विराटनगर/महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लकडाउन गरे पनि मोरङमा केही ठूला आयोजना संचालनमा छन् । लकडाउनको बेला कोरोना भाइरसबाट बच्न सावधानी अपनाएर विकासका ठूलो योजनाहरू संचालनमा आएको हो ।
मोरङको उर्लाबारी–१ स्थित निर्माणधीन मिक्लु खोलाको पुल र किसानचौक टाढी रमिते–आइतबारे सडक निर्माण कार्यले निरन्तरता पाएको छ । कोरोना भाइरसबाट बच्न उच्च सर्तकता अपनाउँदै बाहिरी आवतजावतलाई रोक लगाउँदै कमदारलाई काममा लगाएका छन् । उर्लाबारी देखि मिक्लाजुङ्ग हुदै पाँचथरको रबि जोड्ने सडक र मिक्लु खोलाको पुल निर्माणको काम धमाधम भइरहेको छ । लकडाउनले सुरुका केही दिन समस्या आए पनि अहिले सरकारी निकायले समेत सहयोग गरेकाले निर्माण कार्यलाई निरन्तरता दिइएको पुलको ठेक्का लिएको महाविर किरातेश्वर जेबीका अनिल कुमार मण्डलले जानकारी दिए ।
०७८ वैशाखसम्म पुल निर्माण पुरा गरि प्रदेश सरकारलाई हस्तान्तरण गरिने योजना अनुरूप अहिले काम भएको उनले बताए । तोकिएको समय अवधि भित्रमा पुल निर्माण पूरा गरिने उनको भनाई छ । ‘त्यही भएर पनि अहिले हामिले कोरोना भाइरसबाट बच्न विशेष सावधानी अपनाएर पुल निर्माणको काममा श्रमिक लगाएर कामलाई अगाडी बढाएका छौं,’ उनले भने, ‘स्थानिय श्रमिकलाई काममा लगाएर लकडाउनको समयमा पनि काम गरिएको हो ।’ उनका अनुसार हालसम्म पुलको ३० प्रतिशत निर्माण पूरा भएको जानकारी दिए ।
पुलको ‘अपस्टिेन’ र ‘डाउन स्टिेप’ को कटपको काम सकिएको छ । मंगलबार मात्र पुल भुई ढलाइ भएको छ । १ नं. प्रदेश सरकारले निर्माण गरेको उक्त पुलको कूल लागत ७ करोड ३४ लाख रुपैयाँ रहेको छ । पुलको ९२.८ मिटर लम्बाइ र साँढे १० मिटर चौडाइ छ । यस्तै किसानचौक – टाँढी, रमिते, आइतबारे सडक निर्माणको काम पनि अहिले चलिरहेको पूर्वाधार विकास मन्त्रालय प्रदेश १ का इन्जिनियर राजेश्वर महतोले जानकारी दिए । सरकारको लकडाउनको नियमलाई पूर्ण रूपमा पालना गराउँदै विशेष सावधानी अपनाएर ठूला विकासको योजनाहरूको काम भइरहेको उनले बताए ।
लकडाउनको बेला पनि किसानचौक, टाँढी रमिते– आइतबारे सडक निर्माणको काम अहिले पनि धमाधम भइरहेको त्यहाँ स्थानिय कामदारले काम गरिरहेको भिमेश्वर कम्पनीका निर्देशक सहदेव खड्काले जानकारी दिए । उक्त सडक साढे २० किलोमिटरको ठेक्का भिमेश्वर कम्पनीले ५८ करोड ५६ लाखमा ठेक्का पाएको हो । २०७६ मंसिर ७ गते प्रदेश १ सरकारसँग सम्झौता भइ काम सुचारू गरेको छ । ०७८ मंसिर ६ गते सडक निर्माण पूरा गरि प्रदेश सरकारलाई हस्तान्तरण गरिने उनको भनाई छ । ‘अहिलेसम्म २२ प्रतिशत काम पूरा भएको छ,’ उनले भने, ‘असार मसान्तसम्म ४० प्रशित काम पूरा हुनेछ । सम्झौता अवधिमा सडकको निर्माण पूरा गरि सरकारलाई हस्तान्तरण गर्नेछौं ।’ उनका अनुसार अहिले साइट किलियरको काम भइरहेको छ । अहिले लकडाउनका कारण बिहानदेखि साझसम्म काम हुने गरेको बताए ।
प्रदेश सभा सदस्य कुल प्रसाद साम्बाले नेपाल सरकारको लकडाउनको नियमलाई पूर्ण रूपमा पालना गर्दै मोरङसहित प्रदेशमा विकास निर्माणको काम भइरहेको बताए । ‘अहिले ठूला योजनाहरूको काम भइरहेको छ,’ उनले भने, ‘पछि बर्खाको समयमा पुल निर्माणमा अवरोध पुग्ने भएकोले अहिले मिक्लु खोलाको पुल र सडक निर्माणमा लकडाउनको समयमा पनि सावधानी अपनाए काम गर्ने बातवरण तय गरिएको हो ।’ प्रदेशसभा सदस्य साम्बाले पुल निर्माण भएपछि यहाँका स्थानियलाई राहत हुने बताए । पुल बनेपछि बाढी आएपछि स्थानियलाई आवतजावतमा समस्या नहुने उनले बताए । बन्दै गरेको सडक र पुल साम्बाको निर्वाचन क्षेत्र हो । आफ्नो कार्यकालमा किसानचौक टाढी रमिते– आइतबारेसम्मको टूलेनको सडक र मिक्लु खोलामा पूल निर्माण पुरा हुने प्रदेश सभा सदस्य सम्बाको भनाई छ ।