धनकुटा । नोवेल कोराना भाईरसलाई नियन्त्रण गर्न सरकारले आवतजावतमा रोक लगाउँदै लकडाउन लगाए पछि आमनागरिक रोजगार बिहीन भएका छन ।
यस्तो अवस्थामा संकटमा परेका आम नागरिकरुलाई स्थानीय तहहरुले राहत वितरण गर्दै आईरहेकोछ । यसै क्रममा धनकुटा नगरवासीहरुलाई राहत वितरणमा सहयोग पुगोस भन्ने उदेश्यका साथ वितरक संघ धनकुटा–१ हिलेले आईतवार धनकुटा नगरपालिकालाई ५१ हजार रुपैया सहयोग गरेका छन् ।

सो रकम एक कार्यक्रमका वीच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङलाई एक समारोहका विच वितरक संघका अध्यक्ष तथा धनकुटा उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्णराज श्रेष्ठले ५१ हजारको चेक हस्तान्तरण गरेका हुन ।

सो अवसरमा उपप्रमुख सकुन्तला बस्नेत, वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई, निर्वतमान अध्यक्ष उमेश घिमिरे, वितरक संघका सचिव दिजेश शाक्य, लगायतको सहभागीता रहेको थियो । सो अवसरमा नगर प्रमुख चिन्तन तामाङ नगरबासीलाई वितरण गरिरहेको राहत वितरणका बारेमा जानकारी दिएका थिए ।

उनले संघले दिएको सहयोग रकम गरिब, असहाय तथा विपन्न परिवारहरुलाई राहत वितरण गर्न उपभोग गरिने जानकारी दिए । उनले आगामी दिनमा नगरका विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै सहयोगका लागी वितरक संघलाई धन्यवाद दिएका थिए ।