विजयपुर / कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शवलाई धरानको खत्रीधारामा जलाउन स्थानीयले रोक लगाएका छन् ।
धरान–१५ खत्रीधारा क्षेत्रका स्थानीयवासी कोरोना भाइरसका कारण मृत्यु भएकाको शव व्यवस्थापन गर्दा त्यहाँ आसपासका स्थानीयलाई समस्या हुने भन्दै सडकमै उत्रिएका थिए ।
स्थानीय सडकमा उत्रिएपछि खत्रीधारामा शव व्यवस्थापन नगरिएको धरान उपमहानगर स्वास्थ्य महाशाखाका वरिष्ठ कविराज रामबाबु यादवले जानकारी दिए ।
उनले पहिले नै विवाद भएकाले शव प्रतिष्ठानमै रहेको बताए । स्थानीयको अवरोधपछि व्यवस्थापन गर्न गएका सबै पक्ष फर्किएको उनले बताए । ‘अब सल्लाह गरेर आइतबार जङ्गलमा शव व्यवस्थापन गरिनेछ’–उनले भने ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्प्पतालमा उपचारको क्रममा धरान–१६ का ४१ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो । उनको शवलाई व्यवस्थापन गर्न स्थानीयले अवरोध गरेका हुन् ।
शुक्रबार कोरोना सङ्क्रमणबाट मृत्यु भएको एउटा शवलाई असुरक्षित तरिकाले व्यवस्थापन गरेको भन्दै स्थानीयले अवरोध गरेका थिए । उनीहरूले असुरक्षित तरिकाले शव जलाउँदा सो क्षेत्रका बालबालिका र वृद्धवृद्धाको मनोविज्ञानमा गम्भीर असर पर्ने भन्दै अवरोध गरेका थिए ।
साथै खत्रीधारा क्षेत्रमा खानेपानीको मुहान भएकाले पनि सङ्क्रमितको शव जलाउन नहुने उनीहरूको भनाइ थियो । शव जलाउने विषयमा विवाद भएपछि धरान उपमहानगरपालिकाका मेयर तिलक राई पनि खत्रीधारा पुगेर स्थानीयलाई सम्झाएका थिए ।
दाहसंस्कार स्थलमा झडप हुने अवस्था भएपछि प्रहरीसमेत परिचालन गरिएको थियो तर, स्थानीयवासी निरन्तर विरोधमा उत्रिएपछि शव ल्याइएन ।
शव व्यवस्थापन गर्न कम्तिमा ४ जना पीपीईसहितका स्वास्थ्य सामग्री लगाएका भएमा आफन्तलाई व्यवस्थापन गर्न दिने र नभएमा नेपाली सेनाले गतवर्षजस्तै व्यवस्थापन गर्नुपर्ने नेपाल सरकारको मापदण्ड रहेको छ । तर, शुक्रबार कुनै स्वास्थ्य सामग्री नलगाई व्यवस्थापन गरेपछि स्थानीयले अवरोध गरेका हुन् ।