dipotianधरान / डिपोटियन पूर्व विद्यार्थी सङ्गठनमा आबद्ध हङकङमा बसोबास गर्नेहरुको सहयोगमा एक सामुदायिक विद्यालयलाई ल्यापटप र पुस्तकहरु वितरण गरिएको छ । धरान–१७ को निम्न माध्यमिक विद्यालयलाई दुई थान ल्यापटप र पुस्तकालयका लागि पुस्तकहरु वितरण गरिएको हो । पूर्व डिपोटियन मधुकुमार राईको नेतृत्वमा सङ्कलित १ लाख ४४ हजार रुपैयाँमध्ये निमाविलाई ८० हजारबराबरका सामग्री वितरण गरिएको डिपोटियन सचिव विकास चाम्लिङ राईले बताए । सामग्रीहरु डिपोटियनका अध्यक्ष प्रवीण राईलगायत सदस्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर थापा र प्रधानाध्यापक रवि भुजेललाई प्रदान गरेका थिए । विद्यालयमा कम्प्युटर शिक्षासमेत दिइने भएकाले त्यसका लागि पूर्व डिपोटियनले सहयोग गरेकामा प्रअ भुजेलले धन्यवाद दिँदै सङ्गठनलाई प्रशंसापत्र दिएका थिए । व्यवस्थापन समितिका अध्यक्ष थापाले डिपोटियनका अध्यक्ष राईलाई प्रशंसापत्र हस्तान्तरण गरे । बाँकी रकमबाट धरान–१७ कै सयपत्री बाल विकास केन्द्रमा बिजुली जडान गर्ने र विद्यार्थीका लागि कार्पेट दिने तयारी भइरहेको सचिव राईले बताए । असहाय बालबालिकाका लागि ओढ्नेलगायतका सामग्रीसमेत दिने तयारी भइरहेको उनले जनाए ।