बिर्तामोड । कोरोना संक्रमणका कारण लक डाउन लम्बिएसँगै घर फर्किने क्रम बढेपछि यतिबेला हरेक ठाउँँ जोखिममा छ । स्थानीय तहले आफ्नो क्षमताले भ्याएसम्म नियन्त्रण गर्ने प्रयास जारी राखेका छन् । उनीहरुको प्रयासका बावजुद पनि कोरोना संक्रमण बढ्ने क्रम रोकिएको छैन ।

सिमा लक गरिएको भएपनि झापामा दैनिक सयौ मानिस अन्य जिल्लाबाट प्रवेश गरिरहेका छन् । बाहिरका जिल्ला मात्र होइन एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा समेत आवत जावत गर्न सरकारले रोक लगाएको यो बेला झापाको अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले भने प्रभावकारी रुपमा कार्य सम्पादन गर्न सफल भएको छ । कुनै पनि अवस्थामा संक्रमण फैलिन नदिने अभियानमा सक्रिय रहेको नगरले जनाएको छ ।

नगर स्वास्थ्य शाखाले कुनै बिषेश काम परेको अवस्थामा बाहेक मानिसलाई नगरपालिकामा भित्रिन कढाईका साथ रोक लगाएको छ । ‘नगरमा बाहिरबाट मानिस आएको अवस्थामा उहाँहरुको घरमा पुगेर आएकै ठाउँमा फर्किन भन्छौ’ स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले भने–‘उहाँहरुलाई आएकै स्थानमा फर्किन असहज छ भने घरलाई लक गर्छौं, परिवारलाई नयाँ मान्छेको सम्पर्कमा नजान र छिमेकीलाई त्यो घरमा आवत जावत नगर्न सुझाव दिन्छौं ।’

त्यतिमात्र होइन लक्षित मान्छे घर बाहिर निस्केको देखेको अवस्थामा छिमेकीले प्रहरीलाई फोन गरेर जानकारी गराउने गरेको बस्नेतले बताए । स्वास्थ्य शाखाले काम गर्न श्रोत साधनको कुनै कमी नभएको बताएको छ । लक डाउन भएसँगै मेयर हरिकुमार रानाले प्रयोग गर्दै आएको सवारी साधन स्वास्थ्यलाई उपलब्ध छ । मेयर रानाले मोटरसाइकलमा चढेर आफ्नु कार्यसम्पादन गर्दै आएका छन् । स्वास्थ्यलाई आवश्यक बजेट र क्षमता अनुसारको उपकरण उपलब्ध गराउन कुनै कसर बाँकी नराखेको मेयर रानाको भनाई छ ।

चैत्र ११ गतेदेखि १ सय १० बर्ग किलोमिटर क्षेत्रफल रहेको अर्जुनधारा नगरपालिकाको हरेक टोलमा बस्नेतको टोली पुगेको छ । टोलमा कोही नयाँ मान्छेको प्रवेश भएको अवस्थामा आफुलाई जानकारी दिन अनुरोध गरेको छ । ‘सबैले फोन गर्नुहुन्छ, मोवाइल उठाउन भ्याइ, नभ्याइ हुन्छ, होम क्वारेन्टाइनको नियम उल्लंघन गरेको, नयाँ मान्छे आएको र होम क्वारेन्टाइनबाट मुक्त गरिदिने समय पुरा भएको सुचना दिनेको टेलिफोन उठाउँदैमा ब्यस्त हुनुपर्छ, बस्नेतले भने–‘त्यतिमात्र नभएर होम क्वारेन्टाइनमा बस्दा खाद्यान्न संकट भए हामी सो अवधिलाई पुग्ने गरी खाद्यान्न पनि उपलब्ध गराउँछौं ।’ भन्छन–‘मानवता पनि त राख्नुपर्यो ।’

बस्नेतलाई प्रहरी चौकी शनिश्चरेले यथेष्ट सहयोग गरेको छ । चौकीले लकडाउन भएसँगै दुइजना प्रहरी बस्नेतसँगै खटाएको छ । उनीहरु बिहान ७ बजेदेखि रातको ८ बजेसम्म अनुगमनमा नगरभरी दौडिरेहका देखिन्छन् । होम क्वारेन्टाइनमा बसेका कतिपय झगडा गर्न खोज्छन भने कतिपयले बस्नेतको टोलीलाई धन्यवाद दिने गरेका छन् । ‘अरुभन्दा पनि स्थानीय धेरै सचेत छन्, बस्नेतले भने–‘कोही नयाँ मान्छे आएको देखेभने तुरुन्त हामीलाई फोन गर्ने गरेका छन् ।’

नगरमा ५ जना चिकित्सकको दरबन्दी रहेको छ । यस नगरका स्थानीय बिरामी भएको अवस्थामा घरमै चिकित्सकको सेवा पाउँने ब्यवस्था मिलाएको बस्नेतले बताए । ‘कोही बिरामी भए हामीलाई फोन गर्छन्, हामी चिकित्सक र औषधी घरमै पठाइदिने गरेका छौं,–बस्नेतले भने ।

नगरपालिकाले बाहिरबाट नगर प्रवेश गर्ने मुख्य नाका बिर्तामोडको मुक्तिचोकमा बैशाख १३ गतेदेखि हेल्प डेस्क राखेको छ । अर्जुनधारा प्रवेश गर्ने जो सुकैले हेल्प डेस्कमा सम्पर्क गर्नुपर्ने हुन्छ । सोही स्थानमा उनीहरुलाई खाजा खाने ब्यवस्था हुन्छ । त्यसपछि नगरको सवारी साधनले घरसम्म पु¥याउछ । र दुई सातासम्म घर बाहिर ननिस्कन आग्रह गर्दै घरलाई शिल गर्ने गरेको छ ।

लक डाउन शुरु भएसँगै नगरपालिकाले होम क्वारेन्टाइनको अवधारणा शुरु गरेको थियो । अर्जुनधारामा मात्र २ सय ५० भन्दा बढीलाई होम क्वारेन्टाइनमा राखिएको छ । केही क्वारेन्टाइन समय गुजारेर मुक्त भएका छन् ।

नगरको स्वास्थ्य शाखामा हालका लागि आवश्यक श्रोत साधन भएपनि मास्क र ग्लोब्स अभाव हु्ने समय आएको जनाइएको छ । नगरले अर्जुनधारा ४ मा रहेको स्वास्थ्य केन्द्रमा क्वारेन्टाइन बनाएको छ । सो स्थानमा १७ मध्ये १२ जनाले तोकिएको अवधि पुरा गरेर मुक्त भइसकेका छन् भने अहिले ५ जना छन् । उनीहरुको थ्रोट स्वाब परीक्षणका लागि बिराटनगरमा रहेको कोरोना बिषेश अस्पतालमा स्याम्पल पठाइएको बस्नेतले बताए ।

नगर प्रमुख रानाका अनुसार अहिले पनि १ हजार भन्दा धेरै मान्छे नगर बाहिर रहेको हुनाले तिनिहरुलाई फर्काउनु परेको बेला राख्नु पर्ने भएकाले शनिश्चरे माविमा थप ५० बेडको क्वारेन्टाइन निर्माण गरिएको छ ।