धनकुटा/संखुवासभा जिल्लाको पाँचखपन नगरपालिकाका नेकपा नगर कमिटिमा आवद्ध नेता तथा कार्यकर्ताहरुले अति विपन्न एवं श्रमजिवी मजदुरहरुलाई वितरण गर्ने गरी नगरपालिकालाई आईतवार राहात हस्तान्तरण गरेका छन् ।

पाँचखपन नगरपालिकाका प्रमुख विपिन राई र उप–प्रमुख भिमादेवी राईलाई नेकपा नगर कमिटिको तर्फबाट १ लाख, ६ सय, ४० रुपयाँ वरावरको राहात स्वरुप ७४ बोरा चामल खरिद गरेर हस्तान्तरण गरेको सचिवालय सदस्य भिमवहादुर तामाङले जानकारी दिए । चामल खरिद गर्न पाँचखपन नगर कमिटिका पदाधिकारी एवं सदस्यहरु र अन्य नेकपामा आवद्ध नेता तथा कार्यकर्ताहरु जम्मा ३५ जनाले स्वइच्छाले नगद संकलन गरी चामल खरिद गरि हस्तान्तरण गरिएको सचिावालय सदस्य तामाङले वताएका हुन् ।

राहात विरतण कार्यक्रममा नगर प्रमुख विपिन राई, उप–प्रमुख भिमादेवी राईलाई नेकपा पाँचखपन नगर अध्यक्ष कर्ण राई, सचिवालय सदस्य भिम वहादुर तामाङ, दुर्गा निलम श्रेष्ठ लगायतले संयुक्त रुपमा प्रदान गरेका थिए । उनीहरुले लकडाउनको कारण विपतमा परेको नगर क्षेत्रका मजदुर, श्रोत विहिन र अति विपन्न वर्गलाई प्रदान गर्ने गरी राहात प्रदान गरिएको जनाएका छन् । नगरपालिकाले पनि एकद्धार प्रणालीबाट नगर क्षेत्रमा तोकिएको वर्गलाई राहात वितरण गर्दै आएको जनाएको छ ।

panchkhapan_sankhuwasava (2)