ताप्लेजुङ /  ताप्लेजुङमा गत शुक्रबार राती भएको आगालागी भएको क्षेत्रमा संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई पुगेका छन् । आइतबार विहान ताप्लेजुङ आएका मन्त्री भट्टराईले आगलागी प्रभावित क्षेत्रको अवलोकन गरेका हुन् ।

ताप्लेजुङ जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री भट्टराइले अनुगमन पछि स्थानीय सरोकारवालासँग छलफलसमेत गरेका थिए । उद्योग वाणिज्य संघको सभाहलमा भएको छलफलमा मन्त्री भट्टराईले ताप्लेजुङलाई आगालागी, बाढी, पहिरोसहित प्राकृतिक जोखिमलाई न्यूनिकरण गर्न सरकारले विषेश कार्यक्रम ल्याउने बताए ।

उनले अहिले भएको आगलागी पछि पुनस्र्थापना र अन्य राहत सहयोगमासमेत आफ्नो तर्फवाट आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । मन्त्री भट्टराईले ताप्लेजुङ भौगोलिक हिसावले बाढि पहिरो, आगलागी जस्ता विपद्का घटनाको उच्च जोखिममा रहेकाले सतर्क हुनुपर्नेमा जोड दिए ।
यता आगलागि पीडितहरुले भने सरकार समक्ष बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण मिनाहा गरिदिन आग्रह गरेका छन् ।

पुनः घर तथा व्यवसाय सुरु गर्दा सहुलियत व्याजमा ऋणको व्यवस्था, कर छुटको व्यवस्था र नगरक्षेत्रमा दमकलको थप व्यवस्था गर्नसमेत माग गरेको आगलागि पीडित योगेन्द्रकुमार गुरुङले जानकारी दिए ।
यसैविच विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले ताप्लेजुङमा आगलागीका घटना दोहोरिरहनु दुखद भएको भन्दै यस प्रकारका घटनाको न्युनिकरणमा सबैले ध्यान दिनुपर्ने बताए ।

शुक्रबार भएको आगलागीबाट यहाँका साना ठूला गरि १० वटा घरमा क्षति पुगेको थियो भने २९ परिवार विस्थापित बनेकाछन् । यस्तै ७ करोड ६५ लाख बढिको क्षति भएको अनुमान गरिएको छ । हेलिकप्टर मार्फत विहान काठमाडौंबाट ताप्लेजुङ आएका मन्त्री भट्टराईसहितको टोलीले सुकेटार विमानस्थलको धावन मार्गको अवलोकन गरेको थियो ।