विराटनगर/पूर्व क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत प्रदान गरिदै आएको ‘पुलिस अफ दि मन्थ’ बाट प्रहरी चौकी रिस्कुका असई चन्द्र प्रसाद यादव पुरस्कृत भएका छन्।
यादवलाई क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जेष्ठ महिनाको ‘पुलिस अफ दि मन्थ’ बाट पुरस्कृत गरेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुर मातहत रहेको उक्त चौकीका प्रहरी सहायक निरीक्षक (असई) यादवले २१७५ क्यूवि फिट सालको काठसहित टेक्टर बरामद गरेका थिए ।

त्यस्तै तथा १०३ किलो गाजाँ सहित ४ जनालाई पक्राउ गरेकाले नागरिकहरुमा प्रहरी प्रतिको विश्वास वृद्धि गर्ने कार्यमा उल्लेखनिय भूमिका निर्वाह गरे वापत उक्त कार्यको कदर गर्दै उनलाई पुलिस अफ दि मन्थमा छनौट गरिएको छ।
२०७० साल फाल्गुनबाट शुरु भएको उक्त पुरस्कारबाट हालसम्म ५ प्रहरी नायव उपरीक्षक, ६ प्रहरी निरीक्षक, ६ प्रहरी नायव निरीक्षक, ४ प्रहरी सहायक निरीक्षक, २ प्रहरी हवल्दार तथा ८ जना प्रहरी जवानहरु पुरस्कृत भएका छन्।