काठमाडौँ / राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान सम्झौताका लागि योग्य घरधनीलाई पहिलो किस्ताको रकम उपलब्ध गराउन ११ जिल्लाका लागि रु ११ अर्ब ६७ लाख ७९ लाख थप रकम निकासा गरेको छ । गोरखा, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलाञ्चोक, दोलखा, रसुवा, ओखलढुङ्गा र सिन्धुली जिल्लामा जिल्ला समन्वय समितिद्वारा प्रकाशित सूचीअनुसारको रकम उपलब्ध गराउन थप निकासा गरेको प्राधिकरणले जनाएको छ ।
यसअघि र अहिले गरी प्राधिकरणले आवास अनुदानतर्फ रु १२ अर्ब ५९ करोड ७८ लाख ४२ हजार निकासा गरेको छ । पुँजीगत खर्चतर्फ केन्द्रीय आयोजना एकाइ शिक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास, सङ्घीय मामिला तथा स्थानीय विकास, सिँचाइ, खानेपानी तथा सरसफाइ, उद्योग, वन तथा भूसंरक्षण, रक्षा, कृषि विकास मन्त्रालय र सडक विभागबाट पेस हुन आएका कार्यक्रम स्वीकृत गरी रकम निकासा गरिएको छ ।
विपद्पछिको आवश्यकता आँकलन प्रतिवेदन ९पिडिएनए०मा उल्लिखित सबै मन्त्रालय तथा निकायलाई आगामी आवका लागि आवश्यक पर्ने बजेट तथा कार्यक्रमको विवरण पेस गर्न प्राधिकरणले सबै मन्त्रालयलाई अनुरोध गरेको प्रवक्ता रामप्रसाद थपलियाले बताए ।