धरान । धरान उपमहानगरका एक अधिकृतलाई धरानकाे वडा प्रहरी कार्यालयमा बुधबार रातभर राखिएको छ ।
धरान उपमहानगरका सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडालाई रातभर पुलिस हिरासतमा राखिएको हो । अधिकृत खतिवडा जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि अत्यधिक मादक पदार्थ सेवन गरेर लडेको अवस्थामा भेटिएपछि वडा प्रहरी कार्यालयमा बुझाइएको थियो । प्रहरीले उनको मापासे जाँच पनि गरेको थियो ।
प्रहरी स्रोतका अनुसार मान्छे नै पहिचान गर्न नसक्ने अवस्थामा मापासे गरेको भेटिएपछि घर पु¥याउन खोज्दा उल्टो दुव्र्यवहार गरेपछि उनलाई वडा प्रहरी कार्यालय पु¥याइएको थियो । बिहान आफन्त रहोबरमा छाडिएको छ । वडा प्रहरी कार्यालयका एक प्रहरीले भने, ‘१०–११ बजेतिर मोबाइल टोलीले लिएर आएको रहेछ । सुरक्षाको लागि ल्याएको हौं । बिहान आफन्तको रहोबरमा छाडियो ।’
के भएको थियो ?
रातको करिब साढे ९ बजेतिर अत्यधिक मादक पदार्थ सेवन गरेर भानुचौकबाट घरतिर आएका थिए । उनकाे घर धरान–१५ स्विमिङ पुललाइनमा पर्छ । घर आउने क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानभन्दा केही पश्चिम ग्यारेजको छेउको खाल्डोमा मोटरसाइकलको अघिल्तिरको चक्का पङ्चर भएपछि लडेका थिए । ‘ग्यारेज अगाडिको खाल्डोमा अगाडिको टायर पङ्चर भएर लड्नु भएकाे रहेछ, म त सुतिसकेकाे थिएँ, हाम्रा केटाहरूले मोटरसाइकल ल्याएर कार्यालयमा राखिदिएछन्, मान्छेलाई वडामा पठाइदिएछन्'–जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर अञ्जन काेइरालाले भने ।
उठ्न नसक्ने गरी पिएका उनी लडिरहेकै अवस्थामा जिल्ला ट्राफिक प्रहरी कार्यालयका एक जवानले उठाउने प्रयास गरेका थिए । ती जवानले अधिकृत खतिवडालाइ चिनेका कारण घर पुर्याइदिने प्रयास गरेका थिए । जान नमानेपछि ती जवानले मान्छेले देखे ‘लाज हुन्छ’ भन्दै ट्राफिक प्रहरी कार्यालयभित्र लाने प्रयास गरेका थिए । अधिकृत खतिवडाले उल्टो ट्राफिक जवानमाथि नै दुव्र्यवहार गरेका थिए । अचेत हुने गरी पिएका कारण उठ्न नसकेर उल्टो जथाभावी हात छाडेका थिए । त्यसपछि ट्राफिक प्रहरीले नै वडा प्रहरी कार्यालयलाई जिम्मा लगाएको थियो । वडा प्रहरी कार्यालयमा पु¥याएपछि आफन्तलाई बोलाएर जिम्मा लगाउने प्रयास पनि गरिएको थियो । उनको छोरो उनलाई लिन पुगेका थिए । तर, छोरालाई नै नचिन्ने अवस्थामा रहेका अधिकृत खतिवडालाई बाध्य भएर प्रहरीले हिरासतमा राख्नु परेको थियो ।
हिरासतमा राख्ने तयारी गरिएपछि भने उनको मापासे जाँच गरिएको थियो । प्रहरी स्रोत भन्छ, ‘मान्छे चिन्नै नसक्ने अवस्थामा भेटिएका थिएँ। ट्राफिक जवानमाथि नै दुव्र्यवहार गरेपछि बाध्य भएर वडा लानु परेको हो । आफन्तलाई बोलाएर जिम्मा पनि लगाउन खोजिएको थियो । तर, त्यो पनि सम्भव भएन ।’ अन्तिममा केही जोड नलागेपछि मापसे जाँच गरेर हिरासतमा राखिएको हो । अधिकृत खतिवडाको मोबाइल फोन बिहान अबेरसम्म पनि स्वीचअफ रहेको पाइएको थियो । खतिवडाले कहाँ र कोसँग मापासे गरेका थिए भन्ने चाहिँ हालसम्म खुल्न सकेको छैन ।