भण्टाबारी । लकडाउनका कारण सुनसरीमा भारतसँग सीमा जोडिएका नाकाहरू बन्द भए पनि तस्करी रोकिएको छैन । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेको अवस्थामा नेपाल–भारतबीचको खुल्ला सीमाको फाइदा उठाउँदै हुने तस्करीले भाइरस फैलिनसक्ने जोखिमलाई झनै बढाएको छ । विगतको तुलनामा सीमामा सुरक्षाकर्मीको उपस्थिति बढे पनि लकडाउनको समयमा तस्करी नरोकिनुले जोखिम झनै बढेको हो ।
सुनसरीको विभिन्न सीमा नाका हुँदै तस्करी भइरहेको समाचार ब्लाष्ट टाइम्समा प्रकाशित भएपछि सुनसरी प्रहरीले त्यसलाई रोक्न सक्रियता देखाएको छ । समाचार प्रकाशित भएदेखि सुनसरी प्रहरीले नियमितरूपमा सुर्ती, मदिरा, कपडा नियन्त्रणमा लिन थालेको पाइएको छ । सोही क्रममा सुनसरी प्रहरीले भारततर्फ डुङ्गामा लाँदै गर्दा ठूलो परिमाणमा मदिरा नियन्त्रणमा लिएको छ ।
नेपालबाट भारतीय बजारतर्फ लैजाँदै गरेको उमङ्ग लेखिएको रक्सी जिल्लाको कोशी ब्यारेजबाट नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ । कोशी गाउँपालिका–८ स्थित कोशी ब्यारेजका ३५ वर्षीय गोपाल नायकले कार्टुनमा प्याक गरी डुङ्गामा राखी भारततर्फ लैजाँदै गर्दा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको सादा पोसाकको विशेष टोलीले बिहीबार राति ४४ हजार १ सय रुपैयाँ बराबरको ४९ कार्टुन उमङ्ग मदिरा नियन्त्रणमा लिएको हो ।
त्यसैगरी भारतीय बजारबाट नेपालतर्फ भन्सार छली अवैधरूपमा ल्याइएको ६० हजार बराबरको १२ बोरा सुर्ती समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाएको सुनसरी प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तस्करी गराउने केही व्यक्ति भने भागेको बताइएको छ ।
जिल्लाको विभिन्न सीमावर्ती क्षेत्र हुँदै भारतको बिहारतर्फ मदिरा तस्करी हुँदै आएको छ । बिहारमा मदिरा बेचबिखन तथा सेवन गर्न प्रतिबन्ध लगाएदेखि नेपालबाट मदिरा तस्करी हुने क्रम बढेको हो ।
भारततर्फ तस्करी गराउने उद्देश्यले नेपालको सीमावर्ती क्षेत्रहरूमा मदिरा पसल सञ्चालन गरेर बसेका कतिपय पसलेहरूले कम गुणस्तरका मदिरा लुकिछिपी बिक्री गर्दै आएको समेत पाइन्छ । लकडाउनको समयमा सीमावर्ती क्षेत्रका मदिरा पसल सञ्चालकहरूले दिनमा स्टक गरेर मदिरा राख्ने र रातको समयमा सीमा कटाउने गरेका छन् ।