गोकुल पराजुली,
विराटनगर / अन्नको भण्डार मानिने मोरङ र सुनसरीको उर्वर माटोमा जल प्रवाह गर्ने सुनसरी मोरङ सिचाई योजना अन्तरगतका नहरहरुको भविष्य अनिश्चित बन्दै गएको छ । समयमै निर्माण तथा सुधारको काम अघि नबढाउने हो भने योजनाको नहरमा पानी हैन स्थानीयका लागि एउटा चरन क्षेत्रमात्र बन्ने अवस्था उत्पन्न भएको छ ।
बराह क्षेत्र गाविसको चतरा बजारबाट करिव दुई किलोमिटर माथि कोशी नदीमा मुख्य ‘इन्टेक’(प्रवेश स्थल) मार्फत चतरा नहरमा सिंचाईका लागि पानी ल्याइएको छ । गत वर्षबाट कोशी नदिले बाटो परिवर्तन गरेको छ नदीले बाटो परिवर्तन गरेपछि सुनसरी मोरङ सिंचाईको इन्टेक भन्दा झण्डै १ किलो मिटर माथिबाट कोशी नदी पश्चिम मोडिएको छ । नदी मोडिएका कारण नदीको पानी इन्टेकसम्म आइपुग्दैन । हो यहि कारणले सुनसरी मोरङको उर्वर भूमिलाई सिंचाई सेवा पु¥याउँदै उत्पादन बढाउन महत्वपूर्ण भूमिका खेलेको नहरको भविष्य अनिश्चित हुने चिन्ता बढेको हो ।
समस्या आए लगतै समाधान नखोज्ने हाम्रो परिपाटीका कारण पानी बिग्रएको संरचना बन्छ र सुचारु भइहाल्छ विश्वास किसानहरुलाई छैन । अघिल्लो वर्ष वैशाख जेठ महिनामा इन्टेकमा पानी नआएपछि परियोजनाले पानी आपुर्ती सहज गर्न कठिन मिहेनत गर्नु परेको थियो । सुनसरी चतराको माथिल्लो खण्डबाट उदयपुरको बेलटार जोड्ने पुल बनाउने क्रममा ठेकेदार कम्पनीले नदीलाई गलत बाटोमा बग्ने बनाइदिएका कारण परियोजनाको इन्टेक सुक्न पुगेको थियो ।
सुनसरी मोरङ सिचाई योजना नेपालकै हालसम्मको सबै भन्दा ठूलो सिचाई योजना हो । यसले सुनसरी र मोरङको ६८ हजार हेक्टर अर्थात करिव १ लाख २ हजार बिगाह जमिनमा सिंचाई सुविधा उपलव्ध गराउँदै आएको छ । यो सिचाईमा पानीको अभाव भएको खण्डमा सुनसरी र मोरङको ६० प्रतिशत खेति योग्य जमिन बाँझै रहनपुग्छ ।
अघिल्लो वर्ष जेठ महिनामा इन्टेकमा पानी नआएपछि सुनसरी मोरङ सिंचाईले इन्टेक भन्दा करिव १ किलो मिटर माथिसम्म अस्थाई बाँध निर्माण गरी पुल भन्दा केही परबाट थोरै पानी ल्याएको थियो । त्यो अस्थाई बाँध वर्षातको बाढीले भत्काएर ६० मिटर लम्वाई भएको फलामे गेटसहितको नयाँ इन्टेकको मुखसम्मै ढुंगा र बालुको बगर थुपारिदिएको थियो । भदौ अन्तिममा फेरी बाँध बनाएर अस्थाई इन्टेक मार्फात पानी ल्याउने काम भइरहेको भएपनि त्यसको कुनै निश्चित भविष्य नदेखिएको स्थानीय हरीसुन्दर माझी बताउँछन् । उनी भन्छन् ‘सुनसरी मोरङ सिंचाई योजनाले पानी सुचारु गरिराख्नकालागि इन्टेकलाई माथि सार्ने एक मात्र बिकल्प अघि बढाए हुन्छ, नत्र चतरा नहरमा पानी बग्ने परै जावस् कमिला मात्र हिड्ने दिन आउँने छ ।’
स्थानीयले कोशी नदी पश्चिम सरेको भन्दै कोशीलाई पूर्ववत स्थानबाट बगाउन सकिने तर्क गरेपनि सुनसरी मोरङ सिंचाई योजनाले भने कोशी गहिरिएको र इन्टेक उचाईमा पुगेका कारण केही वर्षपछि इन्टेकसम्म पानी आइनपुग्ने बताएको छ । उसले कोशी नदि गहिरिएका कारण चतरामै बाँध निर्माण गरी पानीको वहाव नियन्त्रण गर्दै पानी जमाएर उचाई बढाउनु पर्ने सुझाव सहितको प्रस्ताव सिंचाई मन्त्रालयमा लगिसकेको छ । योजनाले दुई वर्ष अघि नै चतरामा बाँध निर्माण गरी इन्टेकमा सँधै पानी