sammanधरान  / दिब्य रोशनी साप्ताहिक पत्रिकाको १२ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । साप्ताहिकले सामाजिक क्षेत्रमा कार्यरत दुई र पत्रकारितामार्फत् योगदान दिने तीनजनालाई सम्मानित गरेको छ ।  सामाजिक क्षेत्रबाट नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखा संस्थापक अध्यक्ष सरला कायस्थ र युवा व्यवसायी बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका शाखा प्रमुख मानबहादुर दियालीलाई सम्मान पत्रले सम्मानित गरेको हो । त्यस्तै पूर्व गोखा सार्जन्ट प्रभुराम राई सामाजिक पत्रकारिता पुरस्कारबाट नागरिककर्मी रोहित राई र विजयपुरएफएमकर्मी सुम्निमा चाम्लिङ राईलाई नगद ५ हजार ५ रुपैयासहितले सम्मानित गरिएको हो ।
बाचुन राई सिर्जनशील पत्रकारिता पुरस्कार पत्रकार दिनेश गजमेरलाई प्रदान गरिएको छ । उनलाई पनि नगद ५ हजार ५ रुपैयासहित सम्मान पत्रले सम्मानित गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरे र दिब्य रोशनीकी सम्पादक/प्रकाशक मनिता चाम्लिङ राईले सम्मान पत्रसहित नगद रकम हस्तान्तरण गरेका थिए ।
यसैबिच क्यान्सर पीडित धरान–१५ की मुना राईलाई उपचारार्थ नगद ५ हजार रुपैया पर्वत बोर्डिङ स्कुलकी प्रिन्सिपल भिष्मा चेम्जोङले प्रदान गरेकी थिइन् । मुना राई उपचार सहयोग समितिका सचिव खगेन्द्र कुवरलाई नगद हस्तान्तरण गरिएको थियो । कार्यक्रममा विगेसोका गजेन्द्र इस्बो, इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्रप्रसाद खतिवडा र सम्मानितका तर्फबाट मानबहादुर दियालीले बोलेका थिए ।