विराटनगर । खोलाहरुबाट अवैध रुपमा गिटी बालुवा उत्खनन् गर्ने क्रममा नियन्त्रणमा लिइएका ट्रयाक्टरलाई विराटनगर महानगरपालिकाले सामान्य धरौटिमा छाडिदिंने गरेको छ । यहि खुकुलो व्यवस्थाको फाईदा उठाउँदै त्यस्ता साधन पुनः तस्करी धन्दामा लगाउने गरेको पाइएको छ ।

विराटनगर–१४ जतुवास्थित सिङ्घिया खोलामा अवैध रुपमा उत्खनन्मा प्रयोग भएका दुईवटा सवारी साधनलाई इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरि आवश्यक कारवाहीको लागि विराटनगर महानगरपालिका आइतबार पठाएको छ । विराटनगर–१४ का जोगी यादव र बुद्ध यादवको को २ त ७९३ र को २ त ५३७२ नंं. ट्याक्टर खोला अवैध उत्खनन् गरेको पाइएपछि महानगरपालिकाले आर्थिक ऐन २०७८ अनुसार जनही १०/१० हजार रुपैयाँ जरिवाना तिरेपछि आइतबार छोडेको छ । यसअघि पनि विराटनगरको सिङ्घिया र केसलिया खोलामा अवैध उत्खनन्को क्रममा प्रहरीले पक्राउ गरि को १ त ४४५३ र को १ त ६०१८ नम्बरको ट्याक्टर जरिमाना गरि महानगरपालिकाले छोडेको थियो ।

यसरी महानगरपालिकाले बस्ती नै जोखिममा हुने गरि उत्खनन्मा प्रयोग भएका साधनलाई सामान्य जरिमाना तिराएर सम्झाइ बुझाइ छाडेपनि उनीहरु पुन: महानगरपालिकालाई तिरेको जरिमाना रकम असुल्न फेरी अवैध रुपमा खोला उत्खनन्मा लाग्ने गरेको पाइएको हो ।

यसरी चालु आर्थिक वर्षको फागुन  १५ गतेसम्म २८ वटा ट्याक्टर पटकेमा कारवाही गरेको महानगरपालिकाको अभिलेखमा देखिन्छ । अवैध उत्खनन्मा प्रयोग भई पटकेमा परेका साधनलाई दोब्बर जरिमाना गरिने गरेको महानगरपालिका नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

‘नगर परिषद्बाट पारित भएको आर्थिक ऐन २०७८ अनुसार अवैध उत्खनन्मा प्रयोग भएका सवारी साधनहरु अहिले कारवाहीको दायरामा ल्याउने गरेका छौं,’ उनले भने, ‘दोस्रो पटक कारवाहीमा परे दोब्बर र तेस्रो पटक परे तेब्बर राजस्व लिने गरिएको छ ।’ चालु आर्थिक वर्षको फागुन १५ गतेसम्म खोला उत्खनन् निन्यन्त्रणबाट ३ लाख ३० हजार रुपैयाँ जरिमाना असुल गरेको उनले बताए । आर्थिक वर्ष २०७७/०७८ मा ४० वटा ट्याक्टर कारवाहीमा गरि ४ लाख १ हजार रुपैयाँ जरिमाना गरिएको महानगरपालिकाको अभिलेखमा देखिन्छ ।

khola-uuuuththht

स्थानीय तहहरूले नदीमा अवैधरूपमा उत्खनन् गराइरहेका ट्याक्टरलाई नियन्त्रणमा लिई जरिमाना असुल गर्ने र छाड्ने प्रवृतिका कारण विराटनगरका खोलामा नदीजन्य पदार्थ उत्खनन् जारी रहेको स्थानीय पूर्ण बहादुर खड्काले बताए । महानगरपालिकाले दोस्रो पटक भेटिएमा पहिलो पटकको जरिमानामा ५० प्रतिशत थप गरी लिने र तेस्रो पटक भेटिएमा सय प्रतिशत र चौथो पटक भेटिएमा गाडी जफत गर्ने जनाएको छ ।

खोलाजन्य वस्तु निकासीमा रोक लगाए पनि विराटनगरका सिङ्घिया र केसलिया खोलाबाट बालुवा उत्खनन् अझै रोकिएको छैन । सिङ्घिया र केसलिया खोलाहरूमा नदीजन्य पदार्थहरू उत्खनन् भइरहेको स्थानीयहरू बताउँछन् । यसरी जथाभावी रुपमा खोला उत्खनन् हुँदा बस्ती जोखिममा परेको विराटनगर–१२ का शिव नारायण यादवले बताए ।

‘खोलामा जथाभावी बालुवा र भरोट (बालुवा माटो) उत्खनन् गरेकै कारण हाम्रो बस्ती जोखिममा रहेको छ’, उनले भने, ‘अहिले साँझ, विहान र रातीको समयमा सिङ्घिया खोलामा उत्खनन् तथा चोरी निकासी हुने गरेको छ ।’ अहिले जथाभावी उत्खनन् गरिंदा बर्खायाममा असर पर्ने गरेको उनले बताए । ‘यहाँका खोलाहरुमा जथाभावी रुपमा भएको उत्खनन्को दुःख पछि बर्खायाममा पर्ने गरेको छ,’ उनले भने, ‘यसरी अवैध उत्खनन् भएको ठाउँदेखि खोलाको बाढी सिधै बस्तीमा पसेर घर डुबानमा पर्ने गरेको छ ।’

विराटनगर–१४ का वडाअध्यक्ष बलदेव यादवले  खोलामा उत्खनन् भइरहेको बारे आफूलाई जानकारी नभएको बताए । ‘सिङ्घिया खोलामा बालुवा चोरी निकासी हुने स्थान हो । उत्खनन् भइरहेको छैन भन्न अलि गाह्रो हुन्छ तर, मलाई जानकारी छैन,’ उनले भने । इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख प्रहरी निरीक्षक प्रकाश राउतले विराटनगर–१४ जतुवास्थित सिङ्घिया खोलामा अवैध उत्खनन् हुने गरेको पाइएपछि प्रहरीले निगरानी बढाएको बताए । ‘अवैध उत्खनन् भएको पाइए हामीले साधनहरु नियन्त्रणमा लिएर कारवाहीका लागि स्थानीय तहमा पठाउने गरेका छौं,’ उनले भने ।