आउने अवस्था सृजना गर्न सकिने र त्यसो भएको खण्डमा वर्ष भरी नै पूर्ण क्षमतामा पानी ल्याउन सकिने जनाएको छ । सिंचाई योजनाले अहिले अस्थाई रुपमा करिव एक किलो मिटर माथिबाट पानीलाई इन्टेकसम्म ल्याएको भएपनि इन्टेकलाई अहिलेको स्थानभन्दा माथि लैजान नहुने बताउने गरेको छ । यो विषय समयमै छलफलबाट टुंगोमा नपुगेको खण्डमा यसै वर्षपनि पानी ल्याउन सकिन्छ वा सकिदैन भन्ने कुनै निश्चितता नरहेको विज्ञहरु बताउँछन् ।
सुनसरी मोरङ सिंचाई योजना र महत्व
सन् १९५४ मा नेपाल र भारत सरकार बीच भएको कोसी संझौता बमोजिम मोरङ र सुनसरीको कृषियोग्य भूमिमा सिचाई सुविधा उपलब्ध गराउने उद्देश्यले चतरा नहरको प्रायरुप तयार पारिएको थियो । सोही बमोजिम यो योजनाको निर्माण कार्य सन् १९६४ मा सुरु भई सन् १९७२ मा सम्पन्न भएको थियो । यो योजना सन् १९७५ मा भारत सरकारले नेपाल सरकारलाई हस्तान्त्रण गरेको हो । त्यसपछि पनि नेपाल सरकारले योजनालाई निरन्तरता दिँदै तीन चरणमा विस्तार तथा मर्मत सम्भार र विकासको काम गर्दै आएको छ ।
हस्तान्तरण पछि विश्व बैंकको सहयोगमा योजनाको कमाण्ड क्षेत्र विस्तार, नयाँ संरचनाहरुको निर्माण, र पुराना संरचनाहरुको रेखदेख तथा मर्मत सुधार जस्ता काम नेपाल सरकार आफैंले गर्दै आएको छ । चार दशक अगाडि निर्माण गरिएका नहरका कतिपय संरचनाहरु पुराना र जिर्ण भईसकेका छन् । नहरको कमाण्ड क्षेत्रको विकास र विस्तारसँगै जिर्ण भएका क्षतिग्रस्त संरचनाहरुको पुनः निर्माणमा ध्यान दिएको छ ।
यसको महत्व भनेको १ लाख विगाह भन्दा बढी जमिनलाई सुख्खा हुनबाट जोगाउँदै कृषी उत्पादन बढाउने र नेपाललाई खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनाउनु नै हो । किसानहरुलाई व्यवसायिक कृषि गर्नकालागि सिंचाई सुविधा उपलव्ध गराउँने तथा उत्पादन वृद्धि गरी कुल गार्हस्थ उत्पादनमा सुधार गर्न यो सिंचाई आयोजनाको महत्वपूर्ण भूमिका रहेको छ ।
नहर संजालको अवस्था
सुनसरीको चतरामा साईड इन्टेक निर्माण गरी सञ्चालनमा आएको यो योजना अन्तर्गत ५३ किलो मिटर लामो मुल नहर रहेको छ । जसमा आठ ओटा सुपर प्यासेजहरु निर्माण गरिएका छन् भने ३६ ओटा एक्वाडक्टहरु छन् । सुनसरी र मोरङमा गरी दुई ओटा साइफन(पानी बाहिर निकाल्ने प्रणाली) निर्माण गरिएको छ । नहर नियन्त्रणकालागि १६ ओटा कन्ट्रोल क्रस रेगुलर निर्माण गरिएका छन् । शाखा नहरको लम्बाई ३ सय ३२ किलोमिटर रहेको छ । सहायक नहरहरु २ सय २२ किलोमिटर लामो रहेको छ भने कुल नहर प्रणालीको लम्बाई ८ सय २५ किलो मिटर रहेको छ । नहरहरु पार गर्नकालागि ३२ ओटा पुलहरु निर्माण गरिएका छन् । स–साना कल्भर्टहरु त प्रसस्त रहेका छन् ।
हस्तान्तरण पछि विश्व बैंकको सहयोगमा योजनाको कमाण्ड क्षेत्र विस्तार, नयाँ संरचनाहरुको निर्माण, र पुराना संरचनाहरुको रेखदेख तथा मर्मत सुधार जस्ता काम नेपाल सरकार आफैंले गर्दै आएको छ । चार दशक अगाडि निर्माण गरिएका नहरका कतिपय संरचनाहरु पुराना र जिर्ण भईसकेका छन् । नहरको कमाण्ड क्षेत्रको विकास र विस्तारसँगै जिर्ण भएका क्षतिग्रस्त संरचनाहरुको पुनः निर्माणमा ध्यान दिएको छ । ञ
इन्टेक सार्ने कि बाँध बाँध्ने ?
