पथरीशनिश्चरे/कोरोना संक्रमण फैलिन नदिन गरिएको लकडाउनको मौका छोपेर मोरङको पथरी शनिश्चरे २ स्थित प्रगति टोलको एउटा किराना पसलमा बढी मूल्यमा सामान बेच्ने गरेको पाइएपछि पसलमा ताला लगाइएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अनुवाईको अनुगमन समिति, इलाका प्रहरी कार्यालय, पथरी उद्योग वाणिज्य संघ तथा राजनीतिक दलका प्रतिनिधि सम्मिलित टोलीले बुधबार त्यहाँ छड्के अनुगमनका क्रममा कालोबजारी गरेको पाएको हो ।

चिन्तामणि गौतमले सञ्चालन गरेको सो पसलबाट आज १ सय १० रुपैयाँ किलोग्रामको मुसुरी दाललाई १ सय ४० र ४० को सुजीलाई ४५ रुपैयाँमा विक्री गरेको भेटिएपछि टोलीले पसलमा ताला लगाएको अनुगमन् संयोजक यमुना विष्ट बाँस्तोलाले जनाइन् ।

पसल सञ्चालकलाई बढी मूल्यमा सामान नबेच्न चेतावनी दिँदै नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन गरिएको छ । अनुगमन टोलीले अत्यावश्यकीय खाद्यान्नहरूमा मूल्य बृद्धि नगर्न अनुरोध गर्दै लगातार बजार अनुगमन गरिरहेको छ ।

यसैबीच, कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको लकडाउनका कारण अति समस्यामा परेका केही छुट मजदुरहरूका लागि राहत ब्यवस्थापन गर्न नगरमा छलफल भएको छ । नगरस्तरीय राहत ब्यवस्थापन तथा वितरण समितिको बैठक बसेर छलफल गरिएको समिति संयोजक एवम नगर उपप्रमुख यमुना विष्ट बाँस्तोलाले बताइन् ।