ट्राफिक महाशाखा प्रमुख डिआइजी जयबहादुर चन्दले महानगरीय प्रहरी परिसरमा एसएसपी हुँदा चुरोट सेवन अर्थात् चुसे अभियान चलाए । सार्वजनिक स्थल र बाटोमा धूमपान गर्नेलाई प्रहरीले कारबाही गर्न थालेपछि उक्त अभियान निकै चर्चित भयो । सो अभियानका क्रममा उनले ताली र गाली दुइटै पाए । उनी जहाँ पुगे, त्यहाँ धूमपानविरुद्ध अभियान थाले ।चुरोट बारेको उनको धारण चुरोट खाने र नखानेहरुका लागि ‘अमृत बचन’ हुन सक्छ ।
यसरी छाडेँ धूमपान मैले २०३४ सालतिर स्कुल पढ्दा साथीहरुसँग बिँडी खाएर धूमपान सुरु गरेँ । त्यसपछि चुरोट, खैनीलगायत धेरै थोक खाइयो । धेरै वर्ष जानीनजानी यो अम्मल आफूसँग रह्यो । २०६१ सालमा आएर सम्पूर्ण रुपमा धूमपान त्याग्ने निर्णय गरेँ । यो निर्णय गर्नुमा दुइटा कारण प्रमुख थिए । एउटा म धुलिखेलमा कार्यरत हुँदा धूमपानको सेवनबाट मुखको क्यान्सर भएको विरक्तलाग्दो तस्बिर पत्रिकामा देखेँ । दोस्रो, टिभीमा धूमपानविरुद्ध विज्ञापन आउँदा छोराछोरीहरुले मलाई बोलाएरै हेराउन थाले । त्यहाँ देखाइने चुरोट खाने पात्रलाई ‘बुबा’ सम्बोधन गरेर मलाई जिस्क्याउन थालेपछि मैले चटक्कै छाडिदिएँ ।
छाड्ने तरिका
धूमपान छाड्नेले विभिन्न बहाना बनाउँछन् । खिल्ली घटाउने, वैकल्पिक कुरा सेवन गर्दै छाड्छु भन्छन् । यो धूमपान छाड्ने होइन, थप्ने तरिका हो । धूमपान छाड्ने चाहना व्यक्त गर्ने हो भने त्यही बेलादेखि चटक्कै छाड्नुपर्छ । मैले धूमपान छाडेपछि आफ्नो दिमागलाई नियन्त्रण गर्न योग पनि थालेँ । यो उत्तम तरिका हो । छाड्नेबित्तिकै अन्यत्र ध्यान नजाओस् भन्नका लागि आफूले स्वस्थ जीवनशैली सुरु गरिहाल्नुपर्छ ।
कपडा जल्ने समस्या
धूमपानले स्वास्थ्य त बिगार्छ नै, कपडासमेत पोल्ने समस्या हुन्छ । जति होसियार भए पनि कपडामा आगो परिहाल्ने । यो क्रममा मेरो कहिले कोट जल्थ्यो, कहिले पाइन्ट । चाँडै आगो टिप्ने कपडा लगाउनेहरु अम्मली भयो भने यसले झन् ठूलो क्षति गराउँछ । राम्रो र नयाँ कपडा चाँडै बिग्रिने समस्या धूमपान गर्दा निकै झेलियो ।
थप काम
धूमपान गर्नेसँग सधैं एउटा थप काम हुन्छ । धूमपान गर्ने ठाउँ खोज्ने काम सधैं छ । चुरोट बोकियो भने पनि सलाई लिन बिर्सिन्छ । कहिलेकाहीँ चुरोट नै किन्न बिर्सिन्छ । पछि त्यस्तो ठाउँमा भइन्छ, जहाँ किन्न नपाइने अवस्था हुन्छ । त्यसपछि झन् तलतल लाग्छ । जति टाढा भए पनि, जस्तो अवस्था भए पनि जान मन लाग्छ । यस्तो थप कामले आफ्नो महत्वपूर्ण काम समेत ओझेलमा पार्छ ।
अम्मलले छुट्याउँदैन वर्ग
तल–तलले धनी वा गरिब, ठूलो वा सानो छुट्याउँदैन । दुई छाक राम्ररी खान नपाउने मान्छे पनि अम्मली हुन्छन् । म आफैं अम्मलको समस्या महसुस गरेको भएर पनि यसलाई विपत्तिका रुपमा परिभाषित गर्छु । त्यसैले पनि हाम्रोजस्तो मुलुकमा धूमपानजस्ता अम्मललाई निरुत्साहित गर्नु जरुरी छ ।
चुसे अभियानका केही किस्सा
सार्वजनिक स्थलमा चुरोट सेवन गर्नेलाई कारबाही गर्ने अभियानका क्रममा कतिले गाली गरे । कतिले जोक बनाए । २०६८ सालमा सार्वजनिक स्थलमा धूमपान निषेध गर्ने कानुन बनेपछि त्यसलाई लागू गर्ने आफ्नो जिम्मेवारी निर्वाह गरेको थिएँ । दिनमा एक जनाले बाटोमा हिँड्दा सेवन गर्ने पाँच खिल्ली चुरोट घटाइदिँदा उसको उमेर पाँच वर्ष बढाउन सकिन्छ भन्ने मलाई महसुस भएको थियो ।
प्रहरीले आफ्नो काम गर्न छाडेर चुरोटेलाई कारबाही गर्नतिर लाग्यो भनेर अनेकथरी किस्सा बनाइए । सुदूरपश्चिममा त झन् बसमै निर्धक्क चुरोट सेवन गर्ने प्रचलन थियो । त्यहाँको प्रमुख हुँदा मैले सार्वजनिक स्थलमा चुरोट सेवनलाई एकदम कडाइ गरेँ । त्यहाँका मान्छेको दिमागमा त्यो अभियानको प्रभाव यसरी परेछ कि एक दिन एक जना पसलमा चुरोट किनिरहेको रहेछ । प्रहरी नियमित गस्तीका क्रममा पसल नजिक पुग्नेबित्तिकै त्यो मान्छेको होसहवासै उडेछ । भागेर घरभित्र लुक्यो । प्रहरीले किन त्यसरी घरतिर लाग्यो भन्ने कुरामा वास्ता गरेन । प्रहरी गइसकेपछि पसलेलाई चुरोट आफू किन्न आएको थाहा पाएर प्रहरी पक्रिन आएको बताएछ । त्यो किस्सा त्यतातिर खुब चर्चित भयो ।
अपराध नियन्त्रणको उपाय
अपराधलाई कोपिलामै निमोठ्ने हो भने धूमपान सेवनलाई निरुत्साहित गर्नुपर्छ । युवाहरु धूमपानबाटै सुरु गरेर लागूऔषधतिर मोडिने गरेको पाइएको छ । लागूऔषध दुव्र्यसनतिर लाग्यो भने अरु आपराधिक गतिविधिमा समेत संलग्न हुने देखिन्छ । त्यसैले धूमपान नियन्त्रण गर्न सकियो भने अपराधसमेत नियन्त्रणमा आउँछ । स्वास्थ्य खबरबाट