चतरा नहरबाट पानी आउन छोडेपछि प्राविधिक तहमा दुईखाले बहस सुरु भएको छ । इन्टेक भन्दा कोशी नदी गहिरो भएको एउटा भनाई जवरजस्तरुपमा अघि आएको छ भने कोशी गहिरिएको होइन बरु कोशीले बाटो परिवर्तन गरेको हो भन्ने अर्को तर्क पनि सुरु भएको छ । जे भएको भएतापनि कोशी नदीमा आधारित नहरको मुखमा बगर मात्र जम्मा भएपनि पानी नआउने कुरा चाँही सत्य नै हो । त्यसकालागि सुनसरी मोरङ सिंचाई योजना र नेपाल सरकारले छिटो तथा दिर्घकालिन प्रकृतिको विकल्प दिनुपर्ने उपभोक्ताहरु बताउँछन् ।
नहरको पानी उपभोग गरेपावत सरकारलाई वर्षेनी पानी पोत बुझाउँदै आएका किसानहरुले चाहे जति पानीको उपभोग गर्न पाएका छैनन् । आवश्यक मात्रामा पानी उपभोग गर्न नपाएपनि सरकारले तोकेको पानीपोत तिर्दैनौं भन्ने कटु बचन कसैले बोलेका छैनन् । एक वर्ष अघिनै इन्टेकमा पानी नआएपछि मर्मत सम्भार गर्नुपर्नेमा सरकारले चासो दिएको छैन । दुई वर्ष अघि कोशी गहिरिएको भन्दै सिंचाई विभाग तथा भौतिक योजना तथा निर्माण मन्त्रालयमा प्रस्ताव पठाएर चतरामा बाँध निर्माण गरी सिंचाईको दिर्घकालिन सुरक्षा गर्ने बिषयमा थप पहल नगरी सुनसरी मोरङ सिंचाई परियोजना निदाएर बसेको छ । प्रयाप्त बजेट नदिएकोले यो वर्ष मर्मत सम्भार तथा निर्माणका कुनै कार्यक्रम नगर्ने प्रमुख शिशिर कोइराला बताउँछन् । उनी पनि बाँध निर्माण आवश्यक रहेको तर सरकारले सहयोग गर्ने दक्षण नदेखिएको भन्दै सरकारको आलोचनामा मस्त देखिए । उनले यस्तै अवस्था रहेमा आउँदो तीन चार वर्षमा सुनसरी मोरङका खेतियोग्य जमिनहरु सुख्खाग्रस्त क्षेत्र बन्ने दावी गरे । तर त्यो अवस्था आउनबाट जोगाउन खासै भूमिका निर्वाह गरेका छैनन् ।
बाँध बनाउने पक्षमा रहेकाहरु चतरामा बाँध बाध्ने काम भए दिर्घकालमा चतराबाट उदयपुरको केही भाग, सप्तरी र सिराहाका भूभागमा सिंचाई सुविधा विस्तार गर्ने बाटो खुल्ने तर्क गर्ने गरेका छन् । पश्चिम साइडबाट उदयपुर हुँदै पश्चिम तर्फबाट प्रयाप्त पानी लैजान सकिने अवस्थालाई सरकारले ध्यान दिएर बाँध बाँध्नु पर्ने उनीहरु बताउँछन् ।
बाँध निर्माणको काम दिर्घकालिन हुने र त्यो अवधिसम्म इन्टेकमा पानी नआए सुनसरी र मोरङका भूभागहरु मरुभूमिजस्तै बन्ने खतरा रहेकोले करिव ६ महिना भित्रैमा सकिने इन्टेक विस्तारको काम नै कम जोखिपूर्ण र सुविधाजनक तथा भरपर्दो भएको तर्क अर्काथरीले गरिरहेका छन् ।
देशकै सबैभन्दा ठूलो यो सिंचाई योजना सञ्चालनकालागि अहिले भइरहेका कार्य प्रयाप्त नभएको र यसलाई पूर्ण क्षमतामा सञ्चालन गरी अधिक उत्पादन लिनेढंगबाट काम अघि बढाउनु पर्ने योजनाका पूर्व प्रमुख मधुकरप्रसाद राजभण्डारी बताउँछन् । उनले भने ‘मुलनहरको चतरा स्थित कोशी नदिमा ब्यारेज बनाउन सरकारले पहल लिनु पर्छ अन्यथा लामो समयसम्म यो नहरबाट पानी ल्याउन सक्ने सम्भावना छैन । त्यसकालागि प्रस्ताव पठाइसकिएको छ तर त्यस बिषयमा कुनै निर्णय भएको बारे मलाई जानकारी छैन । त्यो बाहेक सुनसरी मोरङ सिंचाईका अधिकांश संरचना पुराना र जिर्ण छन् त्यसको मर्मत र सम्भार गरी संचालनमा ल्याउन ध्यान दिएको खण्डमा यो योजनाबाट ठूलो फाइदा लिइरहन सकिन्छ ।’