पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा समेत कोरोना भाइरस संक्रमणको जोखिम अझै कम भइनसकेको ठहर गर्दै भदौ ७ गतेसम्म बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय भएको छ ।
पथरी शनिश्चरे नगर कार्यपालिका र कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिको आइतबारको संयुक्त बैठकले साउन २३ गते रातीदेखि गरिएको लकडाउन भदौ ७ गतेसम्म जारी राख्ने निर्णय भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । साउन २३ गते राती १२ बजेदेखि साउन ३२ गते राती १२ बजेसम्मलाई गरिएको लकडाउन अझ बढी स्वास्थ्य सतर्कता अपनाउँदै भदौ ७ गते राती १२ बजेसम्म थप भएको छ । अन्य छिमेकी पालिकाहरुले समेत लकडाउन बढाएपछि कोरोना संक्रमणबाट जोगिन लकडाउनको अवधि बढाउन सहमति कायम भएको हो ।
नगर प्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समिति संयोजक दिलीपकुमार राईको अध्यक्षताको बैठकले लकडाउनको समयमा अत्यावश्यकीय खाद्यान्न, सागसब्जी, फलफुल, दुग्धजन्य पदार्थ विहान ६ बजेदेखि विहान ९ बजेसम्म मात्र खुला राख्ने अघिल्लो निर्णयलाई यथावत गरेको छ । कोरोना सर्नसक्ने जोखिमका कारण सागसब्जी तथा फलफूलहरु यस पालिकाभन्दा बाहिरबाट खरिद नगर्ने समेत निर्णय भएको छ ।
यसका साथै अत्यावश्यक कामका लागि बैंक तथा वित्तिय संस्थाहरु विहान १० देखि दिउँसो १ बजेसम्म सञ्चालनको समेत निर्णय भएको छ । पसलमा तथा बैंक तथा वित्तिय संस्थामा कम्तिमा डेढ मिटरको सामाजिक दूरी कायम गरी अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्नुपर्ने, हातमा ग्लोब लगाउनु पर्ने उल्लेख गरिएको छ । निश्चित समयावधिमा खुला गर्ने भनिएका बाहेकका अन्य बजार, पसल तथा अन्य कार्यालय भनें पूर्णरुपमा वन्द रहने छन् ।
साथै अस्पताल, क्लिनिक, औषधि पसल, एम्बुलेन्स, सववाहन, पानी बोक्ने गाडी भनें खुला नै रहने निर्णय भएको छ । नगरपालिका कार्यालय, वडा कार्यालयका प्रशासनिक सेवा सहित सरकारी तथा गैरसरकारी कार्यालय, यातायातका सम्पूर्ण साधन र बैंक तथा वित्तीय संस्था वन्द रहनेछन् ।
कोरोना संक्रमण हुन नदिन छुट्टै क्वारेन्टिन रहेको र आवश्यक परेको खण्डमा नगरले अस्पतालमा आइसोलेसनको व्यवस्था समेत गर्ने भएको छ ।
हालसम्म वन्द नै रहन सरकारले सूचित गरेका शैक्षिक संस्था, होटल, रेष्टुरेन्ट, लज, जिमखाना, व्यूटिपार्लर, फिल्म हल, धार्मिक तथा पर्यटकीयस्थलहरु पूर्ण वन्द नै राख्नु पर्ने निर्णय भएको छ ।
लकडाउनको समयमा ७० वर्षमाथिका ज्येष्ठ र १२ वर्षमुनीका बालबालिकालाई घर बाहिर ननिस्किन विशेष अनुरोध समेत गरिएको छ । लकडाउनको उल्लंघन गर्ने र मास्क नलाउनेलाई प्रहरीले जरिवाना समेत गर्ने प्रहरीको परिपत्र छ ।
नगर प्रमुख तथा कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिका संयोजक राईले लकडाउनको समयमा घरबाहिर ननिस्किइ आफु पनि बाँच्न र अरुलाई बचाउन आव्हान गरेका छन् ।
नगरमा हालसम्म ४ सय ५३ जनालाई क्वारेन्टिनमा राखिएकोमा ४ सय ४३ जनाको पीसीआर परीक्षण भइसकेको छ । जसमा, एकजना भारतीय नागरिक सहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमध्ये ५ जना निको भएर घर फर्किसकेका छन् । हालसम्म क्वारेन्टिनमा रहने तथा जनप्रतिनिधि र समुदायका गरी ६ सय ९६ जनाको पीसीआर परीक्षण भइसकेको छ ।