिपयको नगर प्रमुखसँग सिधै सम्पर्क गर्ने हैसियत नहुन सक्छ, उनीहरूले आफ्नो गुनासो नपु¥याइरहेको हुनसक्छ । त्यस्ताका लागि यो सुविधा ल्याउन लागिएको हो’ उनले भने, ‘राहतकै विषयमा पनि चित्त नबुझेको हुनसक्छ । अथवा कतिपयले सहयोग गर्न खोजिरहेको हुनसक्छ । त्यस्ताहरूका लागि पनि यो कार्यक्रम प्रभावकारी हुन्छ भन्ने मैले ठानेको छु ।’ उनले चाँडै नगरबासीलाई मिडियामार्फत मोबाइल नम्बरहरू उपलब्ध गराइने बताए ।