विराटनगर । १ नम्बर प्रदेशमा सोमबार एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

४ जनाको होम आइसोलेशनमा र १३ जनको मोरङ र सुनसरीको कोभिड अस्पतालहरूमा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । मृत्यु हुने १३ जना पुरूष र ४ जना महिला रहेका छन् ।

प्रदेश १ मा सोमबार मृत्यु हुने अहिलेसम्मको उच्च हो । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगरस्थित नोबेल टिचिङ्ग हस्पिटलको आइसोलेशनमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै कोशि अस्पतालको कोभिड उपचार केन्द्रमा ३ जना, विराट टिचिङ्ग हस्पिटलको कोभिड अस्पतालमा २, न्युरो कोभिड अस्पतालमा १ र धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा एक जना कोरोका संक्रमितको उपचारको क्रमममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार सोमबार मृत्यु हुनेमा सबैभन्दा बढी झापाका रहेका छन् । झापाका ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चार पुरुष र दुई जना महिला गरि झापाका ६ जनाको मृत्यु भएको छ । यस्तै मोरङका पाँच पुरुष, सुनसरीका दुई जान, उदयपुरको दुई जना, धनकुटा र तेह्रथमुका १ ÷१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोमबार सम्म प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु हुने संख्या २ सय ६२ जना पुगेको छ । जसमध्ये १ सय ८१ जना पुरुष र ८१ जना महिला रहेका छन् । मृत्यु हुने मध्ये प्रदेश १ का स्थायी बसोबास गर्ने २ सय ४१ जना रहेका छन् ।